logo
२०८१ मंसिर ९ आईतवार



इनरुवामा प्रदेश १ स्तरीय लोककला कार्यशाला सुरु

कला |


इनरुवामा प्रदेश १ स्तरीय लोककला कार्यशाला सुरु


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २ गते । धार्मिक, सांस्कृतिक एवं जातीय पहिचान राख्ने लोककलाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित इनरुवामा प्रदेश १ स्तरीय लोककला कार्यशाला सुरु गरिएको छ । इनरुवा नगरपालिकाको सहयोगमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान लोककला विभागद्वारा आयोजित कार्यशालाको उद्घाटन गर्नुहुँदै कुलपति केके कर्माचार्यले घरआँगनमा रहेको कलालाई सामाजिक रुपमा उजागर गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै आँगनमा भएको कला नै लोककला हो ।

हाम्रा चाडपर्व, रितिरिवाज, सामाजिक कार्यहरूमा बनाइने कला नै लोककला हो ।” उहाँले विभिन्न जाति, जनजातिहरुले परम्परागत रुपमा लोकलाको संरक्षण गर्दै आएको चर्चा गर्नुहुँदै संरक्षणमा निरन्तरता र प्रवद्र्धनका लागि सामाजिक अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले मठ, मन्दिर, गुम्बा, मस्जिदसँग सम्बन्धित लोकसंस्कृति र लोककला लोप हुने स्थितिमा रहेकाले त्यसको संरक्षणका लागि लोककला कार्यशाला आयोजना गरिएको बताउनुभयो । यसैगरी, प्रतिष्ठानको लोककला विभाग प्रमुख तथा प्राज्ञ मिथिलादेवी यादवले प्रतिष्ठानले सबै प्रदेशमा पुगेर लोककलाको खोजी, गोष्ठी, कार्यशाला र प्रदर्शनी गर्दै आएको बताउनुभयो ।

नवयुग बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रको संयोजनमा आइतबारदेखि सुरु भएको तीन दिने कार्यशालामा प्रदेश १ का सुनसरी, झापा, विराटनगर, काँकडभित्ता, इनरुवा लगायत स्थानका २४ भन्दा बढी कलाकारको सहभागिता रहेको प्राज्ञ मिथिलादेवी यादवले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?