गोरखापत्र समाचारदाता
काठमाडौं, चैत १३ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्यले ललितकलाको छुट्टै विधाका रुपमा रहेको कार्टुन कलालाई पत्रिकामा छाप्ने हिसावले मात्र नलिई कलाको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
कलाकार केशवराज खनाल लिखित पुस्तक ‘नेपालमा कार्टुनः हिजो र आज’ सार्वजनिक कार्यक्रममा कुलपति कर्माचार्यले भन्नुभयो, “कार्टुन कलालाई प्राज्ञिक कर्मका हिसावले लिनुपर्छ । पत्रिकामा छाप्ने, हँसाउने विषयका रुपमा मात्र नभई कलाको रुपमा विकास गर्नुपर्छ ।”
उहाँले कार्टुन कलालाई पत्रपत्रिकाले पनि मुख्य स्थान नदिने गरेकाले कार्टुन विधा केही ओझलमा परेको चर्चा गर्नुभयो ।
उहाँले कार्टुन कलाको महत्वलाई ध्यानमा राख्दै राष्ट्रिय कला प्रदर्शनीमासमेत यो विधा समेटिएकाले कार्टुन कलाको विकासमा लाग्न कलाकर्मीलाई आग्रह गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानद्वारा शुक्रबार आयोजित पुस्तक विमोचन कार्यक्रममा कुलपति कर्माचार्यले लेखक तथा कलाकार खनालको पुस्तकले नेपाली कार्टुनबारे अध्ययन गर्न श्रोत सामग्रीका रुपमा काम लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले पत्रकारितामा महत्वपूर्ण अङ्ग बन्दैआएको कार्टुन विधाको पुस्तक प्रकाशनले कार्टुन कलाको विकासमा योगदान गर्ने बताउनुभयो ।
यस्तै, वास्तु तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख तथा प्रज्ञा रमेशनाथ खनालले कार्टुन कलाका विविध आयामलाई समेटेरसमेत आगामी दिनमा अध्ययन अगाडि बढाइने बताउनुभयो ।
यसैगरी, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कार्टुन कलाले समय र सन्दर्भका विषयमा पाठकलाई जानकारी दिने बताउनुभयो । उहाँले भन्नुभयो, “ललितकलाको दृष्टिले कला र पत्रकारिताको दृष्टिले पत्रकारिताको विशिष्ठ अंग हो, कार्टुन ।”
यस्तै, कार्टुनिस्ट क्लव अफ नेपालका पूर्व अध्यक्ष अविन श्रेष्ठले पुस्तकले कार्टुनको इतिहास र वर्तमान अवस्थालाई चिरफार गरेको बताउनुभयो । कलाको महत्वपूर्ण पाटोको रुपमा रहेको कार्टुन कलाको विकासमा पुस्तकले सहयोगी भूमिका निर्वाह गर्ने कलाकार तथा कला पत्रकार देवेन्द्र थुम्केलीले बताउनुभयो । पुस्तकका लेखक केशव राज खनालले कार्टुनकै विषयमा स्नातकोत्तरको शोध गर्ने क्रममा स्रोत सामग्री अभाव ब्यहोरेपछि कार्टुन सम्बन्धी पुस्तक लेखनको आवश्यकता महशुस गरेको बताउनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान वास्तु तथा अन्य सिर्जनात्मक कला विभागले सो पुस्तक प्रकाशन गरेको हो ।