भवानी भिक्षु
‘एक पैसा हजुर... सानुलाई मनभोग..... हजुर ।’ मैलो टालोमा बेह्रिएको एक–डेढ महिनाजतिको शिशुलाई औँल्याउँदै जीर्ण शेर्पा आइमाईले भनी । नाउँ मात्रै भएको साँघुरो फुटपाथको पुछारमा बसेर पूर्वपट्टिबाट अलि–अलि आएको घाम आफ्नो सानुका लागि ओगटी त्यो बसेकी थिई । मैलो अनुहार, प्रसूति–क्लान्त जिउ । बच्चा जन्माएर संसारकै अपकार गरेकी झैँ आँखाको दीनहीन दृष्टिसाथ खुम्चिँदै, तर्सिंदै, कामेको झन्नै अपराधी जस्तै सुर थियो त्यस सानुकी आमाको । प्रसवपछि कम्तीमा पनि तीन चार महिनासम्म नारीको हेर्नुपर्ने कुनै आकार नै नरहने नियमानुसार कुनै वण्र्यको अनुमान लगाउनै नसकिने त्यसको रूप थियो ।
बिहानैदेखि छोपिराखेको कुहिरोभित्रबाट आकाशले सप्रयास मुख उघार्ने चेष्टा गरिरहेको थियो । मलाई लाजिम्पाटतिर जानु थियो । लैनभित्र र लाजिम्पाटतिर जाने दोबाटोको बायाँपट्टिको पेटीको कुनामा बसेकी त्यस सानुकी आमाको ममतालु पछ्यौराबाट त्यस मागले सुर पाएको थियो, ‘एक पैसा हजुर... सानुलाई म.. न.. भोग ... । माग्ने जस्तोको स्वर पनि त्यतिको लोभलाग्दो किसिमले पवित्र हुन सक्छ भन्ने अनुभूतिले मेरा गोडा अडे । आइमाईलाई पनि कदाचित् केही साहस मिल्यो, ‘दिन्छ कि ?’ सम्भवतः उसले आफ्नो याचना पुनः दोहो¥याउन खोजेकी होली तर मेरो उपस्थिति उसको साहसभन्दा गह्रौँ भएरै होला उसको मुखले बोली पाएन । एकपल्ट मतिर हेरेर ऊ आफ्नो सानुतिर हेर्न थाली । शिशुका दुवै पातला, नरम ओेठ चलमलाइरहेका थिए । ती अवश्यमेव तुरुन्तै छुटेको वा छुटाइएको मातृ–स्तनको खोजीमा थिए । तर मलाई लाग्यो– उसका दुवै ओठमा पनि त्यही मूक याचना चलमलिइरहेको छ– ‘एक पैसा हजुर... मलाई मनभोग.... ।’ साँच्चिकै, अहिले यसका ओठहरू अलिकति मनभोगको लेदो हालिदिए गुलियो चाट्न उसको जिभ्रो पनि बाहिर आउला । मलाई उसको पातलो, नरम र रातो जिभ्रो हेर्ने उत्कण्ठा लाग्यो । तर अलिक झस्केर भनेँ, ‘यसलाई मनभोग खुवाउन हुन्छ र ? यतिको कलिलो बच्चाको घाँटीमा नै अड्कियो भने... ?’
‘मजासित खान्छ हजुर, कति पटक खुवाएकी छु । थुनमा दूध आउँदैन, सुत्केरी हुँदा खानुपर्ने मसला, औषधि, पुष्टकारी, केही खान पाइएन, दूध छँदैछैन । अलिअलि मनभोग खुवाएर यतिन्जेल पालेँ, हुर्काएँ के गरुँ, विचरा... गरिबको छोरो, ...हजुर के खानु.... यो छोरो हुर्काउन पाउने हो... मेरो छोरा ।’ टिठलाग्दो दृष्टिले उसले सानुलाई हेरी । मेरो हेराइ पनि त्यही सानुमा गाडियो– एक पैसाको भीखको जीवनारम्भ । खालि एक पैसा मात्रैको नेपाली..., पकेटबाट एक पैसा झिक्तै भनेँ, ‘यसलाई मनभोग किनेर खुवाउँछेस् र ? भरदिन यसैको नाउँ बेचेर पैसा माग्ने होइन ? यो खाने नै कति हो ?” अनि एक पैसा त्यस आइमाईको अगाडि फालिदिएँ । पैसा भने उसले टिपी पनि, तर मेरो प्रश्नको कुनै उत्तर उसको मुखमा थिएन । एक पटक मलाई हेरी मात्र । त्यस मूक हेराइमा थियो– जाबो एक पैसाका लागि त्यस्तो वचन । एक पैसा र त्यत्तिको सतर्कता, सावधानी । आफ्नो छातीको रगतको नाउँमा ठग्ने हुँ म ? सक्ने भए आज उसको नाउँमा तिमीलाई पो भोज खुवाउने थिएँ । दान, धर्म गर्थें । एक पैसा तर ... ।
उसको मौन आकृति नियाल्दै सम्झेँ, ‘हो त नि ! आमा नबाँचे बच्चो बाँच्छ र ? जरो सुकाउने, मुना पाल्ने । कत्तिको मुख्र्याइँ ! तर बच्चोको लागि माग्नु, आफ्नो पेट पाल्नु ! विचार नै कस्तो कस्तो लाग्ने ! फेरि, अति वास्तविकता भने यही नै होइन र ? मनै खल्लोे भयो । तैपनि च्वाट्ट मिल्ने गरी कुनै समन्वय पाइएन । आमालाई पालिनु नै पर्छ, बच्चो त्यसै पालिनेछ । एक्कासि केही सम्झेर भनेँ, ‘हेर, बच्चाको नाउँ लिएर कसैसित एक पैसा पनि नमाग, आफ्ना लागि माग है ! अनि बच्चोलाई पनि खुवाऊ, बच्चोको नाउँमा पैसा माग्नु त... ।’ भन्दाभन्दै त्यस आइमाईको अनुहारमा दृष्टि पर्दा वाक्य त्यहीँ रोकियो । प्रष्टै देखाप¥यो– त्यहाँ कुनै गुनासो प्रकट छ, तिरष्कार पनि, अझ केही विवश विषाद पनि ! अर्थात्, मैले आफ्नो लागि मागेँ भने यो एक पैसा पनि दिने थियौ र ? मलाई खुवाउँछौ त ? फेरि त्यो अति वास्तविकता, निःस्वर, कठोर अन्तर्सत्य खप्नै सकिएन । कुरा पन्छाउँदै भनेँ, ‘लौ त, मनभोग किनेर ले र यसलाई खुवा, हेरूँ खान्छ कि ?’
‘खान्छ हजुर, यसैले जेनतेन गरी अझसम्म पालेकी हुँ ।’
फुर्सद मिलेको जस्तो मौका पाएर भनेँ, ‘लौ खुवा है, भोलि पनि यसलाई फेरि म मनभोग खान दिउँला । राम्ररी स्याहार !’
यति भनी आफ्नो बाटो लागेँ । त्यस दिनपछि अर्को दिन र फेरि अर्को दिन पनि मैले पैसा दिएँ । जतिन्जेल मेरो लाजिम्पाटतिरको काम सकिएन र मलाई दिनहुँ जानै प¥यो, उसलाई पैसा दिँदै गएँ । सानुकी आमा पनि रोजिन्दै मबाट एक पैसाको प्राप्तिमा सम्भवतः आश्वस्त भएकी थिई । तर काम सकिएपछि म बसेको पुरानो भन्सारदेखि लैनसम्म एक कोस जतिको बाटो हिँडेर त्यसलाई एक पैसा तिर्न म जान सकिनँ । त्यो क्रम टुट्यो । त्यसो भए पनि प्रत्येक बिहान एक पटक टालोमा बेह्रिएको सानुका पातला पाटल–पत्रझैँ चलमलिएका दुवै ओठ मेरो अन्तर्चक्षुमा नउदाइछाड्दैनथे । त्यस चलमलाइमा मानौँ ऊ रोजिन्दै भन्दैगथ्र्यो, ‘एक पैसा हजुर... मलाई मन... भोग !’ एक दिन मनमा आयो, ‘एक रुपियाँ त्यसकी आमालाई एकै चोटि दिए त सय दिनका लागि सानुलाई मनभोग पुग्नेछ । तीन महिना र दस दिनसम्म नगए पनि हुन्छ । ऊ मनभोग खाँदै गर्छ, बढ्दै पनि जान्छ । यस्तो सम्झनासँगै सानुका ओठ चलमलाएको, चलमलिइरहेको दृश्य मेरो अन्तरमा फेरि भासित भयो । तर त्यसै दिन साह्रै व्यस्त हुनुप¥यो । जानै सकिनँ । अर्को दिन पनि जानुपर्ने कुरा सम्झेँ, तैपनि त्यतिसम्म हिँड्न अल्छी लाग्यो, गइनँ । त्यस्तै अरू अरू दिन पनि बित्दै गए, महिनौँ बिते, गइनँ । अझ एक दिन कुन तर्क पनि समातेँ भने, ‘एक वा दुई रुपियाँ दिए सानुको आमाले बच्चोकै लागि त्यो राखिछोडेर दिनहुँ उसलाई एक–एक पैसाको दरले मनभोग खुवाइरहने हो र ? एक वा दुई रुपियाँ एकै पटक पाए त्यसको अर्कै उपयोग नगरी ऊ छाड्ने नै होइन । या त आफै खान्छे अथवा लुगा कपडा किन्छे, नभए अर्कैै जरुरी काममा लगाउँछे । सानुको मनभोगका लागि त्यति पैसा कहाँ राखिरहन्छे ? स्वयं आश्वासनका यस्तै सम्झनाले सानुको दैनिक सम्झना पनि क्रमशः बिलाउँदै गयो ।
अनि झन्नै तीन महिनापछि कुनै बिदा परेको एक दिन बिहानै आफ–आफै मेरो अठोेट भयो, ‘आज एक दिन लाजिम्पाटतिर डुलेरै आऊँ । डुल्नु होइन, सानुलाई हेरुँ, कति ठूलो भयो ?’ निःसन्देह त्यस दिन तलबको निकै पैसा मसित भएकाले एक दुई होइन, दुई चार रुपियाँ पनि दिएर आए मेरो कुनै आवश्यकता अड्कने थिएन । बिहानको चिया खाई लुगासुगा लाईवरी म निस्केँ । लाजिम्पाट जति जति वर अउँदै गयो त्यतिकै परिमाणमा सानु ठूलो भएको, मोटोघाटो, हातखुट्टा बेस्सरी चलाएको, मलाई टक लगाई हेरेको र हाँसेको समेत उसको सिङ्गै जिउ मेरो मनमा प्रत्यक्ष हुँदै आयो । आधा घण्टा जति हिँडेर लाजिम्पाट पुगेँ । त्यस दिन बिहानैदेखि उदाएको छर्लङ्ग घामको प्रकाशमा बायाँतिर पेटीको पुछारमा एउटा धब्बाजस्तो देखियो पनि । सम्झेँ, अवश्य त्यो सानुकी आमा नै होली । बच्चो पेटीमा लडाइराखेको होला । यति टाढाबाटै प्रस्ट कसरी देखा पर्छ ?
दस–पाँच मिनेटमा नै सानुकी आमाअगाडि पुगेर टक्क अडेँ । ऊसित मेरा आँखा जुधे । उसको मुखबाट केही शब्द निस्कनै आँटे पनि, मलाई चिनेरै होला, शब्दहरूले स्वर पाएनन् । अवश्यमेव उसका अभ्यस्त ओठ नीरव नै चलेका थिए ।
‘सानु कहाँ छ ? ठूलो भयो होला होइन ? निकैसम्म आइनँ, आज उसको मनभोगको जम्मै बाँकी तिरेरै जान्छु । सानु कहाँ छ ?’ एक सासमा नै त्यति भनेर सानुकी आमाको जबाफ पाउन उसको अनुहारमा दृष्टि पु¥याएँ । तर.. तर.. कुनै उत्तर थिएन । निमेषसम्म ऊ टक लगाई मलाई हेरिरही । अनि बिस्तारै उसका आँखा रसाएका देखा परे । क्रमशः आँसुका थोपा तप्कन थाले । आशङ्काको एउटा बलियो झोका लागेको अनुभव भयो । फेरि सोधेँ, ‘होइन रोएको किन ? कहाँ छ सानु ? भन न !’
आँसुले भिजेको अनुहार, टाउको निहु¥याई, अडिई, अडिई निस्केको स्वरमा उसको उत्तर थियो, ‘सानुले मलाई छाडेर गयो । खानै नपाएर म¥यो हजुर, खानै नपाएर म¥यो । जति गरे पनि थुनमा दूध आएन । सानु, मेरो, भोकभोकै, सुकेर गयो ।’
हतबुद्धि एक छिन त्यसै उभिइरहेँ । अनि अलिक पछि भनेँ, ‘चुप लाग, यसै भयो, के गर्नु ?’ यति भनेर फरक्क फर्कें ।
‘...यसै भयो, के गर्नु’.. सानुकै मनभोगलाई ल्याएका रुपियाँले मेरै भनाइको उत्तर म पाइरहेको थिएँ, ‘सानु यहाँ छ । अहिले पनि यहीँ पकेटभित्रै छ, पकेटभित्रै, यही खल्तीमा ।’
यही थियो एक नेपालीको एक पैसाको जीवनारम्भ र एक पैसाकै जीवनान्त ! बाटोभरि खल्तीको रुपियाँ कराइरहे, ‘सानु यहाँ छ । अहिले पनि यहीँ पकेटभित्रै छ, पकेटमा नै, यही खल्तीमा !’
२०२५ जेठ (‘अवान्तर’ कथासङ्ग्रहबाट )