छविरमण सिलवाल
‘रक्तकुण्ड’, ‘रक्तबीज’, ‘जल्लादको मन’, ‘लालचुडी’, ‘नम्रता’, ‘छलियुग’ उपन्यासलगायत ‘शाहवंशको शल्यक्रिया’, ‘फेल हुने केटो’ आदि कृतिका लेखक हुनुहुन्छ कृष्ण अविरल । ‘करिया’ उहाँको आठाँै औपन्यासिक कृति हो । कृतिका हिसाबले चौधौँ हो । अविरल जोखिम लिन रुचाउनुहुन्छ र आम लेखकभन्दा फरक विषयमा कलम चलाउनुहुन्छ । इतिहासका पाटोलाई कल्पनाको जलपले मोरेर पाठकलाई यथार्थ घटनासँग साक्षात्कार गर्न खप्पिस हुनुहुन्छ । पछिल्लो कृति ‘करिया’ पनि यही श्रेणीमा पर्छ ।
अविरल जुझारु पत्रकार, गीतकार पनि हुनुभयो । तर उहाँलाई ‘रक्तकुण्ड’का लेखक भनेर धेरैले चिन्छन् । पत्रकार लेखकबाट उहाँ प्रकाशक हुनुभयो । अहिले प्रकाशन कर्ममै हुनुहुन्छ । यस बीचमा उहाँले निकै राम्रो काम गर्नुभयो । पु्राना पुस्तकहरूलाई खोजीखोजी प्रकाशन गरेर पाठकहरूलाई ती पुस्तकसँग साक्षात्कार गराउनुभयो ।
हुन त इतिहासलाई केन्द्रबिन्दु बनाएर लेखिएका उपन्यासहरू धेरै नै छन् । विषयवस्तुका हिसाबले करिया नौलो नभए पनि, प्रस्तुति र मानवीय संवेदनाको हिसाबले नयाँ नै हो । पूर्व एक नम्बर रामेछापकै सेरोफेरोमा रहेर नेपालकोे दुई सय पचास वर्षको इतिहास समेटेर ‘सकस’ उपन्यास लेख्नुभएको थियो जगदीश घिमिरेले । त्यसमा शासकले जनतालाई दिएको सकसका प्रसङ्गहरूले स्थान पाएका थिए । तर करियाकै सन्दर्भ र सेरोफेरोमा लेखिएको उपन्यासको कमी थियो, त्यो परिपूर्ति कृष्ण अविरलले गरिदिनुभएको छ । इतिहासका घटनालाई कल्पनाको जलप दिएर लेख्न साँच्चिकै कठिन छ । कठिन भए पनि इतिहासको एउटा सत्य तथा कुरूप पक्षका पाटालाई उजागर गरेर अविरलले अर्को इतिहास रच्नुभएको छ । अबको युगले ती इतिहास खोजतलास गर्नु पर्दैन, करिया पढे पुग्छ । त्यसबखतको पात्र, परिवेश, भाषाहरूको तालमेल भएन भने इतिहास नै कुरूप हुन सक्छ । त्यसकारण, इतिहासको उत्खनन् गर्न कठिन नै हुन्छ । करिया ती सबै कठिनाइको सामनासहित पठनीय तथा सङ्ग्रहणीय बनेको छ ।
हामी सानोछँदा हजुरबा हजुरआमाले सुनाउने कथामध्ये कमाराकमारीको कथा पनि एक थियो । राणाहरूको पालामा यस्तो हु्न्थ्यो रे, उस्तो हुन्थ्यो रे भनेका धेरै कथन कति हामीले बुझ्थ्यौँ कति बुझ्दैनथियौँ । दरबारमा कलिला केटीहरूलाई बलात्कार गरेर मारेर सुरुङमा हाल्थे रे, राणाविरुद्ध बोल्नेलाई सजाए दिनका लागि दरबारमै सुरुङ खनेर राख्थे रे, मान्छेलाई जिउँदै हालिदिन्थे रे भन्ने कुरा सानोछँदा बारम्बार सुन्थ्यौँ । हामी डरले थुरुरु हुन्थ्यौँ । पछि बुझ्ने भएपछि इतिहास पढ्ने क्रममा धेरै कुरा थाहा पाइयो । राणाहरूले भ¥याङमा दुवैतिर तरुनीहरू राख्थे र मन परेकीलाई लगेर भोग गर्थे भन्ने कुरा सुनियो । इतिहासका यी र यस्ता क्रूरतालाई कृष्ण अविरलले करियामार्पmत उतार्नुभएको छ । कति नै समय बितेको छ र ! सय वर्षमा कसरी समयले पल्टा खायो । क्रूर तानाशाहहरू निमिट्यान्न भए । सम्झँदा पनि आङ सिरिङ्ग हुने क्रूर अपराध उनीहरूले कसरी गर्न सके होलान् भन्ने लाग्छ । ‘करिया’ यही क्रूर समयको ताजा तस्बिर भएर आएको छ ।
‘करिया’ उपन्यास भए पनि यसमा उल्लेख भएका अधिकांश घटना तथ्यमा आधारित छन् । त्यसबेलाको सामाजिक चालचलन, रीतिरिवाज पढ्दा निकै रोचक लाग्नुका साथै करियाका दुःख र उनीहरूलाई दिने पीडाले मन चसक्क हुन्छ । वास्तवमा अविरलले लेखेको उपन्यास आँसुका दुःखद भेल नै हो । रामेछापको सेरोफेरोमा घटित घटनाक्रमले सिङ्गो नेपालको प्रतिनिधित्व गरेको छ । समयअनुसारका पात्रहरूको सही संयोजन भएको छ करियामा । गाउँका मुखियाले आफ्नी आमा मर्दा पनि सद्गत गर्न रोकेर मुखियाको काममा जानु परेको क्षणले जो कोहीलाई पनि पिरोल्छ । त्यो मुखियाको मन कस्तो थियो होला भन्ने गम्भीर प्रश्न पाठकको मनमा ठोकिई रहन्छ । मुखियाले राजा महाराजाहरूलाई आफ्नो वशमा लिनका लागि करियाका छोरीहरू चढाएको प्रसङ्गले पनि मन अमिलो हुन्छ । आमाकै अगाडि छोरीलाई मालिकले भोग गरेको, ती आमा बाबुहरूले कसरी सहे होलान् ? विचरा उनीहरूका लागि बोलीदिने कसले ? त्यो बेलाको समय कति निष्ठुरी रहेछ भन्ने प्रमाण ‘करिया’ पढ्दा स्पष्ट हुन्छ ।
मान्छेले मान्छे बेच्ने समयको एउटा दस्तावेज हो करिया । निरङ्कुश शासकको हातमा सत्ता पुगेको समयको ज्वलन्त प्रमाण हो करिया । सामन्त युगको अन्धकारलाई चिर्दै लेखिएको एउटा ज्वलन्त ग्रन्थ हो करिया । राजाहरूका वीरका गाथा गाएका धेरै पुस्तक प्रकाशन भए । तर रैतीका दुःख सम्बोधन गर्ने पुस्तक अहिलेसम्म अनुभव गर्न पाएको थिएन, ‘करिया’ले रैतीलाई सम्बोधन गरको छ । रैतीका सम्बोधनसँगै दरवारका कुकृत्यहरू छर्लङ्ग पारिएको एउटा ऐतिहासिक ग्रन्थ हो करिया ।
पूर्व एक नम्बर रामेछाप उपन्यासको केन्द्रबिन्दु हो । उपन्यासकारले यही स्थान रोज्नुको पनि धेरै कारण हुन सक्छन् । त्यसै पनि यो जिल्ला एउटा ऐतिहासिक जिल्लाको रूपमा लिइन्छ । राणाविरुद्ध शङ्खघोष गर्ने व्यक्तिहरू रामेछापकै थिए । मान्छेले मान्छे बेच्नु हुँदैन, करियालाई मुक्ति दिनुपर्छ भन्ने आवाज उठाउने रामेछापकै बासिन्दा थिए । यसमा समावेश भएका पात्रहरूको ज्यादतीसँगै करियाहरूले गरेको विद्रोहका केही पाटाहरू र गाउँकै एक जना पण्डितले करियालाई गरेको सहयोग उपन्यासका आशाका केन्द्रको रूपमा रहेका छन् । त्यसबेलाको समयमा सबै मान्छे गलत थिएनन् र सत्मार्गमा लाग्न केहीले प्रेरणा दिन्थे । राणा सरकारलाई मनाउन सक्ने खुबी भएका यिनै पात्रहरूको कारण करिया उन्मूलन भएका कुरा सकारात्मक छन् । ती पात्रहरूसँग ‘करिया’ पढेपछि साक्षात्कार हुन पाइन्छ नै । इतिहासका यी कालखण्डले नै पुष्टि गरेको छ कि कुनै पनि कुराको अवधि हुन्छ । अवधि रहुन्जेलको चुरिफुरीले अरूलाई दिएकोे दण्ड शासकपट्टि नै फर्केको इतिहास हाम्रोसामु साक्षी छ । हो, त्यही इतिहासको एउटा पाटो हो करिया । ‘करिया’ पढ्दा समय र पैसाको पनि राम्रै सदुपयोग हुन्छ ।