logo
२०८१ मंसिर ८ शनिवार



यो एक मानसिकता (कथा)

कला |


यो एक मानसिकता (कथा)


 राजव

कोरोनाको न्वारन भइसकेको थियो । विश्व स्वास्थ्य सङ्गठनका पण्डितहरूले यसको न्वारन गरेका थिए । त्यसको नाम राखेका थिए कोभिड–१९ । मेरो कार्यालयले मलाई थमाएको लेअफको पत्रमा पनि कोभिड–१९ नै उल्लेख छ । त्यसमा भनिएको छ
कोभिड–१९ को कारणले सिर्जना भएको असामान्य परिस्थितिले गर्दा आजको यो क्षणदेखि लागू हुने गरी तपाईंलाई अस्थायी रूपमा लेअफ गरिएको छ ।
एउटा तीखो, धारिलो तीर मेरो हृदयमा जाक्किन आएको थियो । मेरो घाँटीमा वाक्य अड्किएको क्षण थियो । म वज्रपात आइलागेको मुद्रामा सुपरभाइजर एडम मिलरको अनुहार टोलाइरहेको थिएँ । उसैले मलाई आफ्नो कोठामा डाकेर त्यो पत्र बुझाएको थियो । पत्र हातमा लिएर त्यसका जम्माजम्मी तीन वाक्य पढ्नासाथ मेरो अनुहारको रगत सुकेको थियो । मेरो सनन्न मुद्रा हेर्दै सुपरभाइजरले सहानुभूति बोलेको थियो, ‘सरी ।’
म अझै कुर्सीबाट उठेको थिइनँ । म उसलाई विष्फोटक मुद्रामा घुर्दै थिएँ । उसले आफ्नो पनि मुद्रा दुखित पारेको थियो । मलाई फेरि सम्झाउन उसले भन्यो, ‘यु आर नट एलोन ।’
उसको यो भनाइ यस्तो लेअफमा पर्ने म मात्र हैन अरू पनि छन् भन्ने आशय बुझाउने कोसिसमा थियो । वर्षौंको मेरो कडा श्रम खाएर मोटाएको कम्पनी थियो त्यो । मैले आफ्नो सुकेको मुखबाट वाक्य निकालेँ, तिमीलाई थाहा छ, यस कम्पनीको उत्थानमा मेरो जीवनको तीस वर्ष बितेको छ, म हिजोको केटो हुँ र ?’
सुपरभाइजरको भनाइ थियो, आई नो ।’ यसमा फेरि थप सरीबाहेक उसले अरू भन्न सक्ने कुरो केही पनि थिएन । परिस्थिति मैले बुझिसकेको थिएँ । ऊ बिहान अफिस खुलेदेखि यही काम गरिरहेको थियो । आफ्ना मातहतका मजस्ता हरेक कर्मचारीलाई एक एक गरेर पालैपालो डाक्थ्यो । मलाई थमाएझैँ तिनलाई पनि ठीक यही व्यहोराको लेअफको पत्र थमाउँथ्यो । र, भन्थ्यो, ‘सरी ।’
निराश र अत्यन्त अवसादको नीलो मुद्रामा म सुपरभाइजर सामुन्नेको कुर्सीबाट उठेको थिएँ । मेरो मुद्रा हेर्दै उसले मलाई आफ्नो पनि आतङ्कको कुरो सुनाएको थियो, ‘यु नो, मैले पनि भरे आफ्नो लेअफको पत्र बुझ्नु पर्दैछ, अरूलाई दिने काम सकिएपछि म आफ्नो पत्र बुझ्न माथि सीईओको कोठामा जान्छु ।’
अब सहानुभूति देखाउने पालो मेरो थियो । मैले पनि उसलाई उही छोटो, सजिलो शब्द भनेको थिएँ, ‘सरी ।’
वास्तवमा त्यस दिन कम्पनीले डेढ सय जना कर्मचारीलाई लेअफ गरेको थियो । सबको पत्रमा भनिएको थियो– ‘कोभिड–१९ का कारणले सिर्जना भएको असामान्य परिस्थितिले गर्दा आजको यस क्षणदेखि लागू हुनेगरी तपाईंलाई लेअफ गरिएको छ ।’
जीवनमा पहिलो पटक लेअफको बेकारी जीवन भोगिँदै थियो । म ड्राइभिङ गर्दै घर जाँदै थिएँ । कारमा
खुलेको रेडियो एनपीआर भन्दै थियो, देशभर भाइरसको केस बढ्दै छ, अस्पतालहरू भरिन थालेका छन्, मृतकहरू... ।’
मेरो शरीरको पाइतालादेखि शिरको चक्रसम्म सिरिङ्ग गरेको थियो । एनपीआर रेडियो भन्दै थियो, ‘धेरै ठाउँको अवस्था बेकाबु हुने खतरा छ ।’ के सुन्नु यो आतङ्क ? मैले रेडियोको स्टेसन बदलेँ । यो १०६.१ बुल्मबर्ग रेडियो थियो । यो पनि भन्दै थियो,’ बिजनेस आर कोल्याप्सिङ, वाल स्ट्रिट इन्डेक्स आर गोइङ डाउन, दिन परदिन जनता बेरोजगार हुँदै छन्, कामबाट धमाधम निकालिँदै छन् ।’
मेरा लागि लामो सास फेर्न पर्ने भयावह कुरो थियो यो । बुल्मबर्ग रेडियो अगाडि भन्दै थियो, न्युयोर्कका सम्पूर्ण अस्पतालका लास घर र अस्पतालका बेड भरिँदै छन्, सङ्क्रमितलाई करिडोरमा समेत राखेर उपचार गरिँदैछ ।’
मनमा आतङ्क झन् बढ्न थाल्यो । ट्राफिक रेड लाइटको पर्खाइमा चुरोट सल्काएँ । जोडको कस तानेर भित्रको सबै पीडा झ्याल खोलेर धुवाँसँगै बाहिर फाल्ने कोसिस गरेँ । अघिपछिझैँ मलाई चुरोटको कसमा पनि मजा लागिरहेको थिएन । मेरो आँखामा कार्यालयका अन्य थुप्रै साथीको निराश र पीडापूर्ण मुद्रा नाचिरहेको थियो । मैले एकसाथ यति धेरै निराश मानिस देखेको पहिलो पटक हो । सबैका आँखामा अन्योल भविष्यको बज्रपात थियो । मलाई बुल्मबर्ग रेडियो झन् सुन्न मन लागेन । फेरि रेडियो स्टेसन एनपीआर ९०.९ मा फर्किएँ । मलाई मन पर्ने रेडियो स्टेसन यिनै दुई हुन् । ड्राइभिङमा हुँदा म यी दुई एनपीआर र बुल्मबर्गमा ओरदोर गरिरहेको हुन्छु ।
एनपीआरमा अल थिङ्ग्स कन्सिडर भन्ने वार्ताको कार्यक्रम चलिरहेको थियो । त्यसमा कोही विद्वान् पत्रकार भनिएको थोमस विल्सन पाहुनाको रूपमा बोल्दै थियो । म आफ्नो मनको अवसादपूर्ण अन्यमनस्कताबाट भाग्न उसलाई सुन्न थालेँ । ऊ भन्दै थियो, वास्तवमा केही पहिलेदेखि नै सबका सब माध्यमहरू जस्तो अखबार, टीभी, रेडियोहरू कोभिडको आतङ्क फुक्न, देखाउन थालिसकेका थिए । तर डोनाल्ड ट्रम्प नामको यो देशको राष्ट्रपति ह्वाइट हाउसको पोडियममा बसेर भन्दै थियो, वी विल बी फाइन । जनतालाई यस भनाइको विपरीत बुझ्नुपर्छ भन्ने थाहा भएन । एमआईटीको प्रोफेसर हर्मन उडकटर भन्थे, शासक जे भन्छ त्यसलाई हिसाब गरेर बुझ्नुपर्छ । राजनीतिक गणितको यही सैद्धान्तिकी नबुझेर डोनाल्ड ट्रम्पको ‘वी विल बी फाइन’मा सबैले विश्वास गरे । विश्वास पनि किन नगर्नु ? आफैले भोट ख्वाएर
राष्ट्रपति बनाएको प्राणी थियो ट्रम्प । दुई वर्षदेखि उसले जे भन्यो, त्यही विश्वास गर्ने बानी परिसकेको थियो हामीलाई । प्रोफेसर हर्मन वुडकटर वैचारिक अन्धो कसरी नहुने भन्ने अवधारणाहरूमा भन्छन्, ‘आफूले विश्वास गरेको पार्टीको राष्ट्रपति छ भने पनि उसको भनाइलाई गणितीय परखको सिद्धान्तमा राखेर विचार गर्नुपर्छ । किनभने सम्भावित यथार्थ भर्सेलोमा राखेर शासकहरू जहिले पनि आफ्नै वर्तमानको हितमा बोलिरहेको हुन्छन् । तर प्रोफेसर हर्मन वुडकटरको यस भनाइमा विचार गर्ने को ? सुन्ने को ? सबले क्रेजी डोनाल्ड ट्रम्पको ‘वी विल बी फाइन’मा विश्वास गरे । त्यसको नतिजा अब अमेरिकी जनताले भाइरसको डिस्को डान्स भोग्न पर्दैछ । एनपीआरको त्यो विद्वान् पत्रकार भनिएको थोमस विल्सनले दस मिनेट यस्तै बकबक गरेर झन् आतङ्कित पा¥यो । मैले रेडियो बन्द गरेँ । शान्त भएर गाडी कुदाउने ध्यानमा लागेँ । घर पुग्न अझ दस मिनेट बाँकी थियो । छेउमा राखेको मेरो फोनको घन्टी बज्न थाल्यो । स्क्रिनमा च्याएँ । कलरको नाममा मेलोडी ड्याभिस देखियो । यो मेरी छोरी हो । इग्नोर गर्ने त कुरै भएन । आजकल ऊ न्युयोर्कको लङ्ग आइल्यान्ड बस्छे । मैले भने, ‘हेलो मेलो ।’
छोटोमा म उसलाई यै भन्छु– मेलो ।
ऊ मलाई हडबडाएर सोध्छे, हेलो ड्याड ह्वेर आर यु ?’
उसको स्वरमा आतङ्क थियो । म उसलाई भन्छु, ड्राइभिङमा छु ।’
‘कहाँ ?’
‘अन द वे टु होम ।’
‘कति मिनेट लाग्छ ?’
‘टेन मिनट्स मोर ।’
‘त्यसो भए म आधा घण्टापछि गर्छु ।’
‘ओके हनी ।’
‘तिमी ठीक छौ नि ?’
‘एकदम ।’
‘ओके कल यु ब्याक, ड्राइभ सेफ ड्याड ।’
‘सियोर ।’
फेरि अनायास मेरो औँलो रेडियोको स्विच थिच्न पुग्छ । रेडियो एनपीआर खुल्छ । कुनै डाक्टरसँग
कोभिड–१९ कै सन्दर्भमा वार्ता भइरहेको थियो । ऊ यो भाइरस कत्ति सङ्क्रामक शक्तिको छ भन्ने सुनाइरहेको थियो । उसको कुरो सुनेर मलाई कारको झ्याल खोल्न डर लागिरहेको थियो ।
दस दिन अगाडिसम्म सब कुरा साम्य थियो । शान्त थियो । जीवनको सब मोजमस्ती निस्फिक्री चलेको थियो । आँधीमा परिएला, आगलागीमा झोसिएला, समुद्रमा डुबिएला, कार क्र्यासमा परिएला वा होला भन्ने यस्ता अनेक एक्सिडेन्टका घटना सोचिन्थ्यो । सचेत भइन्थ्यो । तर यत्ति भयानक सङ्क्रामक भाइरस फैलिएला र यो हालतमा पुग्नुपर्ला भन्ने कल्पना कहाँबाट गर्नु ? अझ युरोपतिरको बेहाल परिस्थिति दैनिक सुनिरहँदा, देखिरहँदा पनि हामीतिर पनि त्यस्तो हालत होला भन्ने बिलकुल सोचिएको थिएन । एनपीआरमा बोलिरहेको त्यो पत्रकार थोमस विल्सनले ठीकै भनेको थियो, ‘वी विल बी फाइन’ भनेर बकबास गरिरहने ट्रम्पलाई थप्पड हान्न नसकेर हाम्रोमा पनि आएको हो यो भयावह परिस्थिति । मेरो मुखबाट निस्क्यो, फकिङ ट्रम्प ।’
म बसेको अपार्टमेन्टमा एक सय चालीस युनिट छन् । म पार्किङ लटमा पुग्दा यसको प्रायः असी प्रतिशत युनिटका पार्किङ स्पट भरिएका थिए । मध्यान्हको दुई बजेको बेला थियो । यो बेला पार्किङ स्पटहरू प्रायः खाली हुन्थे । किनभने मानिसहरू कामबाट फर्किने बेला हैन यो । तर त्यस मध्यान्ह पार्किङ लट त्यसरी पटापट भरिन थालेको थियो । अघिपछि भए पार्किङ लट भरिएको, नभरिएकोतिर मेरो चासो हुँदैनथ्यो । आफ्नो युनिटको स्पटमा कार पार्क गरेर सीधा लिफ्टतिर लाग्थेँ । तर त्यो दिन पार्किङका स्पेसहरू सब भरिन थालेको देखेर मनमा आश्चर्य, आतङ्क र चिसो पसेको थियो । निकै सोचनीय रूप देख्दै थिएँ म । मलाई लाग्दै थियो यत्तिका युनिटमा बस्नेहरू म झैँ कामबाट लेअफमा परेर वा निकालिन बाध्य भएर फर्किएका हुन् त ? वा यी सब भाइरसको त्रासले छिटै घर आएका हुन् ?
म पाँचौँ तलाको एक बेडरुमको युनिट नम्बर त्रिचालीसमा बस्छु । म आफ्नो युनिटभित्र पस्दै थिएँ मेलोले फेरि फोन गरी ।
‘हेलो ?’
‘हेलो ड्याड, घर आयौ ?’
‘अँ ।’
‘भेरी गुड, अब ननिस्क ।’
‘किन ?’
‘कोरोना भाइरस ¥यापिड्ली फैलिरहेछ, बाटोमा कसले क्यारी गरेर हिँडेको हुन्छ थाहा हुँदैन, तिम्रो उमेरका मानिसहरूलाई एकदम खतरा छ ।’
‘आई नो ।’
‘हो, त्यसकारण तिमी काममा पनि नजाऊ, बिदा लेऊ, तिमीलाई थाहा छ मेरो कामका तीस जना हस्पिटलाइज्ड छन्, ती कोही पनि बाँचेर घर फर्कने अवस्थामा छैनन् भन्ने सुन्दै छु ।’
मेरो मुटु कलेजो हल्लिएको थियो । आत्तिएर मेलोलाई भनेको थिएँ, ओ माई गड, बी केरफुल हनी ।’
उसले मलाई शीतल हुने कुरो भनेकी थिई, म त केही दिनदेखि घरबाटै काम गर्न थालेकी छु ड्याड । नो प्रोब्लेम फर मी ।’
‘भेरी गुड ।’
‘तर मैले के भन्न खोजेको के हो भने तिमी काममा नजाऊ । केही दिनलाई तिमी बिदा लिएर घर बस ड्याड ।’
अफिसले मलाई हानेको बज्रघातको कुरो उसलाई सुनाउन मलाई सुरुदेखि नै खसखस लागिरहेको थियो । यहाँनेर मौका पाएर मैले उसलाई मलिन स्वरमा भनेको थिएँ, आजबाट म लेअफमा परेँ हनी ।’
तर ऊ त खुसी भई । यो मेरो अपेक्षा विपरीतको प्रतिक्रिया थियो । उसले भनेकी थिई, ‘भेरी गुड ड्याड, एकदम ठीक भयो ड्याड अहिले काममा जाने बेला छैन, तिमीलाई निकालेर तिनले ठीक गरे ।’
अब भो ! मैले उसलाई सम्झाएँ, निकालेको हैन लेअफ गरेका हुन् फेरि डाक्न सक्छन् ।’
‘निकालेकै मान, एकहत्तर वर्षको भइसक्यौ । तिमीलाई काममा जाने खाँचो छैन ।’
ऊ मेरी छोरी हो । ऊभित्र बाउप्रतिको कर्तव्यबोध छ । माया छ । हेरविचारको चिन्ता छ । यो सब हिसाबले अत्यन्त संवेदित भएर उसले त्यसो भनेकी थिई । तर त्यो क्षण उसको कुरो मलाई मुक्का बराबरको लागिरहेको थियो । मेरो थाप्लो बलेको थियो । त्यसकारण झडङ्गको स्वर निकाल्दै मैले उसलाई हप्काएको थिएँ, डन्ट वरी अबाउट मी ।
ऊ पनि तुरुन्तै टेन्सनमा आउने केटी हो । तर ऊ त्यस बेला पूरै संयमित थिई । त्यसपछि उसले जे भनी
त्यसको मैले प्रतिकार गरिनँ । उसले सम्झाउने कोसिस गर्दै शान्त स्वरमा भनेकी थिई, ड्याड तिमी ब्लड प्रेसर, सुगर र प्रस्टेटको सफरर हौ ।’
‘आई नो ।’
‘त्यसकारण तिमीले अझ धेरै सजग, सचेत हुनुपर्छ ।’
‘आई विल ।’
‘तिमीजस्तो अन्डरलाइन हेल्थ कन्डिसनका मान्छेलाई यो भाइरसको इन्फेक्सन भएमा रिकभर हुने चान्स बिलकुल छैन, आजै निस्केको सीडीसीको सरकारी आँकडाले यही भनिरहेको छ, आई एम वरिड अबाउट यु ड्याड ।’
‘ओके मेलो, मैले बुझेँ ।’
‘त्यसकारण ।’
‘त्यसकारण के ?’
‘ड्याड आफ्नो स्वास्थ्यको विचार गर, चुपचाप घर बस ।’
‘अब त्यै गर्ने हो ।’
‘न्युयोर्क लकडाउन गरिसक्यो, अब तिम्रो स्टेटमा पनि हुन्छ ।’
‘आई नो ।’
‘ग्रोसरीका लागि सपिङमा नजानू, अनलाइन अर्डर गर्नू ।’
‘ओके, बाई ?’
‘बाई ड्याड, आई विल चेक यु अगेन ।’
यो वार्ताभर मलाई फोन घाँडो भएको थियो । कुरा गर्दागर्दै फोन सेट ट्र्यासमा हुर्याउँझैँ भएको थियो । तर मेलोले बाई गरेपछि फोन ट्र्यासमा हैन खल्तीमै घुसारेँ । मेलोको फोनबाट छुटकारा पाएपछि झन् बेचैन भएर म सोफामा बसेँ । कोठामा एक्लो थिएँ । कुनै बेला मेलोकी आमा थिई । दुई वर्ष भइसकेको थियो, ऊसँग बिछोडिएको । उसलाई कोलोन क्यान्सर भएको थियो । त्यही शत्रुले उसलाई लग्यो । यस्तो स्थितिमा दिनभर भुल्ने जब थियो । त्यसलाई पनि कोभिडको चिल आएर टिप्यो । भयानक जिल परेको थिएँ । त्यसपछि टीभी अन गरेको थिएँ । यो पनि यथावत कोभिडकै भयानक दृश्य देखाइरहेको, भनिरहेको थियो । आतङ्कका बेला एक्लो जीवन झन् कस्तो हुन्छ जानिरहेको थिएँ । कोठामा साथीहरू रेडियो, टीभी, किताब र केही ह्विस्कीका बोतलहरू थिए । रेडियो र टीभीलाई कोभिड नै
लागेको थियो । हेर्न, सुन्न मन लाग्दैन । म किचेनमा जान्छु । ह्विस्कीका बोतल राखेको क्याबिनेट खोल्छु । क्याबिनेटभित्र राई र बर्बन ह्विस्कीका विभिन्न ब्रान्डका पाँच, सात बोतल थिए । म उडफोर्ड राई ह्विस्कीको बोतल निकाल्छु । गिलासमा आइसका केही टुक्रा रेफ्रिजिरेटरको आइसमेकर खण्डबाट झार्छु । ह्विस्कीको पेग बनाउँछु । गिलास बोकेर सोफामा फर्किन्छु । हल्का सिप लिन थाल्छु । फेरि कोभिडकै हालचाल बुझ्ने चासो जाग्छ । टीभी खोल्छु ।
टीभी भनिरहेको थियो, बाहिर हिँड्नेहरूले सास फेरिरहँदा, छिँक्दा, खोक्दा निस्कने ड्रप्लेट, एरोसोलमा हुने कोभिडका भाइरस हावामा धेरै बेरसम्म रहेका हुन्छन् । यी भाइरस अरू भाइरसभन्दा गह्रौँ भए पनि यी गुरुत्वाकर्षणको प्रभाव निकै बेरसम्म झेल्न सक्छन् । त्यसकारण यी भाइरसहरू हावामा धेरै बेरसम्म तैरिरहन्छन् । हजारौँ अमेरिकीहरू सङ्क्रमित हुनुको कारण नै यही हो । लापरबाही भयो कि चट । समाचारमा यो कुरो डाक्टर एन्थोनी फाउसी लगायतका विशेषज्ञहरूको हवाला दिँदै भनिएको थियो । यस हवालाले मलाई ठूलै म्याग्निच्युडले हल्लाएको थियो । मेरो शिरबाट मैले पिइसकेको मेरो प्रिय राई ह्विस्कीको दुई पेगको नशा नै फुर्रर उडेर गायब भएको थियो । मैले थप डेढ पेग ह्विस्की बनाएको थिएँ । वास्तवमा म दुई पेगभन्दा अगाडि बढ्ने मान्छे होइन । तर मलाई समाचारले तस्र्याएको थियो । त्यसकारण मैले त्यो थप लार्ज पेग बनाएको थिएँ । टीभी मैले पेग बनाउँदै बन्द गरेको थिएँ । अब म शान्त, मौनजस्तो ध्यान मुद्रामा चुस्स चुस्स ह्विस्कीको सिप लिन थालेँ । तर मेरो शिरमा टीभीले भनेका हाछिउँ र खोकीका ड्रप्लेट, एरोसोलहरू नै भुसुनाझैँ उड्न थाले । तीबाट पार पाउन मैले एक्सएम रेडियोको पुरानो गीत, सङ्गीत बजाउने च्यानल ३४ खोलेँ । विशेषगरी म कन्ट्री सङ, ज्याज र ब्लुज सुन्न मन पराउँछु । एक्सएम रेडियोको च्यानल ३४ मा जेसी कोलिन यङ्ग गाइरहेको थियो । मलाई जेसी कोलिनको सबै
किसिमको गायकी मनपर्छ । जेसीपछि एक जमानाको प्रख्यात लोक गायक पिट सिगरले गाएको राई ह्विस्कीकै बारेको प्रसिद्ध गीत आउन थाल्यो,
राई ह्विस्की राई ह्विस्की
राई ह्विस्की राई ह्विस्की आई क्राई
इफ यु डन्ट गिभ मी राई ह्विस्की
आई सियोर्ली विल डाई
इफ द ओसन वाज ह्विस्की
एन्ड आई वाज अ डक
आई उड डाइभ टु द बटम
एन्ड नेभर कम अप
आफ्नो प्रिय ह्विस्कीको यो गीत म मस्त झुम्दै पिटर सिगरसँगै गाउन थालेको थिएँ । तर गाउँदा गाउँदै निदाएछु ।
यो कुरो २०२० को मार्च ९को दिन, साँझ र रातको थियो ।
मार्च १० को बिहान म अक्सर उठ्ने बेलाकै समयमा उठेँ । म उठ्दा चराहरू भर्खर बिजुलीको तारमा बसेर कराउन थालेका थिए । मेरो उठ्ने बेला यही हुन्थ्यो । लेअफले मलाई जति सुते पनि हुने यो एउटा फाइदा त
दिएको थियो । किनभने बिहान नौ बजे काममा जानु नपर्ने भएपछि मैले जुन बेला उठे पनि हुन्थ्यो । वर्षौंदेखि अभ्यस्त रहेका मेरा आँखा एक मिनेट पनि बढी ढप्किएनन् । मेरो पनि बढी सुत्ने चाहना थिएन । उठ्दा टाउकोमा ह्विस्कीको हल्का ह्याङ थियो ।
सात बजे मेलोको फोन आएको थियो । मेरो ‘हेलो’ सुन्नेबित्तिकै उसले सोधिहालेकी थिई, हाउ वाज योर नाइट ड्याड ?’
‘गुड ।’
‘डिड यु ड्रिङ्क ?’
मैले ढाटेँको थिएँ ‘नो ।’
उसले खुसीले भरिएको स्वरमा भनेकी थिई, ‘भेरी गुड ।’
‘थ्याङ्क यु ।’
‘लिसन मी ।’
‘ह्वाट ?’
उसको उपदेश आएको थियो, बाहिर निस्कनु खतरा छ, तिमी केही दिन वाकमा पनि जाने नगर ड्याड ।’
अब केही बेर ऊ मलाई लेक्चर दिनेवाला थिई । यो भनाइमा मैले चलाखी सोचेँ । र, उसलाई भनेँ, ‘आई ह्याब टु गो बाथरुम हनी ।’
‘ओ ! आई एम सरी ड्याड, बट किप इन माइन्ड माई सेइङ ।’
‘ओके ! ओके !’
फोन चुप भयो । अब छ सात घन्टालाई पुग्यो । किनभने यो बीच मेलोको फोन आउनेवाला थिएन । म हल्का भएको थिएँ ।
मेलोले मलाई मर्निङ वाक जान हुन्छ भनेर सुझाव दिएको भए पनि म निस्कने थिइनँ । किनभने राति टीभीमा सुनेका समाचारले मलाई बाहिर निस्कन नहुने चेताइसकेका थिए । त्यसकारण केही दिनलाई मर्निङ वाकका लागि पनि बाहिर ननिस्कने निर्णयमै थिएँ म ।
मेलोसँग कुरा गरिरहँदा मैले कफी मेकरको फिल्टरमा कोलम्बियन बिन कफीको पिसान हालेको थिएँ । र, कफी मेकर मेसिन अन गरेको थिएँ । त्यसबाट तल पटमा तातो कफी झरिसकेको थियो । मैले पटबाट तातो कफी मगमा सारेँ । र, बिल्डिङ पछाडिको झ्यालबाट बाहिर हेर्दै पिउन थालेँ । यसरी कफीबाट सुरु भएको मेरो दिनचर्या राति फेरि राई ह्विस्कीको अढाई पेगको चुस्कीमा टुङ्गिएर
ओछ्यानमा पल्टिएको थियो ।
यो मार्च १० को कोभिड १९ स्टेट अफ इमर्जेन्सी घोषणा भएको रात थियो । गभर्नर चार्ली बेकरले स्टेट अफ इमर्जेन्सी घोषणाका साथ होम स्टे अडर लागू गरेको थियो । अत्यावश्यक वस्तुबाहेकका सम्पूर्ण व्यापारिक प्रतिष्ठान, मल, पसलहरू खोल्न बन्देज गरिएको थियो । र, एकदम आवश्यक नपरी घरबाट बाहिर ननिस्कन
भनिएको थियो । अझ मेरा उमेरका मानिसलाई बिलकुल ननिस्कन भनिएको थियो । मैले त्यसै गरेँ । बिल्डिङबाट ओर्लने कामै गरिनँ । आवश्यक पर्ने हरेक कुरा जस्तो दूध, ह्विस्की, ब्रेड, मिट, भेजिटेबल, अनलाइन अर्डर गरेर होम डेलिभरी लिन थालेँ । मेरो उमेरको मान राख्दै मलाई साथ दिन आएका प्रेसर, सुगर र प्रस्टेट रोगहरूले डाक्टरसँग मागेका क्याप्सुल र पिल्सहरू बाई पोस्ट मगाउन थालेँ । र, बाहिरको हाल झ्यालबाट मात्र लिन थालेँ । एक्सरसाइजका लागि लिभिङ रुम टु बेडरुम, बेडरुम टु लिभिङ रुम गरेर दिनको एक घन्टा हिँड्थे । रातको निद्राका लागि ह्विस्की चलाई नै रहेको थिएँ ।
मेरो दिनचर्याको प्रमुख काम दिनभर टिभीमा विभिन्न स्टेटका गभर्नरहरूले दिने आआफ्नो स्टेटको कोभिड–१९ को दैनिक ब्रिफिङ सुन्ने हुन्थ्यो । विशेषगरी म न्युयोर्कको गभर्नर क्रिस्टोफर कोमो र क्यालिफोर्नियाको गभर्नर ग्याभिन न्युसमलाई सुन्न छुटाउन्न थिएँ । किनभने तिनको राज्यमा कोभिड–१९ को सङ्क्रमण र मृत्यु दर अचाक्ली बढ्न थालिरहेको थियो । मेरो यो होम स्टेट म्यासाचुसेटमा पनि मर्नेको सङ्ख्या सात हजार र पोजिटिभ केसको
सङ्ख्या एक लाख असी हजार पुगिसकेको थियो । विशेषगरी राज्यराज्यका गभर्नरहरूले आआफ्नो राज्यको कहाँ कत्ति मरे, पोजिटिभ केस कति निस्के, नियन्त्रणका लागि तिनले के के व्यवस्था गरे भन्ने सुन्थेँ । बीचबीचमा यसबारेका अरू समाचारहरू पनि हेर्न, सुन्न च्यानल फेर्थें । यसो गरीगरी मेरो दिन बित्थ्यो । साँझ ह्वाइट हाउसमा डोनाल्ड ट्रम्प दलबदलसहित कोभिडबारेको प्रेस ब्रिफिङ दिन्थ्यो । टिभीहरू यसको प्रत्यक्ष प्रसारण गर्थे । र, म यो पनि हेर्न थाल्थेँ । डोनाल्ड ट्रम्पको ब्रिफिङ मुर्खतापूर्ण, सिल्ली र उटपट्याङको बिलकुल हास्यास्पद हुन्थ्यो । अढाई लाख अमेरिकी मरिसक्दा पनि उसले ‘वी विल बी फाइन’ भन्न छोडेको थिएन ।
होम स्टे अर्डरको म बिलकुल कडाइका साथ पालन गरिरहेको थिएँ ।
मार्च, अप्रिल, मे महिना बितिसकेको थियो । सरकारले होम स्टे अर्डर समाप्त गरिसकेको थियो । ह्वाइट हाउसले राज्य सरकारहरूका लागि केस हेरेर बन्दव्यापार, स्कुल, युनिभर्सिटी, थिएटर, पब, रेस्टुरेन्ट आदि खोल्नेबारे चरणगत निर्देशिका प्रकाशित गरेको थियो । तर कोभिडको जोखिम बिलकुल घटेको थिएन । पोजिटिभ केस बढिरहेको थियो । मर्नेको सङ्ख्या थपिइरहेको थियो । अस्पतालहरू भरिएकै थिए । सिमेटरीहरूमा लासहरूले ठाउँ पाउन गाह्रो थियो । फ्युनरल होमहरूमा नो भ्याकेन्सीको साइन धमाधम लागिरहेका थिए । यी सब खतरनाक डाटा अध्यन गरिरहेको म घरबाट किन निस्कन्थेँ । वास्तवमा म जुनको तेस्रो साता बित्न लाग्दा पनि घरबाट निस्केको थिइनँ । बीचबीचमा फोन गरेर मेलो मलाई भनिरहन्थी, ‘ड्याड, स्टप कन्जुमिङ टु मच न्युज ।’
तर म कोभिडको समाचार नहेरी बस्न सक्दिनथेँ । मलाई यसको लत लागिसकेको थियो । त्यसकारण म दिनभर टीभी अन गरेर बसेको हुन्थेँ । चिन्तित हुँदै फोनमा मेलो भन्थी, ड्याड तिमीलाई समाचारले नै बिरामी पार्दै छ, तिमी किताब पढ, सिनेमा हेर । स्टप वाचिङ न्युज ।’
विशेषतः कोभिड घटेको समाचार सुन्ने आसैआसमा मलाई यो लत लागेको थियो । मेलोले ठीकै भनेकी थिई । समाचारले मेरो त्रास झन् बढाइरहेको थियो । म आफ्नो कारको हाल के छ त्यो यसो हेर्न पनि तल पार्किङ लटमा ओर्लिएको थिइनँ । चुरोट पिउन यता पछाडिको झ्यालमा आउँथे । मुन्टो बाहिर निकालेर पिउँथे । र, धुवाँ उतै फुर्रर फाल्थेँ । त्यही बेला आफ्नो कारको थाप्लो देख्थेँ । तर तल ओर्लिएर त्यसलाई पुछपाछ गर्ने वा यसो हेर्ने साहससम्म गर्नसकेको थिइनँ ।
म बिलकुल काँतर भइसकेको थिएँ । एक महिनाअगाडि नै मेलोले मलाई भनेकी थिई, ‘ड्याड अब तिमी कोठाको कैदबाट मुक्त होऊ, कोठामा मात्र हिँडेर एक्सरसाइज पुग्दैन, अब मास्क लगाएर वाकमा बाहिर निस्क, बरु मानिस धेरै ननिस्कने बेला बिहानै निस्क, स्थिति धेरै कन्ट्रोलमा आइसक्यो ।’
‘कोभिड त जस्तातस्तै छ नि ? मान्छे म¥याम¥यै छन्, यु नो मर्नेहरूको सङ्ख्या कति पुग्यो ?’
‘आई नो ड्याड तर... ।’
‘तर के ?’
‘थ्याङ्क्स गड कि तिमीले कुकुर पालेका छैनौ, नत्र तिमी कुकुरलाई पनि कोठामै हगाएर, मुताएर राख्थ्यौ ।’
म जोडले हाँसेको थिएँ, हा हा हा ।
‘मेरो कुरो हाँसोमा नउडाऊ ड्याड ।’
‘लेट मी लाफ मेलो, धेरै दिन भयो नहाँसेको ।’
‘ड्याड मलाई तिम्रो स्वास्थ्यको चिन्ता छ तिमी चाहिँ.. ।’
‘नो प्रोब्लेम, आई विल स्टार्ट फ्रम टुमरो ।’
‘सियोर ?’
‘हन्ड्रेड पर्सेन्ट ।’
ऊ खुसी भई । अर्को दिन चेक गर्न फेरि फोन गरी । सोधी, ‘ड्याड वाकमा गयौ ?’
अब के भनौँ भन्ने सोच्दा सोच्दै भनेँ, ‘छैन ।’
रिसाउँदै भनी, ‘किन ?’
‘अलि टाउको दुखेको थियो अनि ।’
‘ड्याड, बहाना नगर तिमी हिँडेनौ भने टाउको दुख्छ, घरमा यसरी थुनिएर नबस ड्याड तिमी बिरामी पर्छौ, प्लिज हिँड्न थाल ।’
‘भोलिबाट ।’
‘ओके ?’
मैले किरिया खाएँ, ‘स्वेर टु गड ।’
उसले मानी । भनी, ‘ल ठीक छ, आई ट्रस्ट यु ।’
फोन चुप भयो । म मुक्त भएँ ।
यसपछिको पाँच दिनसम्म उसले फोन गरिनँ । म पनि बाहिर निस्केको थिइनँ । तर बाहिर निस्कने तयारीका लागि मैले अमेजनबाट मास्क अर्डर गरेको थिएँ । छैटौँ दिनको डिनरको समयमा मेलोको फोन आएको थियो । उसले सोधेकी थिई, ‘ड्याड, तिम्रो वाकिङ कस्तो भइरहेछ ?’
‘भेरी गुड हनी ।’
‘ग्ल्याड टु हिएर ड्याड । किप इट अप ।’
‘आई विल ।’
त्यस दिन मैले अमेजनबाट मेरो अर्डरको एनके ९५ मास्कको डेलिभरी पाएको थिएँ । त्यो लगाएर म तल पार्किङ लटमा आफ्नो कारको हाल जान्न झरेको थिएँ । त्यसकारण मेलोलाई हल्का ढाँटेर ‘भेरी गुड’ भन्न मलाई हिच्किचाहट भएको थिएन ।
सवा तीन महिनापछि म अपार्टमेन्टबाट तल खुला स्थानमा निस्केको थिएँ । सुरुमा म सोझै पार्किङ लटमा पुगेको थिएँ । मेरो कारहरूको बाहिरी हाल बेहाल थियो । धुलोको पत्रमाथि पत्र जमेर कारको रङले
आफ्नो मौलिकता गुमाइसकेको थियो । हावा घटेर यसका अगाडि, पछाडिका चारै चक्काहरू थ्याच पर्न थालेका थिए । कारको शारीरिक हालत कुनै
जङ्कयार्डमा फालिएको हिप्पीकालीन भ्यानजस्तो देखिएको थियो । वरिपरिका अरू केही कारको हाल पनि म यस्तै परित्यक्त मुद्राको देख्दै थिएँ । ती कारहरू हेरेर मलाई यिनका मालिकहरू पनि मजस्तै कोठाबाट तल झर्न डराएका होलान् वा कोभिड सल्किएर अस्पताल लगिएका होलान् भन्ने लाग्दै थियो । मनमा आतङ्कको चिसो पस्छ । म पार्किङ लटबाट निस्कन थाल्छु । सहरमा नयाँ आएको कुनै जिज्ञासुजस्तो म सडकको हाल हेर्न साइडवाकमा पुग्छु । सडकमा कार कम देखिएका थिए । कारको ड्राइभर र ऊसँग बसेका अगाडि पछाडिकाहरूले
आ–आफ्नो मुख मास्कले ढाकेको देखियो । ती भर्खर धर्तीमा आएका भिन्न प्राणीजस्ता देखिँदै थिए ।
वातावरण अनौठो अनौठो, आश्चर्यको र उदास, निराशलाग्दो देखिन्थ्यो । म साइडवाकमा छेउ लागेर ठिङ्ग उभिरहेको थिएँ । अलि अगाडिबाट कोही
मास्कले नाकमुख ढाकेर आइरहेको देखियो । उसको केही पछाडि त्यही रूपको अर्को कोही पनि आउँदै थियो । ऊभन्दा अघिअघि आइरहेकाले मलाई साइडवाकमा ठिङ्ग उभिरहेको देख्यो । मलाई देख्नासाथ ऊ हतार हतार सडक क्रस गरेर पल्लो साइडवाकमा गयो मानौँ म उसको मुखमा थुक्नेवाला थिएँ । ऊपछिको अर्कोले पनि मलाई देखेपछि तर्सेझैँ त्यो साइडवाकबाट तल सडकको बाइक लेनमा झटपट ओर्लियो । र, मेरो मुख नहेरी फटाफट अगाडि बढ्यो मानौँ म त्यसलाई लात हान्नेवाला थिएँ । मध्य जुन महिनाको घमाइलो आनन्दको प्रौढ वासन्ती दिन थियो । तर मानिसहरूको ओहोरदोहोरबिलकुल कम । जो देखिएका थिए ती पनि त्यस्तो
आतङ्कित चालमा थिए । म एकछिन उभिरहेँ । मास्कले मुख छोपेका अरू केही पनि होसियारीसाथ टाढा टाढा पर्दै हिँडेका देखिए । यस दृश्यले मलाई यसरी हिँड्दा हुन्छ भन्ने बल दिएको थियो । म यही बुझ्न, हेर्न चाहिरहेको थिएँ । मलाई अलि पर क्याम्ब्रिज र अर्लिङ्गटन टाउनको सीमा छुट्टिने इन्टरसेक्सनसम्म (मोटरहरूको चौबाटो) जान मन लाग्यो । मैले मास्कको इलास्टिकलाई कानको कापमा अझ राम्रोसँग मिलाएर राखेँ । म मास्क खुस्किन नपाओस् भन्नेमा सचेत थिएँ । त्यसकारण मेरो हात कानको डिलमुनि कापमा अड्काएको इलास्टिक छाम्न पुगेको थियो । म अगाडि बढ्दै थिएँ । म मास्क नलगाएको कोही सामुन्ने पर्छ कि भन्नेमा सचेत थिएँ । यो मेरो डर थियो । बाटोमा एकाध अगाडि जो देखिँदै थिए ती सबले आफ्ना नाक, मुख मास्कले टम्म कसेका थिए । र, अगाडिबाट आइरहेको कसैलाई देख्नासाथ ती पर पर उछिट्टिएर हिँड्थे । म पनि यही गर्दै हिँडिरहेको थिएँ, खासमा सामुन्नेबाट आइरहेकासँग छेलिँदै ।
म्यासाचुसेट एभेन्युको क्याम्ब्रिज र अर्लिङ्टन टाउनको सीमामा रहेको इन्टरसेक्सन अर्थात् चौबाटोको चारै कुनामा होमलेसहरू हमेसा दिनभर तैनाथ रहन्थे । तिनीहरू जम्मा चारजना थिए । कहिलेकाहीँ तीसँग पाहुना होमलेस पनि थपिएका देखिन्थे । अन्यथा ती चारजना मात्र हुन्थे । ती एक एक गरेर इन्टरसेक्सनको चार कुनामा खडा रहन्थे । यिनको छातीमा होमलेस लेखेको कार्बोर्डको बिल्ला हुन्थ्यो । र, हातमा कुनै कफी सपमा गएर मागेको कागजको कप । ट्राफिक लाइटको रातो बत्ती बलेपछि यहाँ रोकिने ताँतीका ताँती कारहरूको
ड्राइभरको झ्यालपट्टि ती छातीको बिल्ला र हातको कप तेस्र्याउँदै पुग्थे । रोकिएका कुनै न कुनै कारका ड्राइभरले आफ्नो झ्यालको सिसा खोलेर यिनको कपमा क्वार्टर (सुका) कसैले नोट खसालिदिन्थे । धेरैले वास्ता पनि गर्दैन थिए । तर रोकिएका प्रायः कुनै न कुनै कारको झ्यालबाट निस्केको हातले नोट वा खुद्रा केही न केही यिनको कपमा खसालेको देख्थेँ म । मुड लाग्दा म पनि आफ्नो कारको झ्यालको सिसा डाउन गरेर यिनको कपमा एकाध क्वार्टर खसालिदिन्थेँ । अहिले बसेको अपार्टमेन्टमा सरेको चार वर्षदेखि यिनलाई म लगातार देखिरहेको थिएँ । विशेषगरी मैले यिनलाई देख्ने भनेको ड्राइभिङ गरेर बिहान कामतिर जाँदा र साँझ कामबाट फर्कंदाको समय हुन्थ्यो ।
कोरोना भाइरसको यो खतरनाक बेला ती के बाचेँ होलान् र भन्ने मलाई लागिरहन्थ्यो । त्यो दिन पनि मलाई यस्तै लागिरहेको थियो । मेरो सोचमा ती पक्कापक्की मरे होलान् भन्ने नै थियो । म यही जिज्ञासा मेट्न त्यसरी हिँड्दै चार ब्लक पार गरेर त्यहाँ पुगेको थिएँ । तर त्यहाँ पुगेर मेरो जिज्ञासा आश्चर्यमा बदलियो । र, सोचाइ गलत । त्यो साँझ पनि तिनै अनुहारका होमलेसहरू त्यसरी नै
आ–आफ्ना साइडमा तैनाथ थिए । तिनको हातमा ड्राइभरको झ्यालतिर तेस्र्याउने कप र घाँटीमा पूर्ववत् होमलेसको बिल्ला झुन्डिएकै थियो । ती रेडलाइटमा रोकिन आउने कारको उस्तै पर्खाइमा थिए । तर सडकमा कारहरू एकदम कम गुडेका थिए । यसको असर तिनको कपलाई परेको थियो । तिनलाई ब्रेड र अलिकति घटिया भोड्काका लागि केही क्वार्टर चाहिएको थियो । यो सहज बुझिने कुरो थियो । ती पूर्ववत् बेपर्वाह थिए । तिनको मुखमा मास्क थिएन । तिनलाई म परैबाट आश्चर्यवत् हेरिरहेको थिएँ । तिनलाई त्यहाँ जीवित देख्नु मेरो मानसिकताका लागि आश्चर्य नै थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?