logo
२०८१ मंसिर ८ शनिवार



कथा : कामीस्या

कला |


कथा : कामीस्या


बिना थिङ 

काँधसम्म झरेको कालो घुम्रिएको कपाल । निधारको देबे्रपट्टि ठूलो कालो कोठी । बाटुला कैला रङका आँखा । मैदानजस्तै सम्म परेको नाक । कुनाकुनामा च्यातिएको पातलो ओठ । मासको जस्तै अनुहारको रङ । बुइगलमा छापिएको बाँसको फग्लेटाजस्तो लामो तर चेप्टो जिउ । जम्माजम्मीमा दुःखको भट्टीमा खारिएर बाँकी कोइलाजस्ती देखिन्थी ऊ । नाम कामीस्या तामाङ । वर्ष पैँतीस ।
कामीस्याको घरमा आज छेवार (व्रतबन्ध) थियो । कामीस्या भने हतास थिई । घाम समकोण आकारमा आँगनमा खसिसकेको थियो । कामीस्याले लामो सास फेरी । उत्तरतर्फ फर्काएर बनाइएको डाजाङ (मञ्च) हेरी । डाजाङको पछिल्लो लहरमा लस्करै बाक्लो तन्ना दोब्बर पारेर ओछ्याइएको थियो । तन्ना ओछ्याइएको बीच भागमा उसको छोरा सोनाम बसेको थियो । जसको छेवार थियो । सोनामको दाहिनेतर्फ उसकी दिदीहरू पाल्मो र ज्ञानु बसेका थिए । देब्रेतर्फ भने सोनामको साथी पाल्देन बसेको थियो । सोनामको ठीक पछाडि उसको काकाको छोरा साम्देन र छोरी डोल्मो उभिएका थिए ।
सोनाम बसेको ठीक सामुन्ने छ्याङतेर (पूजा गर्दा राखिने स–साना होचो, लामो काठको पिर्का) थियो । छ्याङ्तेरमाथि सेतो दही र चामल मुछेर ठिक पारिएको अक्षता भएको टपरी थियो । छेउमा दुईवटा भोगटे थियो । तामाको किस्तीमा स्याउ, केरा र सुन्तला सजाइएको थियो । त्यसमा एउटा केराको केस्रामा सुगन्धित धुप सल्काएर गाडिएको थियो । छ्याङतेरकै छेउमा तितेपातीको मुठा चोपलिएको पित्तलको अग्लो गडुवा (कलश) थियो । सँगसँगै छ्याङ राखिएको स–साना माटाका पोङ (घैंटो) थियो । जसको मुखमा कोमेन्दो (टटेलाको पूmल) टाँसिएको थियो । डाजाङको छेउ–छेउको दुई लहरमा लस्करै अरू छ्याङ्तेर पनि राखिएका थिए । ती छ्याङतेरमा टपरीहरू राखिएका थिए । टपरीमा तारेको माछा, उसिनेको अन्डा, फ्राई गरिएको कुखुराको सपेटा, फिला र सेलरोटी राखिएका थिए । र सँगै राखिएका थिए, सगुन स्वरूप छ्याङ, रक्सी भरिएका बटुकाहरू । छ्याङतेरलाई अगाडि पारेर दाहिने लहरमा बसेका थिए, लाब्ताबाहरू (कुल पुजारी) कालु वाइबा र चन्द्रमान वाईबा । अर्को लहरमा बसेका थिए ताम्बा (प्रकृति, जीवन र जगत्सम्बन्धी व्यख्याता), सोइनम तामाङ । सोइनमको छेउमा बसेका थिए, सोनामको आपा (बा) टीकाराम वाइबा ।
डाजाङ कामीस्याको घरछेउको बारीमा बनाइएको थियो । बारीमा कोदोको नल काटिसकेको थियो । मकै छर्ने बेला भएको थिएन । हिउँदको मध्यान्ह चलिरहेको थियो । डाजाङ बनाइएको भाग बाहेकको ठाउँमा मानिसहरूको चहलपहल थियो । सोनामको छेवार भएकोले गाउँले, छरछिमेक, आफन्त, पाहुना आउने क्रम जारी थियो । सबैले नयाँ, सफा कपडा लगाएका थिए । कामीस्याले पनि गोइजिङको आङ्रे (रेशमको चोलो), लुङ्गी र पहेँलो पटुका लगाएकी थिइन् । अनुहारमा केराउ पूmलको जस्तो चहक बोकेर मानिसहरू कामीस्याको घर र डाजाङमा ओहोरदोहोर गरिरहेका थिए । कोही छ्याङ भरिएका कित्ली बोकेर हिँडिरहेका थिए । कोही सेलरोटीको डालो बोकेर डाजाङतिर लम्किरहेका थिए । डाजाङको पछाडिपट्टि भने सायरले बारेर भान्छाघर तयार पारिएको थियो । त्यहाँ ठूला–ठूला ढुङ्गा गाडेर दुईवटा चुल्हो तयार पारिएका थिए । एउटा चुल्होमा खड्कुलो बसालिएको थियो जसमा राँगाको मासु पाक्दै थियो । अर्कोमा झ्याङ्गा (तामाको चाक्लो भाँडा) बसालिएको थियो । त्यसमा भात छड्किदै थियो ।
कामीस्याका निख्खर कैला आँखाहरू डाजाङमा खित्खिताएर बसेको सोनाममाथि अडियो । यो ल्हाङ (गाई) ल्हो (वर्ष ) हो । ल्हाङ ल्होमा सोनाम ८ वर्ष पुगेर ९ वर्ष लाग्यो । बिजोर वर्षमा छेवार गर्ने परम्परा भएकोले कामीस्याले गएको पुस महिनामै छेवारको साइत हेराएकी थिइन् । साइत छिरीङ लामाले हेरिदिएका थिए । छिरिङ लामा ज्हिन्दा (गाउँलेले चयन गरेको लामा) को लामा थिए । गाउँलेहरूले पूजाआजा, न्वारन, छेवार, घेवा गर्ने स्थायी पूजारीका रूपमा लामा चयन गर्थे । त्यसरी चयन गरेको लामाका लागि गाउँलेहरूले वर्षको एकपटक भनेर पाँच पाथी गहुँ र दुई सय पचासका दरले नगद सङ्कलन गरेर बुझाउँथे । गाउँलेले सम्मानका साथ ज्हिन्दा लामा राख्थे । उस्तै सम्मानका साथ गाउँका हरेक घरमा आवश्यक पर्दा ज्हिन्दाको लामा अनिवार्य उपस्थिति रहन्थ्यो ।
छिरिङ लामाकहाँ साइत देखाउन जाँदा कामीस्याले एक बोत्तल रक्सी खादाले बेरेर लगेकी थिइन् ।
छिरिङ लामाको सामुन्ने रक्सीको बोत्तल सगुन स्वरूप राख्दै कामीस्याले साइत हेरिदिन अनुरोध गरेकी थिइन् । लामाले आपूmले लगाइरहेको चस्मा फुकालेर टालोले पुछ्दै भोलि खबर पठाउँला भनेको थियो । भोलिपल्ट खबर आइपुगेको थियो, साइत माघ १७ । वसन्तपञ्चमीको दिन । कामीस्याले भित्ताको पात्रो पल्टाउँदा महिना दिन बाँकी थियो । उतले याद गरिन्, सबैभन्दा पहिले त माइतीमा सगुन लानुपर्छ । सगुन लगेर फलानो दिन कोन् (भान्जा) को छेवार छ भनेर खबर गर्नु अनिवार्य छ । माइती नउभिएसम्म छेवार कार्य सम्पन्न हुँदैन । माइतीमा आमा, आपा र भाइ छ । भाइ साउदी गएको तीन वर्ष भइसकेको थियो । छेवार गरिने केटोको कपाल आस्याङ (मामा) ले नै खौरनु पर्छ ।
साइत निस्केको साँझ । कामीस्या र सोनामको आपा अँगेना नजिकै बसेका थिए । “सोनामला आस्याङ्दा खालाइलासि बिसान् दादोला पाङला,” कामीस्याले अगुल्टो चलाउँदै भनिन् ।
“मयुङमी खालाईलासी बिसान् राप्तोला । आहिन् बिसाम् नाम्सालागादेसे हेप्तिला,” माइती नउभिए समाजले हेप्छन् भनेर सोनामको आपाले भने । त्यसबखत कामीस्याका आँखाहरू गहिरो खाडलमा पसेजस्तो देखिएका थिए ।
भोलिपल्ट सबेरै कामीस्या पाँच पाथी रक्सी,
सिङ्गो एउटा भाले डालोमा बोकेर हिँडेकी थिइन् । साढे दुई घण्टाको उकालो उक्लिएपछि पुगेकी थिइन्, माइत । छेवारको सगुन बोकेर ।
“तिलैलासी बिसान् आलेदा ङ्योइस्युगो । कोन्ला छेवाररीमी ख्वा ब्रेबा आस्याङ तोला ।” छेवारमा सोनामको कपाल काट्ने आस्याङ चाहिन्छ भन्दै कामीस्याले आपा आमालाई सगुन राखेर ढोगेकी थिइन् । उनले माइतीका अन्य आफन्त, छिमेकलाई छेवारको निम्तो बाँडेकी थिइन् ।
कामीस्या छेवारलाई लिएर निकै उत्साहित थिइन् । नहोस् पनि किन ? लगालग दुई छोरी जन्मेपछि जन्मेको थियो, सोनाम । सोनाम नजन्मन्जेल उनले घरमा, छिमेकमा, गाउँमा जताततै सुन्नुपरेको टोकसो थियो, “जा आरे (छोरो छैन?) ?”
तेस्रो पटकमा सोनाम जन्मेदेखिदेखि नै कामीस्याले गाउँमा हुने छेवारमा नाङ (पर्म ) हाल्न सुरु गरेकी थिइन् । उनले पासाङको छेवारमा एक टिन तेल नाङ लाएकी थिइन् । नरेशको छेवारमा पियोर कोदोको रक्सी दश पाथी हालेकी थिइन् । सुनबहादुरको छेवारमा पचास किलो चामल हालेकी थिइन् । यसरी उनले गाउँमा हुने छेवारमा केही न केही नाङ हालिरहिन् । सोनामको छेवारमा एकैपटक आर्थिक भार नपरोस् भन्ने उनको ध्येय थियो । गाउँमा यस्तै चलन थियो ।
सोनामको छेवारका लागि सबैले धमाधम नाङ फिर्ता ल्याउन थाले । जाँडपानीको छेलोखेलो भयो । रोटी पकाउन तेलको समस्या परेन । छ्याङ बनाउन चामलको खाँचो ट¥यो । कामीस्या दङ्ग थिइन् । छोराको छेवारका लागि बाजा मगाएकी थिइन् । छेवारको दिन बिहानैदेखि आँगनमा बाजा बज्न थाल्यो । बाजाको तालमा मानिसहरू नाच्न थाले । आस्याङले सोनामको कपाल काट्ने साइत बिहानको साढे एघार बजेको थियो । एघार बजिसकेको थियो ।
“खोइओम्, आस्याङगादेम् आदानी ?” आस्याङ खलग नआइपुगेकोले लाब्ताबाहरूले खोजी गर्न थाले । कामीस्याले एकफेर नाडीको घडी हेरिन् । अर्काेफेर आकाशको घडी हेरिन् । घाम निधारमाथिको थाप्लोमा बसेको थियो । उनका आँखा तिरमिराए ।
“आस्याङगादे दाजी । लु, लु सगुन थान्सी ग्यालम् कागो ।” कामीस्याको घर मास्तिरको बाटोबाट झर्दै गरेका आस्याङ खलक देखेर लाब्ताबा चन्द्रमान वाइबाले सगुन राखेर बाटो छेक्न भने । एक हुल आइमाईहरू हतार हतार रक्सी, छ्याङ, रोटी, मासु र गुन्द्री बोकेर दौडिए । कामीस्या पनि हातमा खादा बोकेर माइतीलाई स्वागत गर्न दौडिई । बाजा बजाउनेहरू बाजा बजाउँदै पछि पछि दौडिए । छेवारमा आस्याङ खलकलाई बाटोमै छेकेर सगुन खुवाउने कार्य गरिन्छ । अनि मात्र छेवार गर्ने स्थानमा लैजाने चलन हुन्छ ।
कामीस्याका आपा, आमा, माइतका अरू आफन्तहरू, गाउँलेहरू ओरालोमा झर्दै थिए । कामीस्याको घर नजिकको बाटोमै ती दुई जमातको भेट भयो । “लास्सो ।” कामीस्याले आपा, आमा लगायत सबैलाई पालैपालो खादा लाएर छ्याक् (ढोग) गरिन् । कामीस्याले भाइ देखिनन् । उनका आँखाहरू नजानिदों तवरले गहिरा भए । ओसिला देखिए । अनुहार एकाएक अध्याँरो देखियो । हतारमा भएकोले कसैले यसमा वास्ता गरेनन् । आइमाईहरूले बाटोमै गुन्द्री ओछ्याए । कामीस्याका आपा, आमा लगायत अरु अरु गुन्द्रीमा लस्करै बसे । कामीस्याको तर्फबाट जाने आइमाईहरूले लस्करै टपरीमा रोटी, मासु पस्किए । बटुकामा रक्सी पिउनेलाई रक्सी, छ्याङ पिउनेलाई छ्याङ खन्याए । बाजा जोडतोडले बज्न थाल्यो ।
“लास्सो । लास्सो ।” भन्दै पाहुनाहरूले बटुका उचाले । खित्काहरू छुटे । माहोल तात्यो । कोही मासु, कोही रक्सी खानपिन गर्न थाले । लगभग पन्ध्र मिनेट जति खानपिन चल्यो । त्यसपछि सबै उठे । आइमाईहरूले गुन्द्री टिपे । जुठो भाँडाकुडाँ बटुले । बाजा बजाउनेहरू अघि लागे । कामीस्या आपा, आमा लगायत पाहुना लिएर बाजाको पछाडि–पछाडि हिँडिन् । अरू–अरू अझ पछाडि हिँडे । पाहुना लिएर कामीस्या घरमा आइपुगिन् । माइती खलक डाजाङमा लगिए । ओछ्याइराखेको तन्नामा बसालिए ।
“लु, लु साइत ताजि । कोलाला ख्वा ब्रेतोजि ।” कपाल काट्ने साईत भएको जानकारी ताम्बा सोइनम तामाङले गराए ।
सोनामको कपाल भिजाइयो । खौरिएको कपाल थाप्न सोनामकी दिदी पाल्मो टपरी बोकेर उभिई ।
कामीस्याको आपा छुरा बोकेर उभिए ।
“खोईओम् आस्याङ ?” सोनामको आस्याङ नदेखेर लाब्ताबा कालु वाइबाले सोधे ।
“आस्याङमि दाआम्याङनी ।” कामीस्याको आपाले आप्mनो छोरा कारणवश साउदीबाट आउन नपाएको बताए ।
“ओराङ हिन्साम् खाल्से ब्रेलाओम् ख्वा ?” अब कपाल कसले काट्ने भनेर कालु वाइबा आश्चर्यचकित भए । कालु वाइबाको कुरा सुनेर वरिपरिकाहरू झुम्मिए । कामीस्या अलमलमा परिन् । उनलाई जे डर थियो त्यही हुँदै थियो । छेवारमा भाइलाई जसरी नि झिकाउन भनेकी थिइन् । तर विदेशी भूमिमा भएको माइती बाध्यतावश आउन नपाएको कुराले उनी खिन्न भइन् ।
“ओराङताबरी ङाई ङाच्छान् चु नाम्सारी च्योल मयुङ चुङ्गो बिबाला । (मैले पहिल्यै यही गाउँको कसैलाई माइती बनाऊँ भनेको ।)” कामीस्यालाई उनको लोग्नेले हप्कायो । तामाङ जातिमा बिहे गरेर अर्को गाउँ पुग्दा त्यही गाउँको कोही थर मिल्ने माइती बनाउने चलन हुन्छ । सगुन लगेर आजबाट तपाईँ माइती, म चेली भनेर माइती बनाइन्छ । जसलाई च्योल मयुङ भनिन्छ । यसरी आपत्विपत् पर्दा आप्mनो साख्खै माइती उभिन नपाउँदा च्योल मयुङले अप्ठेरो फुकाउन सघाउँछ । च्योल मयुङ हुनु भनेको सुरक्षाको दृष्टिकोणले पनि राम्रो मानिन्छ । कथम्कदाचित् घरमा झै–झगडा परे टाढा माइती गुहार्न जान नसक्दा नजिकैको च्योल मयुङकहाँ जान सकिन्छ । छेवार, बिहे, घेवा जे जस्तो कार्जे गर्नुपरे पनि साख्खै माइती जत्तिकै च्योल मयुङको अधिकार र कर्तव्य रहन्छ । तर सबैले अनिवार्य च्योल मयुङ बनाउनै पर्छ भन्ने हुँदैन । आवश्यकता हेरेर यस्तो सम्बन्ध स्थापित गरिन्छ । कामीस्याले पनि कुनै दिन यस्तो समस्या आउँला भन्ने सोचिनन् । उनले आप्mनै भाइ छँदैछ, साढे दुई घण्टाकै बाटोको फेर त हो भन्ने सोचिन् र च्योल मयुङ बनाइनन् ।
अब फसाद प¥यो । सोनामको कपाल कसले खौरने ? सबै मुखामुख गर्न थाले । कानेखुसी चल्न थाल्यो । ताम्बा र लाब्ताबाहरू पनि अप्ठेरोमा परे ।
“कुनै दिन हामीले एउटै आमाको दूध पिएका थियौँ । तिमीलाई बा, आमाले छोरी मानेकै थिए । त्यस हिसाबले म तिम्रो च्योल मयुङ भएँ । तिमी अनुमति दिन्छौ भने म सोनामको कपाल खौरन्छु ।” सबैले देखे,
कामीस्याको आपाको हातबाट छुरा लिएर एकजना लोग्नेमानिस उभिएको थियो । कामीस्याको छेउमा । ऊ दौरा–सुरुवाल र ढाकाटोपीमा सजिएको थियो । उसको ओठमाथि बाक्लो जुँगा थियो । कामीस्याले चिनिन्, ऊ साधुरामको छोरा बलराम सुनार थियो ।
कामीस्याका ओठमा सन्तोषको लहर दौडियो । पैँतीस वर्षपहिले जोडिएको नाता । त्यही नाता जसले उनलाई कामीस्या नाम दिएको थियो । आज एकाएक अभरमा भर भइदियो ।
पैंतीस वर्षअघि ऊ जन्मिँदा घरमा कुखुराको भाले काटिएको थियो । त्यसको पाचौं दिनमा उसकी आपा र आमा छिमेकी साधुराम सुनारको घरमा गएका थिए, एकसरो रातो रङको सुतीको फरिया र चोलो लिएर । भर्खरै सुत्केरी भएकी साधुरामकी स्वास्नी काखमा छोरा राखेर बसेकी थिइन् ।
“लु साधुरामस्या चु ङाच्छाला गोर् नि कोलागादे सिसिजिन्जी । चुजा एदा चुङ्जी ।” कामीस्याको आमाले आप्mनो यसअघिका दुईवटा बच्चा मरेको भन्दै यो छोरी साधुरामकी स्वास्नीलाई खरीद गर्न अनुरोध गरेकी थिइन् । उसले साधुरामकी स्वास्नीलाई आपूmसँगै लगेकी फरिया, चोलो उपहारमा दिएकी दिइन् ।
साधुरामकी स्वास्नीले काखको बच्ची न्यानोसँग बेरी । रैथाने भएकाले साधुरामको परिवार तामाङ भाषा राम्रैसँग बोल्थे, बुभ्mथे ।
“ताला, तिनीहेन्से ङाला कोला ताजि चु ।” आजबाट छोरी आफ्नो भएको भन्दै साधुरामकी स्वास्नीले बच्चीको गालामा आफ्ना गाला जोडेकी थिई । साधुरामकी स्वास्नीले चुल्होको चम्कनाको ध्वाँसो औँलाले सोहरेर बच्चीको दाहिने निधारमा टीकाजस्तो लगाईदिएकी थिइन् । बच्चीलाई आफ्नो दूध पिलाएकी थिइन् । पटुकाभित्रको थैलीबाट एक रूपैयाँ झिकेर बच्चीको आमाको हातमा थमाएकी थिइन् । यति प्रक्रिया सकेपछि बच्ची लिएर ती दम्पत्ती फर्किएका थिए ।
गाउँको चलन यस्तै थियो । आफ्नो कोखबाट जन्मेको केटाकेटी नमरोस् भनेर दलितलाई बेचेको नक्कल गरिन्थ्यो । त्यो नानी पनि साधुराम दम्पतीकहाँ बेचिएकी थिई । गाउँले थाहा नपाउने कुरै भएन । कामीसँग बेचिएकाले कामीको छोरी भई भनेर उसको नाम काढेर कामीस्या राखिएको थियो । á
...
स्या – महिलाको अर्थ बुझाउने उपसर्ग 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?