logo
२०८१ मंसिर ८ शनिवार



पैसा टिप्नेहरू

कला |


पैसा टिप्नेहरू


शैलेन्द्र साकार

उसलाई यही काम पो निकै राम्रो लाग्यो । यसलाई काम भन्नुपर्दा आफैलाई लाज लाग्ने । यस्तो पनि काम हुन्छ कतै ! तर उसको सम्पूर्ण परिवार नै यही काममा दिनभर व्यस्त हुन थालेको छ । काम सजिलो छ– के भने पैसा टिप्ने । पशुपतिको ब्रह्नालनेर उभिरह्यो । एकैछिन संसार नै रोए जसरी रोइरहेको बागमतीको किनारमा रुनेहरूको ताँतीमा मिसियो । यही बेला अलि सकसजस्तो हुने उसलाई । कसैकसैले त उसलाई गलहत्याएका पनि छन् । तर ऊ धेरै पछारिएको छैन कहिल्यै पनि । ऊ अर्थात् राजु लामा । मान्छेहरूले उसलाई कहिल्यै ‘ए लामा !’ सम्म भनेनन् । खालि राजु भोटे मात्र भने । खै, जे भए पनि सबैका लागि एउटा नामको परिचय छँदैछ । एकै छिनमा ब्रह्नालमा लास सुताइसकेपछि पानी ख्वाउने प्रक्रिया सुरु हुन्छ र अस्पतालका लुगा फालेर अलि सफा भएको लासलाई फेरि फोहोर बनाइन्छ । ढल मिसिएर आएको पानी शुद्ध शरीरमा त्यो पनि मुखमा खन्याएर । एउटा यस्तो मान्छे पनि देख्यो उसले जसले गोजीबाट मिनरल वाटरको सिसी निकाल्यो र त्यो पानी लासको मुखमा खन्यायो । पहिले त उसलाई लागेको थियो, यो मान्छे निकै सफा सुग्घरी रहेछ । तर छेउमै गएर उसले फत्फताइरहेको सुनेपछि भने उसलाई निकै आश्चर्य
लागेको थियो । त्यो मान्छे मिनरल पानीको बोतल उसको मुखमा स्वात्त खन्याएर अलि आत्तिएझैँ जुरुक्क उठ्यो र चारैतिर पल्याकपुलुक हेरेपछि अलि ढुक्क भयो । राजुलाई त उसले मान्छे पनि गनेन । त्यतै वरिपरि घुमिरहने अघोरीजस्तो ठान्यो ।
ऊ फत्फताइरह्यो, ‘छिट्टै मरिस् । मूला ! सँगै बसेर धेरैपल्ट रक्सी खाइयो । अब मैले एक्लै रक्सी खानुपर्ने भयो । तँ मरेको सुनेर तैले एकपल्ट रक्सी लागेको बेला भनेको कुरा सम्झेँ, “म मरेपछि मेरो मुखमा आफन्तहरूले बागमतीको फोहोर पानी खन्याउने छन् । तैँले त्यो रोक्न त सक्दैनस् तर मरे पछि पनि तैँले नै मलाई वैतरणी पार गराउन सक्छस् । मेरो मुखमा लुकाएर भए पनि रक्सी नै खन्याउनु है ब्रह्मनालमा आएर । तेरा लागि एक बोतल रक्सी त किनेको थिएँ तर आधा त मैले नै रित्याएँ आधा तेरा लागि ल्याइदिएँ । अब स्वाट्ट पारिहाल् ।” यसो भन्दै त्यो मान्छे आँखाभरि आँसु पारेर रोइरहेको पनि देख्यो राजुले । धन्न वरिपरि घुमिरहेका पण्डित टाइपका घाटे ब्राह्मणहरूले याद गरेनन् ।
यस्ता थुप्रै घटनाको साक्षी छ– राजु भोटे । अहिले पनि ऊ यसरी नै रोएजस्तो नाटक गर्दै ब्रह्मनालमा सुताइरहेको लासलाई नियालिरहेछ । लासको मुखमा अँजुली भरेर उनका आफन्तहरूले बागमतीको बास्नादार पानी खन्याएका खन्याएकै छन् । धन्न लासलाई दुर्गन्धले छुँदैन क्यारे ! संसारका सबै कुराले छुने भए ऊ लास नै किन हुन्थ्यो होइन र ?
यसपछि भने राजु अलिक सतर्क हुनुपर्छ । अब सुरु हुनै लाग्यो उसको पैसा टिप्ने जागिर र त्यहाँबाट बाँसमा बाँधेर कयौँले ‘राम नाम सत्य हो’ भन्दै शङ्ख फुक्ने पण्डितको पछिपछि दौडँदै एक दुई रुपियाँ फाल्न थाल्छन् चारै दिशातिर । पहिला बजारमा एक, दुई रुपियाँ सुका मोहर प्रशस्तै थिए । मानिसहरू निस्फिक्री त्यही फाल्थे । आजभोलि भने त्यस्तो पैसा देख्नै गाह्रो भयो । त्यसैले मानिसहरू सुका, मोहर छाडेर ५, १० रुपियाँको नोट नै फाल्न थाले । लासको चारैतिर राजुकै परिवारका मानिस छन् । जता फाले पनि पैसा उसकै  । यसरी दिनभरि पैसा टिप्दा कहिलेकाहीँ पाँच सय/हजारसम्म हुने । महामारी भएर अलिक धेरै लासहरू आएका बेला अझ पैसा बढ्ने । दिनको ५००/१००० भएपछि अरू काम किन गर्ने होइन ? राजुकी सानी छोरी त यस्तो पैसा टिप्ने काममा यति पोख्त कि फाल्नासाथ टपाटप टिपिहाल्छे । कसैले हकार्न पनि नमिल्ने । एकै छिनमा लासलाई भर्खर भर्खर बनाइएको विद्युत् शवदाह गृहसम्म पु¥याउन्जेल छरेको पैसाले पनि राजुको गुजारा राम्रैसँग चलिरह्यो ।उसलाई यो काम त्यति नराम्रो पनि लागेन । सिंहदरबारको मन्त्रालय, संसद्मा बसेर टपाटप देशको पैसा टिप्नुभन्दा बरु यही काम निकै इज्जतदार लागिरह्यो उसलाई ।
हुन पनि लास जस्तो भइसकेकी देश रूपी आमाको लास वरिपरि बसेर रोएको नाटक गर्दै, मायाको नाटक गर्दै घरमा आएर महिनाको लाखौँ रुपियाँ गन्नुभन्दा यो निकै
परिश्रमको काम जस्तो लाग्छ उसलाई । एकछिन नदौडी एक पैसा हातमा आउने होइन । फेरि कहिलेकाहीँ आफूजस्तै पैसा टिप्ने प्रतिद्वन्द्वीलाई दाउखुट्टे लगाउन पनि मौका हेर्नैै प¥यो । यहाँ पनि कहाँ कम राजनीति छ र !
राजु भोटे आज निकै उदास छ । निकै दिनदेखि ऊ निकै उदास देखिएको छ । कारण के भने कोरोनाले मरेका मानिसहरू सब प्रहरीको जिम्मा लगाउन थालेका छन् आफन्तले । प्रहरीले एक पैसा फाल्ने होइनन् । दाउरा थुपारेर लासै जलाउने र भागिहाल्ने मात्र चिन्ता देखियो उनीहरूमा । आफन्तहरूलाई लास छुन र माला लगाउनसम्म गाह्रो भयो । कहाँ फाल्ने पैसा तिनले ? कयौँ आफन्त लास छुनै नपरे हुन्थ्यो जस्तो गर्न थालिसके । विगतमा कयौँ महिना लोडसेडिङले यो धन्दा पनि
राम्ररी चलेन उसको । घाटको छेउमै जिपबाट लास झार्ने र एकैपल्ट चितामा लास पु¥याइहाल्ने । आफन्तले दुईचार रुपियाँ फाल्ने मौकै नपाउने । थोत्रो लुगा जम्मा गरेर बजारमा बेच्ने काम मात्र गर्नुप¥यो राजु भोटेले ।
कहाँबाट आइपुगेछ यो कुलमान घिसिङ लोडसेडिङ निर्मूल गर्न । बिजुली ननिभ्ने भएपछि मानिसहरूले विद्युत् शवदाह गृहसम्मै लासलाई पु¥याउन थाले । त्यसो गर्दा ब्रह्नालदेखि दाह गृहसम्म लासलाई बाँसमा बोकेरै शङ्ख फुक्दै, पैसा छर्दै १०, १५ मिनेट भए पनि कुदाउनै पर्ने भयो । संस्कृति पनि जोगियो र केही ज्युँदाहरू पनि लास हुनबाट जोगिए । 

मधुपर्क, जेठ/असार २०७८

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?