logo
२०८१ असोज ४ शुक्रवार



कथा : हलखोर

कला |
फिचर |


कथा : हलखोर


राजेन्द्र विमल

त्यो रात ज्यानमारा जाडो थियो । एक त माघको महिना, त्यसमा झन् हुनहुन गरी बगेको पछिया हावा नाङ्गै नाच्तै थियो । सिङ्गो हलखोर बस्ती मिछ्याम्म थियो । स–साना बच्चाहरू आमाको करङमा टाँसिएर दच्किएका थिए । गाउँभन्दा बाहिर पोखरीको डिलमा रहेको यस बस्तीको कुनै–कुनै घरमा अझै घुर बलिरहेको थियो, जसका वरिपरि बूढाबूढी, युवायुवती र बालबच्चा झुरुप्प बसेर जिउ तताउने असफल प्रयास गर्दै थिए ।
भुलन हलखोर भर्खर मसानमा एउटा मुर्दा फालेर फर्किएको थियो । रेल्वे स्टेसनबाट मसानसम्म त्यो मोटे मुर्दालाई बोकेर लैजाँदा गाह्रो त भएको थियो तर पचास रुपियाँको हरियो नोटको लोभले त्यसमा बाटाभरि हिम्मत थप्तै गएको थियो । पचास रुपियाँ पचास वर्ष पहिले धेरै रकम हुन्थ्यो । त्यो रकमको तुलनामा त्यसको परिश्रम केही थिएन– चिसो लासलाई काँधमा बोक्नु र कुद्दै गएर तिरहुतिया गाछीको मसानमा फालेर आउनु । हरिया–हरिया पचास रुपियाँका नोटले गोजी तताएर कुद्नु । आज त झन् उसलाई चिरा परेको थियो–
मुर्दाको नाडीमा घडी पनि बाँधिएको थियो– सावर प्राइमा । अरू दिन भएको भए कुनै न कुनै सिपाही वा सरकारी
कर्मचारीले खानतलासी गरी मुर्दाका सबै बहुमूल्य सामान, रुपियाँ–पैसा गुमुक्र्याएर लुस्स हिँडिसकेका हुन्थे तर आज उसको पुर्पुरोलाई कसैले धोका दिन सकेको थिएन । उसका आँखा अँध्यारोमा पनि जूनकीरीझैँ चम्केका थिए– साइबर प्राइमा । नयैँ थियो क्यार ! मुर्दा पनि त जवानै थियो । उसको मुटु मुर्दालाई देखेर रोएन, घडीलाई देखेर उफ्रिन थाल्यो ।
भुलनकी जहान र बच्चाहरू जागेसर मालिकको सराद्धेमा फालिएका जुठा पत्तलहरू सोहोरेर अहिल्यै आएका थिए र बाँकी रहेका जुठा खाने कुराहरू टकटक्याएर ठूलो थालमा थुपारिसकेका थिए । सबैले जत्ति खान सके खाए– छाडिदिएका रसबरीका टुक्रा, गिजल–गाजल पारिएका दही–पुरी, किचिमिची पारिएका जिलेबीहरू, अचार खाएर शेष रहेका छोक्राछोक्रीहरू । बाँकी भोलि–पर्सि काम लाग्छन् । ‘भोजका यी अमृत चाखेर सबै कति रमाएका होलान्’– सोच्छ भुलन– ‘धनीहरूको कुरै बेग्लै, जहिले मन लाग्यो धित मर्ने गरी रसबरी, गुलाबजामुन, रसमलाई जे पनि खान पाउँछन् । यहाँ निस्तो भातमा पनि आपत् छ ।’ त्यहाँ डोमहरूसित हलखोरका छोराछोरीको ठूलो झगडा परेको थियो । जागेसर मालिक चनरदेव मरिकको मौजाभित्र पर्छन् । डोमहरूका पनि छुट्टा–छुट्टै जमिनदारहरूका जस्तै मौजा हुँदा रहेछन् । त्यसैले चनरदेवको परिवार र नातागोताका मानिस भुलनको परिवारमाथि जाइलागेका थिए । झगडाकै बीचमा भुलनका छोरीहरू जुठा पातहरू बटुलेर
राखेका ढक्कीहरू लिएर भाग्नुपरेको थियो ।
भुलनलाई म त्यस बेलादेखि चिन्छु, जुन बेला ऊ टिनमा जम्मा भएको हाम्रो घरको पाइखाना टाउकोमा बोकेर बाह्रबिघाको पैनीमा फाल्ने गथ्र्यो । खुला खेतहरूमा बस्ती बसिसकेपछि मेरा पिताले पनि हाम्रो करेसाबारीको एक कुनामा खाल्डो खनेर, काठको ढोका लगाई एउटा मामुली पाइखाना टट्टी बनाउनुुभयो । खाल्डोमाथि
सिमेन्टीले सिट बनाइएको हुन्थ्यो र सिटमुनि पाइखाना जम्मा हुने टिन हुन्थ्यो, जसलाई झिक्न पछाडिबाट एउटा सानो ढोका बनाइएको थियो ।
मेरा पिताजी जानकी मन्दिरमा पटवारी हुनुहुन्थ्यो, धार्मिक र कट्टर पुरातनपन्थी । खाली समयमा तमसुक, फिरादपत्र, मुद्दा, बकपत्र, निवेदन आदि लेख्नुहुन्थ्यो । टोल छिमेकका मानिसले वकिल साप भन्थे, सम्मान गर्थे । आफू धेरै पढेलेखेको नभए पनि मलाई बीएसम्म पढाउनुभयो । मैले एसएलसी गर्नुभन्दा तीन–चार वर्षपहिले मात्र गाउँमा कलेज खुलेको थियो, हाम्रो भाग्यले । भाग्यले नजिककै गाउँ खजुरीमा हेडमास्टरको जागिर पनि पाएँ । आफूले पाउने महिनावारी तलबको एक–एक पैसा गनेर आमालाई दिन्थेँ । श्रीमती र ससुरालीका मानिस रिसाउँथे, आफूले कमाएको पैसा आमालाई दिने मान्छेले बिहा किन गर्नु ? मसित प्रश्न गर्थे ।
मैले एउटा मेसो झिकेँ । स्कुलको पुस्तकालयका लागि केही पुस्तक किनेँ र त्यसमा दुई सय रुपियाँँको घपला गरेँ, पसलेसित कमिसन लिएर । दुई सयको ढ्याकै ढ्याक दियो पुस्तक भण्डारले । गम्छामा बाँधेर झोलामा हालेँ र घर पुगेँ । लुकेर श्रीमतीलाई दिएँ । त्यति पैसा पहिलो चोटि हातमा परेको हुनाले उनी दङ्ग परिन् । तर भोलिपल्टै घरमा एउटा हुरी चल्यो । बाको गोजीबाट दाजुभाइमध्ये कसैले एक सय जति रुपियाँँ उडाइदिएछ । बा रिसले थर्थर काम्न थाल्नुभयो । आमाले सबैका पेटी–बाकसको तलासी लिने प्रस्ताव राख्नुभयो । अझ के पनि भन्नुभयो भने जसको बाकसबाट पैसा निस्किन्छ, त्यसलाई पुलिस थाना लैजाने र पक्रिन लाउने । मेरी श्रीमती बिहा गरेर आएको छ महिना पनि बितेको थिएन । उनी डराइन्, कतै मैले दिएको पैसालाई नै घरका सबैले बाको पैसा हो भन्ने ठहर गरिदिए त थानै जानुपर्ने भयो । हाम्रो कुरा कसले पत्याउँछ ! उनी हुरीमा पीपलको पातझैँ काम्न थालिन् । डराएर मैले दिएको गम्छाको रुपियाँ लिएर लुक्तै गइन् र पाइखानाको टिनमा खन्याइदिइछन् ।
म दिनहुँ फुटबल अभ्यासका लागि बिहान सात बजे बाह्रबिघा मैदानमा पुग्ने गर्थें । त्यो दिन अलिक ढिलो भयो । जब पैनीनेर पुगेँ, एउटा बीभत्स दृश्य देखेँ, जसले हृदय पनि द्रवित भयो र बान्ता आउलाजस्तो पनि भयो । भुलन मेरै घरको कनस्तरबाट पाइखाना ल्वातल्वाती खन्याउँदै थियो र पाइखानासँगै रुपियाँँका ढ्याकहरू झर्दै थिए । कनस्तरभरि गुहु लत्पतिएका चाँदीजस्ता सिक्काहरू । भुलनका आँखामा हजारौँ जूनकीरीहरू नाच्तै थिए । त्यसले तल पूरै दिसा झारिसकेपछि त्यसभित्र दुवै हात गाड्यो र छामी–छामी एक–एक सिक्का झिक्न थाल्यो । त्यो दिन पहिलो चोटि गाउँबाट बाहिर निष्कासित गरिएको डोम–बस्तीप्रति मेरो हृदयमा टिठ पलाएर आएको थियो । तर, यो पहिल्याउन ढिलो भएन, यी त मैले नै खजुरी
स्कुलबाट ल्याएका सिक्काहरू थिए । लौ, मेरी सोझी श्रीमतीले के गरी यत्रो ठूलो रकम पाइखानाको टिनमा खसालेकी होलिन् ! अचम्म लाग्यो । मेरो दिमागमा भुलन दाइले मानव मललाई दही मुछेको जस्तो गरी गिजोलेको दृश्य अहिलेसम्म रुमल्लिँदै छ ।
रेल्वे स्टेसनको मुर्दा मसानमा फालेर भुलन अहिले भुसुक्क निदाएको मात्र के थियो, घरबाहिर कोही कराउन थाल्यो, ‘भुलन ! ए भुलन !!..’ भुलनले आँखा खोल्यो । बुझिहाल्यो, यो थाना इन्चार्जको आवाज हो । फेरि कुनै लावारिस लास फेला प¥यो होला । माघ महिनाको यस्तो ठिहीमा उठेर हिँड्ने हिम्मत आउँदैनथ्यो । तर स्वर वर–वर आउँदै थियो । कसैले लठ्ठी लिएर उसको ढोकामा हिर्काउन थालेको थियो । भुलन जोरले खोक्यो ।
‘को ?’ भुलनले सोध्यो ।
‘छिटो खोल् । म हुँ माधो सिंह, थाना इन्चार्ज ।’ उसले ढोका खोल्यो । तीनवटै छोरी र उसकी बूढीले कल्याङमल्याङ गर्न थालेका थिए ।
‘के छ मालिक ?’
‘छिटो हिँड् । अस्पतालमा एउटा बाबाजी मरेको छ । वारिस कोही छैन ।’
‘ज्वरो आएको छ मालिक । भोलि गए हुन्न ?’
‘उठ् मुला । तुरुन्त उठिहाल् । त्यहाँ रोगीहरू
तर्सिएर बसेका छन् । अस्पतालमा मुर्दा राख्ने ठाउँ छैन भन्ने तँलाई थाहा छैन ?’
भुलनले आलटाल गर्न खोज्यो । माधो सिंहले उसको मनसाय थाहा पायो । कड्केर बोल्यो, ‘साले, हिँड्छस् कि डन्डा खान्छस् ?’
‘होइन मालिक । जान्छु । दस रुपियाँँ अलिक बढी मिलाइदिनुहोला । यस्तो जाडो छ...!’
भुलन माधो सिंहको पछि–पछि लाग्यो ।
यस्तो त दिनहुँ हुन्छ । लावारिस मुर्दा फाल्नु उसको पेसा हो । जब टिपर वा ट्रकको ठक्करले मान्छे मथ्र्यो र सनाखत हुन पाउँदैनथ्यो, उसको घरमा खुसियाली मनाइन्थ्यो । यता केही वर्षदेखि नेपालमा दुर्घटनाहरूको सङ्ख्या बढेको छ र यसमा परिवारका परिवार सखाप भएका छन् । गाउँका गाउँ, टोलका टोल आँसुमा डुबेको बेला पनि भुलनकी श्रीमती चुल्हिया, उसका छोरीहरू सुगावती, मैनावती र बुलबुलवती मनमनै रमाइरहेका हुन्छन् । चुल्हियाको तर्क छ, ‘यी नेताहरू पनि त मान्छे मारेर नै मन्त्री भएका हुन् ।’ भुलनको चिन्ता अर्कै छ । यी छोरीहरू एक दिन आआफ्ना घर गइहाल्छन् । भगवान्ले छोरो दिएनन् । कथंकदाचित बूढीभन्दा पहिले म नै संसारबाट गएँ भने यो पेसा समाल्ने कोही हुँदैन, बूढीलाई कसले पाल्छ ? फेरि सोच्छ भुलन, ‘अब यो पेसा थोरै चल्छ । हलखोरका छोराछोरीहरू पनि अब स्कुल–क्याम्पस जान्छन् । अब त मसानमा मुर्दा जलाउन आगो बेच्ने डोम पनि पाउन गाह्रो पर्ला ।’
भुलनकै जीवनमा आखिर त्यो दिन आयो । उसका तीनै छोरीको विवाह भयो र ती आ–आफ्ना घर गए । सहरको विकास भयो । पाइखाना टट्टीमा कनस्तर राख्ने चलन हरायो । डोम समाजका अगुवाहरू पाइखाना फाल्ने पेसाको विरोधमा उत्रिए । धेरै डोम युवा–युवती स्कुल र क्याम्पस जान थाले । भुलनबाहेक यस सहरमा मुर्दा फाल्ने कोही थिएन । चमारहरू मुर्दा पशु पनि फाल्न तयार थिएनन् र यो काम पनि भुलनले पायो । उसले आफ्नो पारिश्रमिक ह्वात्तै बढायो । कसैका भैँसी, गाई, कुकुर मर्दा पनि त्यसलाई भुलन र उसकी बूढीले घिसार्दै मसानमा फालेर आउँथे । जनकपुर जब गाउँ पञ्चायतबाट नगरपालिकामा विकसित भयो, नगर सफाइका लागि डोम–हलखोरको खोजी हुन थाल्यो । कार्यालयहरूलाई पनि सफाइ कर्मचारीको आवश्यकता भयो । नयाँ जमानाका डोम युवाहरू अब मसानमा फालिएका लुगाफाटा, चितामा जलेर निभेका अगुल्टाहरू, गरगहना आदि
बटुल्ने कार्यलाई घृणा गर्न थाले । स्वाभिमानले भरिँदै गए । स्कुलमा तिनलाई छुट्टै बेन्चमा राखिन्थ्यो । कसैले घरमा छिर्न दिँदैनथ्यो । डोम युवा डाक्टर, इन्जिनियर जे भए पनि हलखोरहरू अछूतका अछूत नै रहने भए । समाजको संस्कारमा युगौँदेखि सञ्चित रहेको डोमप्रतिको घृणा–
भावको विषाक्त दुर्गन्ध जति थिचेर राखे पनि समाजको व्यवहारमा सहजै विस्फोटित भएर आउँथ्यो । हलखोर
टोलको एउटा विद्यार्थीले एक दिन किरानी सरलाई भन्यो, ‘सर, हामीले गृहकार्य गरेर ल्याएको कपी पनि परैबाट
टेबुलमा राख्नुपर्ने, गुरुलाई पनि खुट्टामा ढोग्न नपाउने तर हामीले तिरेको पैसा चाहिँ सरहरूले खुरुखुरु गोजीमा हाल्न मिल्ने, यस्तो चलनको विरोध पढेलेखेकाहरूले पनि किन गर्दैनन् ?’ यस प्रश्नको उत्तर माड्सापले बरामदामा लगी उसलाई दुई घन्टासम्म चर्को घाममा मुर्गा बनाएर दिए । हेडसरले पढाइभन्दा बढी उसलाई आफ्ना गाईवस्तुका लागि घाँस र स्याउला काट्ने काममा लगाउँथे ।
भुलन बूढो भयो । छोरो थिएन । गठिया र बातरसले धेरे वर्षसम्म थलियो । कुन–कुन रोगले गाँज्यो, उसलाई के थाहा ! इलाज गराउन पाए पो ! उसलाई यत्ति मात्र थाहा छ, ऊ उभिन सक्तैन, काम गर्दा हात–गोडा काम्छन् । सबै अङ्गले काम गर्न छाडे । मृत्यु उसको नजिक छ ।.. र, यो सबै ईश्वरको लीला हो । त्यसै ईश्वरको लीलाले एक दिन ऊसित उसकी बूढीलाई पनि खोसेर लग्यो । अस्ति उसको देब्रे छाती बेस्सरी दुख्न थालेको थियो । टोलका मानिसले बोकेर जानकी अस्पताल पु¥याइदिए । यो त्यही अस्पताल हो, जहाँबाट उसले सयौँ लावारिस मुर्दालाई मसानमा
पु¥याएको होला । र, आज राति उसको मृत्यु भयो ।
भुलन आज लासमा परिवर्तित भएको छ । ऊ लावारिस लास हो । अब हलखोर टोलमा लावारिस लास फाल्ने कुनै मान्छे छैन । हजारौँ लावारिस लास फाल्ने मान्छे आफैँ मर्दा उसको लास फाल्ने मान्छे यो सहरमा छैन आज । सम्भवतः नगरपालिकाको गाडी आउँछ र त्यसैमा हालेर मसानमा पु¥याइदिन्छ, जुन ट्रकमा अनेकौँ मरेका कुकुर र भैँसी हुन्छन् ।

मधुपर्क, जेठ /असार २०७८

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?