logo
२०८१ मंसिर ८ शनिवार



पैठार

कला |


पैठार


अप्सना चौलागाईं

मस्तिष्कको एक तह जो दबिएको मनोभावना र अनावश्यक आग्रह वा स्मृतिसँग सम्बन्धित छ । त्यो तह जसलाई ‘अवचेतना’ भनिन्छ, मात्र त्यसलाई मेरो आधा रातको सपना थाहा छ । ज्वरोको लामो सिलसिलापश्चात् म आफूलाई एउटा निरीह प्राणीबाहेक केही पाउँदिनँ । लाग्छ, मेरा स्फूर्तिहरू वस्तुमा केन्द्रीकृत नहुँदै सेलाइ सक्छन् । हेमन्तको सिरेटोमा झुमिरहेका नग्न बोटको स्पर्श मेरो इन्द्रियबाट भागिदिन्छ र प्रत्येक पल्ट म जमिनमै छुटिन्छु । कुनै पनि संवेदनापूर्ण प्रस्तुत गर्न नपाउँदै टुक्रिदिन्छन् । लाग्न थाल्छ, म संसारको अधिकतम समयभन्दा ढिला हिँडिरहेको छु । एक खाले वियोको उदासीनता मेरो कोषिकामा समेटिन्छ । म जति कोसिस गरौँ, हृदय मान्न तयार हुँदैन कि म स्वस्थ भइसकें । (यसैबीच मेरो स्वामित्व, व्यक्तित्व र चेतना केही विकसित हुन्छ, केही परिमार्जित हुन्छ र मेरो उमेर १६ पुगिदिन्छ ।)
अस्वस्थ अवस्थाको एउटा सपना म झलझली सम्झन्छु । त्यस प्रकारको सपना बिरामी हुँदा सामान्य हो भनेर आमाले भन्नुभएको थियो । निद्राको बेला, मेरो खाट नजिक कोही आइरहेको हुन्थ्यो । म बन्द आँखाबाटै चाल पाउँथे कि ऊ कुनै अपरिचित नारी हो । म कल्पन्थे, लामो कपाल र सेतो सारी । तर उसको आकृति सधैँ छेकिएको हुन्थ्यो ।
अन्य ऐठनझैँ जस्तो यो भयपूर्ण थिएन । यस सपनाबाट म झस्किएर उठ्दिन थिएँ । ममा बिस्तारै चेतनाको सञ्चार हुन्थ्यो र म यी सबैको अर्थ केलाउँथे । त्यो आकृतिले मलाई किन व्याकुल बनाउँदैन ? मेरो मस्तिष्क ऊबाट किन सतर्क हुन खोज्दैन ? ऊ केवल आउँथी र एकनास मलाई नियाल्थी... मैले यति मात्र महसुस गरेँ ।
आमाको ऐठनबारे एउटै धारणा थियो, शरीरले आत्माको रक्षा गर्छ र जब शरीर कमजोर हुन्छ, उसको आत्मालाई चोर्न पिशाच वा डायनहरू आउँछन् । आत्मा शाश्वत हुन्छ र त्यसलाई चोरेर तिनहरू वर्षौंसम्म बाँच्न चाहन्छन् । सुत्नुअघि धुप बाल्नु र सिरानी मुनि हनुमान चालिसा र धारिलो बस्तु राख्नु, केही हँुदैन ।
तर त्यो छायाले जति बोलाए पनि तिमी उसको पछि नजानु । आमाले अडिग भएर भन्नुभएको थियो ।
मैले उहाँको पालना गरे, बिरामी रहुन्जेल । त्यसपछि मलाई लाग्यो, मेरो रासायनिक तìवहरू आफूलाई जोगाउन पर्याप्त छन् । यधपि म त्यस नारीको कालो आकृतिप्रति उत्सुक थिएँ । चाहे त्यो मेरो कल्पना नै होस् तर म ती अनौठो अनुभूतिप्रति शुष्क तवरले प्रलोभित हुँदै थिए । यो घर, यो रछ्यान जहाँ मैले दिनहरू केवल दोहो¥याएर बाँचेको छु, जहाँ विगतको सङ्ग्रहालय प्रेरणाहीन भइहेका थिए । म यी सबैबाट विरक्तिएको थिएँ । सायद, त्यो छायासँग केही पनि छैन । तर म भाग्न चाहन्थेँ मात्र थोरै उम्कन चाहन्थेँ ।
धुप सल्काइनँ, सिरानीमुनिबाट किताब र औजार निकालिदिएँ । ओछ्यानमा पल्टिएर निदाउने प्रयास गरिरहेँ । त्यो सायद औँसीको रात थियो, निकै निकै अँध्यारो । स्वस्थ हुँदा पनि ऊ आउने छे भन्नेमा म सशङ्कित थिएँ । केही समयपछि लाग्यो, कोही मतर्फ सरिरहेको छ । उसमा कुनै सुगन्ध वा आयतनको सङ्केत थिएन । मेरो भौतिक आँखा बन्द थियो र मलाई ज्ञान थियो कि यो केवल भ्रम हो । मैले उसको अनुहार र आकार समेट्न खोजें तर तिनले मूर्त रूप लिएन । ऊ मेरो एकदम नजिक आउँछे र मेरो हात समात्छे । भावशून्य त्यस स्पर्शले मलाई खाटबाट ओराल्छ । म उसको इसारामा बिस्तारै ढोकातर्फ लम्कन्छु । अझै पनि मेरो निद्राले घेरा तोडेको थिएन । ढोकाको देहरी काट्न लाग्दा अचानक खाट छेउको झ्यालको सिसा हल्लिन थाल्छन् । बाहिरबाट हावाले जोडसँग खट्खटाए जस्तो । म पछाडि फर्किन्छु । त्यस गाढा अँध्यारोमा मभित्र भय र सन्देह जमिदिन्छ । मलाई लाग्छ, खाटमा अरू कसैको शरीर सुतिरहेको छ । त्यति नै खेर त्यस हातले मलाई अगाडि तान्न खोज्छ । म त्यस शरीरलाई चिन्न खोज्छु तर दृष्टि स्पष्ट रहँदैन । झ्यालका सिसाहरू झनै जोडजोडले थर्थराउँछन् । हातको कस झनै तगडा हुन्छ । म व्याकुलताले लामो सास फेरिरहेको हुन्छु । खुट्टा त्यहीँ अड्याउन खोज्छु । एकैछिनमा मेरो हात छुट्छ, आवाज रोकिन्छ र म बिउँझिन्छु ।
यति चाँडै यो घटना सकिसकेको थियो कि मैले त्यहाँ कुनै प्रयोजन गर्न वा निर्णय लिनै पाइनँ । त्यो घटना मात्र घटिदियो ।
बिहानको घाम झुल्किनुअघिको फिक्का रङ कोठामा चढ्न थालिसकेको थियो । सपनाको भयलाई अङ्कित गर्ने कोठामा केही थिएन । नव हावाको निम्ति मैले कोठाको झ्याल खोलेँ । इन्द्रावतीको प्रवाह यथावत सुनिन्थ्यो । त्यसबाहेक कुहिरोका पत्रहरू म्याजिकल स्पेलझैँ मन्दमन्द तैरिरहेका थिए । त्यसै पत्रको एक टुक्रा मेरो अनुहारमा टासिँदै कोठाभित्र छिर्दा मैले झ्यालमुनि मृत पुतली देखें... माटो रङको प्वाँख र त्यसैको छेउ सानो कालो रङको गोलो भएको साधारण पुतली ।
हावाको बहावले त्यस न्यून अप्राणलाई उडाइलग्नु पर्ने हो । मैले त्यस पुतलीलाई भुइँबाट उठाएँ र झ्याल लगाइदिएँ । हातमा राखेर त्यसलाई जाँच्ने थालेँ । ऊ रातको निरवतामा दिशाहीन भड्किरहेकी थिई । बिहानको झिसमिसे ज्योति देख्नुअघि नै ऊ अचल भइसकी । उसको अर्ध खोलिएको प्वाँख मानौँ भनिरहेका छन्, उसले आफ्नो अन्तिम उडान भर्न अझै बाँकी छ । कताकता लाग्यो, ऊ मेरो जिउँदोपनलाई चुनौती दिइरहेकी छे । भनिरहेकी छे कि म अझै पनि शक्त छु, आफ्नो सत्यलाई पहिल्याउन, आफूलाई औचित्य दिन, जसरी म पनि मुक्त हुन सक्छु । मलाई भाउन्न होलाजस्तो भयो । म उसलाई टेबलमा छोडेर बाहिर गएँ, यो कामना गर्दै कि ऊ त्यहीँबाट विलाप भइदियोस् ।
घरमा आमा र बुबा सुतिरहनुभएको थियो । आफैमा केही मूल्याङ्कन गर्ने निहुँमा म बिरानस्थलको खोजीमा निस्किएँ । चौताराको बाटो हुँदै ढुङ्गेधारातर्फ मोडिएँ । सल्लाघारी र कार्यालयबीचको बाटोमा म थामिएँ । मेरासामु भिषण पहिरो गइरहेको थियो । प्राकृतिक प्रकोपलाई यति नजिकबाट मैले पहिलो पटक देखेको थिएँ । एकैछिन मैले अपलक त्यस भेललाई हेरिरहँे । रुखहरू लडिरेका थिए, माटो खस्किरहेको थियो, पहाड फुटिरहेको थियो । मलाई म उभिएको भूगोल कमजोर लाग्न थाल्यो । बिना कुनै विचार म त्यहाँबाट भाग्न थालेँ.. म मात्र भागिरहेँ । म अज्ञात बाटोतर्फ मोडिएँ, मेरा पैताला अनिश्चिततातर्फ बढ्न थाले ।
बुझ्दैनन् भावना प्रगाढ हुन्छन् कहिले
यादहरू, पल्लो कोठामै जमातमा बसेकै छन्
गर्जिंदैछ बाढी, यहाँ नदीमा तैरिनु त छँदै छ...
के यही ध्वनिले मलाई बिउँझाएको थियो वा गोडाको चोटले ? म कुनै समतल जमिनमा लम्पसार थिएँ र मेरो समीप यौटा नारी यही गीत गुन्गुनाइरहेकी थिई । लागेको थियो, ऊ अन्य कार्यलाई बिर्सिएर यहाँ उद्देश्यहीन बसिरहेकी थिई । होस समातेपछि मैले वरपर नियालेँ । मलिलो माटोका थुप्राहरू जताततै जम्मा भएका थिए । टाढासम्म वनजङ्गलको एकरूपता देखिन्थ्यो । त्यस स्त्रीले एकदम शान्त र सङ्कलित आँखा लिएर मलाई हेरी । उसको शरीरमा मेरो आँखा दौडियो– सुकिलो जिउडाल र अनुहारको कान्तिले बताउँथ्यो ऊ किशोरी नै छे, करिब १९ वर्षकी । प्रष्टै थियो, ऊ गर्भवती थिई ।
“तिम्रो नाम के हो ?” उसले जिज्ञासा पोखी ।
“श्रवज ।”
मैले झट्टै सोधिहालेँ, “यहाँ पहिरो गएको थियो ?”
“अँ, तिमी जुन ठाउँमा निदाइरहेको थियौँ, त्यहाँ पालाकी देवीको मन्दिर थियो । पहिरोले मन्दिर पनि भत्कायो र त्यहाँको प्रतिमा पनि बगायो । हामी त्यसैलाई खोजिरहेका छौँ ।”
पहिरो ठूलै गएको अनुमान गरेँ तर उसको भावमा कुनै अत्यास थिएन । ऊ हरेक ढाँचाबाट सामान्य देखिन्थी । रातो कुर्ता, सेतो सुरुवाल र रातै सल... उसमा कुनै शृङ्गार थिएन । म उठ्न खोजेँ तर गोडाको घाउ चर्चराउन थालिरह्यो । निसङ्कोच उसले मलाई कुमको साहारा दिएर उठाई ।
“तिम्रो घर कता हो ?” उसले प्रश्न गरी ।
“इन्द्रावती खोला छेउ ।”
“त्यो त निकै टाढा छ यहाँभन्दा, अहिले बाटो पनि बिग्रेको छ ।”
उसले मलाई अन्योल पारामा हेरी  । “अब तिमी के गर्छौ ?”
म साँच्चै विकल्पहीन भएँ । म यहाँ कसरी आइपुगेँ र अब म कता जान सक्छु ? ठेगानाविहीन रहनुले मलाई सताउन थाल्यो । कहीँ त बास लिनुपर्छ, गोडाको घाउ झनै बल्झिरहेको थियो ।
उसमा सायद करुणाको अङ्कुरण भइदियो ।
उसले भनी, “मेरो घर नजिकै छ । तिमी त्यहाँ बस्नु । तिम्रो घरमा चाँडै कसैलाई खबर पठाइदिउँला ।”
अन्य कुनै बहाना थिएन । मैले उसको प्रस्ताव स्वीकार गरिदिएँ । पाइला फेर्नुअघि उसले भनी, “पहिला पैतालाको टीका लगाऊ ।”
“किन ?”
“किनकि यो मलामी लाने बाटो हो ।” उसले सहज उत्तर दिई ।
बाटोमा मैले उसको नाम सोधेँ ।
“निहारिका” उसले दबिएको स्वरमा भनी ।
वगनविलासको फैलावटले घरलाई ग्रहणीय बनाएको थियो । बगैँचे फूलहरू आँगनको कुनातिर झुम्मिरहेका थिए । तुलसीको मोठ पोतिएको थियो । सेलोरिया र बारहमासीको गाढा रङले परिवेश झनै जीवन्त देखिन्थ्यो । माटो, काठ र खरको सहायतामा बनेको दुईतले घर थियो त्यो । मकैको घोगा दलिनमा झुन्डिरहेका थिए र कुभिन्डोहरू घाममा नुहाइरहेका थिए । तिहारमा बासी सामग्री यताउता भेटिन्थे । त्यसै घरको बैठक कोठामा मलाई छोडिदिएर निहारिका कतै गइसकेकी थिई । केही बेरमा एक जना हजुरआमा त्यहाँ आउनुभयो । उनको हातमा औषधि र ब्यान्डेज थियो । मेरो गोडालाई मलमपट्टी गर्दै गर्दा हामीले केही कुराकानी ग¥यौँ ।
नरम बोलीमा उहाँले भन्नुभएको थियो, “तीन दिन जति लाग्छ होला अलिक निको हुन । त्यतिन्जेल तिमी यहाँ बस्दा हुन्छ । हामी थोरै छौँ ।”
काम सकिएपछि उहाँ मेरोअघि चुपचाप बस्नुभयो । मैले बिस्तारै कोठालाई छाम्न थालें । जति हेरे पनि लाग्थ्यो, यहाँ केही कमी पक्कै छ । कोठामा केही अपूरो छ, केही खाली छ । साँच्चै त्यहाँ कुनै तस्बिर झुन्डिएको थिएन । कुनै विद्युतीय यन्त्र छैन, भित्तेपात्रो वा चिनारी छैन । (साधारण सोफा, टेबल, फूलदान, पुरानो दराज, धुलोको लेप लागेका किताबहरू ।)
मैले कौतुहलवश सोधेँ, “यहाँ किन कुनै तस्बिर वा अरू यन्त्र छैन ?”
हजुरआमाको नजर रित्तो भित्तामा अडियो ।
“किनकि तिनले स्मृतिको महिमालाई घटाउँछ ।”
“स्मृतिको महिमा ?”
“तस्बिरले पलहरूलाई थुनिदिन्छ । कुनै पल कसैका लागि महìव छ भने उसले त्यसलाई कहिल्यै बिर्सिंदैन । त्यसलाई धुमिल हुन वा मेटिन दिँदैन । फोटोहरू विगतको चिन्ह मात्र हुन् र प्रत्येक मान्छेको विगत उसँगै जल्नुपर्छ ।”
उहाँको कुरा मैले बुझिनँ । सायद यस कारण कि विगत मेरा लागि त्यति टाढा छैन र बोझिलो छैन ।
उहाँले थप्नुभयो, “वृद्धावस्थामा कहिलेकाहीँ यस्तो लाग्छ कि तिमीमा अब कसैलाई प्रेम गर्ने सामथ्र्य छैन, तिमीमा अब कसैलाई पाउने अधैर्य छैन । तब तिमी केवल ती सारा रुमानी सम्झनालाई कुनै सन्दुकमा समेट्न सक्छौ । त्यसलाई त्यहीँ छोडिदिने र कहिल्यै स्पर्श नगर्ने वाचा गर्न सक्छौ ।”
उनको कुरा मेरा निम्ति असान्दर्भिक थिए । मैले थाहा पाइनँ, उहाँ भित्रभित्रै सन्तुष्ट हुनुहुन्छ वा हुनुहुन्न ।
त्यस दिनको मध्याह्न यत्तिकै बितिगयो । निहारिकाले पिँढीमा सुकुल ओछ्याइदिई र म खुट्टा सम्हाल्दै त्यहाँ बसिरहेँ । गुणकेशरी र गोदावरीको फूलमा भमरा झुमिरह्यो र म निहारिकाको शान्त स्वभाव र हजुरआमाको घरायसी कुरामा झुमिरहँे ।
साँझपख एक अधबैँसे महिला सरासर घरभित्र प्रवेश गरिन् । मैले उनको पहिचान पाइहालेँ । उहाँ नै यस घरको ठूली बुहारी हुनुहुन्थ्यो । रुद्राक्षको व्यवसाय र यो घरको आर्थिक मामिला उहाँले नै सम्हाल्नु हुन्थ्यो ।
म अज्ञानमा नै कुनै लोग्ने मान्छेको प्रतीक्षा गरिरहें । तर खाने बेलासम्म नि त्यस्तो कुनै जानकारी आएन । घरको ठूली बुहारीलाई मैले ठूलो आमा भन्न थालेँ । उहाँले मलाई घरमा हुलाकीमार्फत सन्देश पठाइदिने आश्वासन दिनुभयो ।
ती स्त्रीबीच म असहज भइरहेँ । म जति कोसिस गरौँ, म त्यहाँ नौलो थिएँ, बाहिरिया थिएँ । नारित्वको अभिमानले सिर्जना गरेको त्यस परिवारमा म पक्कै अटाउँदिनँ । रगतको नाता नभए पनि ती बीचको पारिवारिक सङ्घर्ष बुझ्न सकिन्थ्यो । परिवार जहाँ एकअर्काको कमजोर, रहस्यको दोषभाव जोडिएको हुन्छ । जहाँ नकारात्मकता, स्वभाव, प्रेम इत्यादिले प्रथम र प्रमुख धरातल पाउँछ, तीबीच त्यस्तै थियो ।
कुरैकुरामा ठूलीआमाले मलाई सोध्नुभयो, “हाम्रो मन्दिरको किंवदन्ती तिमीलाई थाहा छ ?”
मैले थाहा नभएको बताएँ ।
संवाद त्यहीँ थामियो । हामी धन्दा गर्न लाग्यौँ ।
निहारिकाले अगेना छेउ खुट्टा सेकाउने प्रबन्ध मिलाइदिई । त्यहाँ उसले फेरि त्यही प्रश्न दोहो¥याई र मैले फेरि त्यस किंवदन्तीबारे केही थाहा नभएको भनेँ ।
“सुन्न चाहन्छौँ ?”, उसले सोधी ।
“चाहन्छु,” मैले ऊतर्फ ध्यानाकर्षण गरेँ ।
“यो किंवदन्ती लगभग १५० वर्षअघिको हो, जतिबेला देउकी प्रथा एकदम प्रचलित थियो । तिमी आज जहाँ भेटियौ त्यहाँ पालाकी देवीको मन्दिर थियो । एउटा सामन्तले सन्तानको अपेक्षामा किराँती चेलीलाई त्यहाँ चढाएको थियो । भनिन्थ्यो, त्यो केटी एकदम स्निग्ध र सुन्दर थिइन् । उसमा कुनै उच्छृङ्खल वा अव्यावहारिकपन थिएन । उसलाई चढाएको फलस्वरूप सामन्तको छोरो जन्मियो । उसले अथाह सम्पत्ति जोड्यो । यो डरले कि त्यस किशोरीलाई कसैले अपवित्र बनाइदिन्छ वा ऊ आफै भागिदिन्छे, सामन्तले मन्दिरको सुरक्षा झनै कडा गरिदियो । तर त्यो किशोरी देवीभक्त थिइन् । ऊ पूजा प्रार्थनामा उत्सर्जित थिई, आफ्नो कार्यप्रति निष्ठावान् । पछि जब किशोरी हुर्किंदै गई र पूर्णतः नारी भई, सामन्तले उसलाई मन्दिरबाट स्वेच्छा जान पाउने निर्णय सुनायो । तर उसले मन्दिरमा नै बस्ने प्रतिबद्धता देखाई । यो देखेर देवी एकदमै प्रसन्न हुनुभयो । अनुश्रुतिअनुसार त्यस रात देवी उसको सपनामा आउनुभयो र उनले देवकीलाई कुनै वरदान माग्न भन्नुभयो । देवकीले एउटा बच्चाको इच्छा भएको तर आफू पुरुषद्वारा अछुत नै रहने बताइन् । पालाकी देवीमा माटो शक्ति विद्यमान थियो । त्यसैले उनले माटोबाट मानव शिशुको उत्पादन गर्नुभयो र त्यसमा प्राण भर्नुभयो । बिहान मन्दिरको द्वारमा टोकरीभित्र सानो कोखे बालक भेटियो । भगवान्को आशीर्वाद सम्झिएर देउकीले उसलाई आफै पालनपोषण गर्न थाली । आफ्नै दूध चुसाएर र आफैसँग सुताएर एउटा सामान्य बालक सरह उसलाई हुर्काउन थाली ।
तर त्यस बालकको स्वभाव साधारण थिएन । जब उसको जन्म नै अप्राकृतिक थियो भने उसमा पञ्चतìवको समिश्रण नै असन्तुलित थियो भने उसको आत्मा कसरी यहाँ जोडिन सक्छ ? ऊ सम्भोगको प्रतिफल होइन, उसमा कुनै तृष्णा थिएन । ऊ पाठेघरमा विकसित भएको होइन । उसलाई अवचेतनाको प्राचीन अवस्था थाहा छैन । उसले योनीको अन्धकारबाट धर्तीमा प्रवेश गरेको होइन । ऊ एलियनजस्तो थियो । उसमा मानव जातिको चिन्तन, व्यवहार वा इन्द्रियाभूतिको समानता थिएन । उसको शरीर आवश्यकताअनुसार कर्मशील हुन सक्थ्यो । उसले मस्तिष्क समाजसँग समायोजित गर्न सक्थ्यो । तर उसको आत्माको अनुराग भिन्न थियो । उसलाई लाग्थ्यो, उसको परिचय झुटो हो । उसका भावहरू सारा अलङ्कार हो र उसको स्थान यो समय र भूगोलभन्दा कोसौँ टाढा छ । ऊ यहाँ आबद्ध हुन सक्दैन । उसलाई कुनै असांसारिक भयले सम्बोधन गरिहन्थ्यो । उसले विवाह पनि ग¥यो, गृहस्थी बसायो, सम्भोग ग¥यो, सन्तान जन्मायो तर ऊ सन्तुष्ट थिएन । जतिजति ऊ यी संरचित सामाजिक र पारिवारिक मान्यतामा बाधिँदै जान्थ्यो उति नै ऊ तनावग्रस्त हुन थाल्यो । उसले निकास खोजिरह्यो । एक दिन निर्जन जङ्गलबीच अडिएको बूढो कटुसको रुखमा झुन्डिएर उसले आफ्नो देह त्याग्यो ।”
खैरो पछ्यौरीभित्र गुमसुम बसिरहेकी निहारिका दन्किरहेको कोइलालाई हेर्दै टोलाउन थाली । हामी दुवै त्यहीँ रातको चित्र कोरिरहेका थियौँ– चन्द्रमाको प्रकाशमा झुन्डिएको लास, एउटा अलौकिक दृश्य ।
ऊ बोल्न थाली, “उसको सन्तानमा पनि त्यही लक्षण थियो । उसले पनि आफ्नो पत्नी गर्भवती भएको केही महिनामै आत्महत्या ग¥यो । पछि उसको पनि छोरा नै जन्मियो र उसको पनि यस्तै नियति रह्यो । महिला र पुरुषको शारीरिक मिलनबाट बच्चा जन्मिए पनि तिनमा रहेको वंशको गुण यथावत नै रहिरह्यो । मेरो पेटको बच्चा यही वंशको सातौँ पुरुष मानिनेछ  । मेरो पति छैटौँ हुन् र मेरो ससुरा पाँचौँ थिए । उहाँहरूको व्यक्तित्व अलग रहे पनि तिनको अन्तरमनको वाणी एउटै थियो । उनीहरू असमर्थ थिए, यस सभ्यताको अंश बन्न । हरेकले आफ्नै पलायन खोजे । यो कुनै मनोवैज्ञानिक रोग थिएन । तर तिनले आफ्नो परिचयलाई कहिल्यै अपनाएनन् । उहाँहरूको अवधारणाभित्र उहाँहरूले बाँचिरहेको मान्छे उहाँहरू नभएर अरू नै कोही थियो र कहिलेकाहीँ मष्कबककयअष्बतष्खभ ष्मभलतष्तथ मष्कयचमभच का लक्षणहरू पनि देखा पर्थे तर ती त्यही बोधक बन्दैन थिए । जे होस् हाम्रो निम्ति त्यो किंवदन्ती होइन ।”
अब म के भनेर उसको गाथालाई मान्यता दिऊँ ? यति गाँसिएको रीतलाई कसरी सान्त्वना दिऊँ ? कोइला निभिसकेको थियो । म उसको रातो सिन्दुरलाई प्रतिवाद गर्न सक्दिनँ । मेरो कुनै अधिकार छैन । मेरो नजरलाई लक्षित गर्दै उसले भनी, “मेरो पति हराउनुभएको छैन । अहिले मात्र सम्पर्कविहीन हुनुभएको हो । हामी छुटिएका छैनौँ ।” उसको आवाजमा सधैँ दृढताको प्रशस्त कमी हुन्थ्यो ।
हराउनु अर्थात् फर्कने सम्भावना हुनु...
सम्पर्कविहीन अर्थात्...?
विचारहरूमा अल्झँदै हामी आफ्नो कोठातर्फ लाग्यौँ ।
वैचिœयले सन्दुषित गरेको घरमा म गहिरो निन्द्रामा पुगेँ ।
उसलाई लाग्थ्यो, उसको परिचय झुटो हो । उसको भावहरू सारा अलङ्कार हो र उसको स्थान यो समय र भूगोलभन्दा कोसौँ टाढा छ । ऊ यहाँ आबद्ध हुन सक्दैन । उसलाई कुनै असांसारिक भयले सम्बोधन गरिरहन्थ्यो ।
यी शब्दहरू मेरो अन्तस्करणको दहमा गहिरिँदै गएँ र त्यहीँ छापिएँ । म डराइरहेको थिएँ, केहीदेखि त पक्कै पनि डराइरहेको थिएँ ।
दिनमा उल्लेखनीय केही हुँदैन थियो । ठूली आमा केही खटाइएका मानिससँग मूर्ति खोज्न जानुहुन्थ्यो । निहारिकाको पाचौँ महिना चलिरहेको थियो । आफूभित्र मानव संरचना भइरहेको सशक्त अनुभव उसले शारीरिक र मानसिक रूपमा गरिरहेकी थिई । ऊ एकान्त खोज्थी र सायद भित्र कतै ऊ अत्तालिन्थी । सायद, कहिल्यै ऊ त्यस बच्चाको कल्पनामा मातृत्वको उत्कर्षमा पुग्थी वा कहिल्यै आफूलाई नै पाठेघरमा जीवन अघिको जीवन्त प्रक्रियामा मौलाएको सोच्थी । जे होस्, उसले आफूलाई सम्हाल्नुपर्ने कारण देखिसकेकी थिई । ऊ कोमल थिई आफ्नो सन्तानप्रति तर चिन्ताजनक कुराहरू पनि घटेका थिएनन् । म उसको बढेको स्तन हेर्थें, अलि ढल्किँदो मुद्रा हेर्थें, थकित नयन हेर्थें । कताकता उसको उमेरको अपरिपक्वता सम्झँदा दया लाग्थ्यो तर म उसको सामु यो सबै लुकाउँथे ।
तेज हराइसकेको, पत्थरमा चित्र कोरेझैँ लाग्ने आँखा बोकेकी हजुरआमाले मलाई हिँड्ने अभ्यास गर्नु भन्दै फाँटतिर जान लगाउनुभयो । निहारिका त्यतै होली भन्दै उहाँले बाटोको विवरण बताउनु भयो । चोट निको हुन लागिसकेको थियो, बाहिर खत बसेको थियो र हड्डी छेउ अझ दुख्थ्यो । रुद्राक्ष, निम, फाकल इत्यादिका वृक्षहरू छिचोल्दै म एउटा बूढो कटुसको रुखछेउ उभिए । निहारिका त्यहीँ थिई, रुखको छायामा, माटोमा यत्तिकै केके कोरिहेकी । हावाको तेजले एउटा पात मतर्फ झर्यो, आधा हरियो र आधा खैरो रङको । म उसँगै त्यस छाहारीमा बसेँ । उसले कुनै प्रतिक्रिया देखाइनँ । उसको हात पेटमा यथावत् अडिन्थ्यो मानौँ ऊ केही बहुमूल्य कुरालाई संरक्षण गरिरहेकी छे ।
रुखको गरालाई छुँदै उसले भनी, “यो साल, यो रुखको अन्तिम साल हो ।”
उसको बोली मन्द हुँदै जान थाल्यो, “कटुसको रुख, उम्रन ३०० वर्ष लाग्छ, ३०० वर्षसम्म यो बाँच्छ र ३०० वर्षमा मर्ने प्रक्रिया सकिन्छ । यो त्यही रुख हो जहाँ देउकीपुत्र झुन्डिएको थियो ।”
म कसरी बयान गरौँ त्यस बेलाको कम्पन ? त्यस क्षण मलाई लगेको थियो कि निहारिका मलाई मृत्युको नजिक धकेल्दै छे । ऊ मृत्युको भयावह स्वरूपबीच कुनै तन्तु खोजिरहेकी छे । ऊ सुस्तरी मृत्युको मुखबाट कुनै बस्तु खोस्न थाल्दैछे । उसले पेटबाट हात छुटाई र झरेको पातलाई मुठ्ठीभित्र च्याप्न थाली ।
मैले उसको आँखाभित्र केही सल्किरहेको देखे । ऊ कुनै पनि बेला कोइला टेकिदिन सक्थी । सामान्यतयः उसले मलाई केही भन्नुपर्ने हो, उसको मनोदशाबारे तर उसलाई म कतैबाट पनि बुझ्न सक्दिनँ । उसले कहिल्यै आफ्नो स्पष्टीकरण दिइनन् ।
म अन्जानमै पहिलो भेटमा उसको अनुहारमा छरपस्ट भएको दिप्ती खोज्थें जो प्रत्येक पल लुप्त हुँदै गहिरहेको थियो ।
ठूली आमाले प्रतिमा भेट्टिएको खबर हामीलाई बेलुका सुनाइन् । मेरो घरबाट पनि चाँडै कोही लिन आउने बताइन् । उत्सुकता कसैमा थिएन । मन्दिर कहाँ बन्ने छ, मैले सोधिनँ ।
रात, निन्द्राको कुनै सङ्केत थिएन । मैले एकाएक झ्याल खोलेर सन्नाटालाई चिहाउन खोजेँ । जङ्गलबाट कुनै पन्छीको एकलाप सुनिन्थ्यो । नजिकको झ्याङबाट जुनकीरी झुलुक्क देखा परी र अँध्यारोमै कतै हराई । यो उसको मौसम होइन, ऊ यहाँ अपवाद थिई । मैले नजर घुमाएँ र यसै घरको ठीक पछाडि रहेको सानो घरमा रोकिएँ । घर पनि के ? एकतलेको, एक कोठे वासस्थान थियो । त्यसलाई मैले पहिले याद गरेको थिइनँ । भण्डार घर गोठ छेउ थियो, पूजाकोठा यसै तलामा थियो । त्यो केका निम्ति बनाइएको हो ? झ्याललाई पूरा खोल्दै म त्यहाँबाट बाहिर हाम फाले । निलो रङले पोतेको, एउटा मात्र झ्याल र ढोका जो बन्द थियो । भित्र चिहाउन मिल्ने कुनै तरिका भेटिएन । जनावरले आफ्नो प्रकारको गन्ध थाहा पाएझैँ मैले पनि त्यहाँ कुनै मानवको धड्कन सुनेजस्तो लाग्यो । लाग्यो, कोही सास फेरिरहेको छ, मस्तिष्क सञ्चार भइरहेको छ । तर त्यसलाई सत्य मान्ने गतिलो आधार थिएन । भित्रका गतिविधि थाहा पाउन निकै कठिन थियो ।
म उठ्दा मध्याह्न भइसकेको थियो । मन्दिरको पुनःस्थापनाका लागि पूजा घरमै गरिने योजना थियो । बाहिरी मानिसको सहभागिता त्यहाँ निषेध गरिएको थियो । रित्तो मन लिएर कोठामै बसिरहे । मसँग अनेक प्रश्नहरू थिए, जसलाई सुल्झाउने सूत्र निहारिकाबाट पाउने सक्ने मलाई विश्वास थियो ।
कालो इतिहास बोकेको मन्दिरलाई फेरि किन जोडिँदै छ ?
के ती पुरुषहरू आफ्नो स्थानबारे विरोधाभासमा थिए ?
नजन्मिएको भू्रणमा कसको अधिकार लाग्छ ?
म कोठाबाट निस्किँदा बाहिर कुनै चहलपहल थिएन । कसैको उपस्थिति मैले घरमा चाल पाइनँ । म बरालिँदै फेरि त्यहीँ बोटछेउ पुगे । त्यहाँ जाने विशेष केही कारण थिएन । निहारिकालाई देख्ने छु कि भन्ने आशय त थियो तर निश्चित थिइनँ । माटो रङको कपडाको सारी र कालो रङको ब्लाउजमा बेरिएर ऊ त्यहाँ पत्करलाई कुल्चँदै गाइरहेकी थिई–
कहाँ छ सन्तुलन ?
आऊ देखाउ तिमी मलाई
एकचोटि फेरि भने हाम्रो भेट त होला
जो भए नि तिमी,
जो भए नि म
लेख्छु, चिठीमा चिठी तिमीलाई
भन्छु मेरै एकोहोरो दैनिकी
आकाशको रङसँगै
तिमी उडिगयौ स्वप्नसरी नहेरी
म उसको समीप गएर बसेँ । कटुसको फितलो हाँगा र प्रतिबन्धित एक भविष्यबाट नफुत्किँदै हाम्रो निकटताको घेरा धमिलो भइसकेको थियो । एक पटक लाग्यो सोधिदिऊँ, तिमीलगायतका नारीहरूले किन त्यस सुसाइडल पुरुषसँग प्रेम ग¥यौ ? विवाहको त्यस क्षणिक उपभोग गरेर के पायौ ? तर परिवेशको मौनता मभित्र पनि घुलिदियो ।
उसको आवाज मसम्म ठोक्कियो र बिलायो,
“तिमीलाई थाहा छ, अफिमको फूल केको प्रतीक हो ?”
उसको हत्केलामा रातो फूल पल्टिरहेको थियो । मरुभूमिबाट निस्किएझैँ उसको सुख्खा स्वर “यो निन्द्रा, समाप्ति र मृत्युको प्रतीक हो । पहिलो विश्वयुद्धमा मारिएका सिपाहीलाई यही फूलले सम्मान गरिएको थियो ।”
अनि त्यहीँ आवाज निस्किएको मरुभूमिमा भिषण तुफान चल्न थाल्यो । “ठीक मेरो बच्चा जस्तै ।”
मैले आँखाभरि अविश्वसनीयता बोकेर उसलाई हेरँे । उसले सटिकताको पर्दा भिरेकी थिई । तर उसको आँखामा भिजेको उदासीनता व्याप्त थियो । मैले उसको स्पष्टीकरण कुरिरहेँ तर उसले मात्र त्यसको व्यङ्ग्य गरी ।
“म यो चक्रव्यूहबाट निस्किन चाहन्छु । म यस अभिशापबाट मुक्त हुन चाहन्छु । यो बच्चाले पनि त्यही देवीको शरण खोज्छ भने उसलाई अहिल्यै किन नपठाउने ? किन म उसप्रति सम्मोहित भइरहनु र उसले निर्विकल्प त्यतै उन्मुख भइरहेको हेर्नु ? मैले यो बच्चालाई देवीको कोखमा अर्पण गरिसकँे । जब देवीले बच्चा दिइन् तब यो परिप्रेक्ष्य सुरु भयो । जब म उसलाई बच्चा समर्पण गर्नेछु अनि यो सबै समाप्त हुनेछ र आजै, मूर्ति सजिएपछि यसको अनुष्ठान हुनेछ ।”
घाम आकाशबाट विसर्जित भइसकेको थियो । ऊ आफै पनि कतै अँध्यारोमा हराउन लागेकी थिई ।
यति थाहा थियो, त्यो अनैतिक नै मानिने छ । निहारिकाले क्षमा पाउने कुनै अपेक्षा राखेकी थिइनँ । ऊ अरू पनि केही भन्न चाहन्थी तर ऊ त्यसलाई सुसङ्गत मान्दिन थिई, उसलाई कुनै शक्तिले बर्जित गथ्र्याे ।
पहिलो पटक मलाई लाग्यो, उसको चरित्रको सानो अंशलाई मैले सुल्झाएँ । उसमा उसको नाम सबैभन्दा बढी प्रबल थियो । ऊ निहारिका थिई । जलकणझैँ जो एकनास चिसोपनमा बस्थ्यो । उसभित्र के समावेश छ ? उसको रहस्य के हो ? त्यो बाहिरी दृष्टिकोणबाट बुझ्न सकिँदैन । जति उसलाई समात्न खोज्यो, ऊ पुत्किँदै जान्थी । उसमा निहारिका अर्थात् कुहिरोको गुण थियो । उसमा तृष्णा वा माया थिएन । ऊ आफैमा तल्लीन सामान्य तìव थिई जो आफ्नै बहावमा हिँड्छ ।
उसको स्वर तैरिन थाल्यो ।
“यदि तिमीले कुनै पनि एउटा इच्छा माग्नुप¥यो भने, तिमी के माग्छौ ?”
मलाई लाग्यो, दशक बितिसक्यो... हामीले यसरी नै
बोलेको, यसरी नै बसेको तर त्यसको स्मरण कतै लिखित छैन ।
“सायद म मात्र एउटा सामान्य घरपरिवार चाहन्छु ।”
उसले प्रतिक्रिया दिई । मैले उसलाई प्रतिप्रश्न गरेँ ।
“पुतली !”
तर ऊ उढ्न सकिनँ ।
हाम्रा श्रव्यहरू कतै बाँधिए । म उसको निकट जान सकिनँ । एक अपरिचितसँग उसले आफ्नो किस्सा साटेकी थिई । किन ? सायद ऊ मात्र यस घरको परिधिभन्दा बाहिर यसको निशान बनाउन चाहन्थी ।
उसको आँखामा आँसु जम्न थालेपछि ऊ आफै मेरो समीप आई । मैले उसलाई आत्मसात गरेँ । उसले आफ्नो शिर मेरो काधमा अड्याइदिई ।
“श्रवज ।”
उसको अन्तिम शब्द बहारलाई पछ्याउँदै कतै छुट्टियो ।
हजुरआमाले बोलाएको सुनेपछि हामी त्यहाँबाट
उठ्यांै । निकै अबेला भइसकेको थियो । बाह्रमासे फूल र लज्जावती झारले हाम्रो पाइला सरेको हेरिरहेँ । निहारिकाले भनी कि घर पछाडिको कोठालाई पूजास्थल बनाइएको हो । उसलाई र मलाई त्यहाँ जान अह्राइयो । कोठाभित्र एकदम अँध्यारो थियो । कतै पनि दियो वा मैनवत्ती बलेको थिएन । धुप र फूलको सुगन्ध छरिएको थियो । बाँकी मैले केही देखिनँ, कसैलाई पनि देखिनँ । अचानक पछाडिबाट ढोका ढप्पिएको स्वर आयो । मेरो सन्मुख केही सामानको बोध थिएन । मैले निहारिकाको नाम उच्चारण गर्नुभन्दा पहिल्यै कुनै बस्तुले मेरो अनुहार ढाकिन थाल्यो । जब ऊ उठ्छ उसले आफूलाई निर्मल र मिहिन पाउँछ । उसले वसन्तमा चराहरूको धुनलाई खाटमै बसेर सुन्छ । कोठामा राखिएको हरेक सामग्रीलाई उसले चिन्छ । हातमा किताब समातेर कुर्सीमा निदाइरहेकी निहारिकालाई उसले मायालु भावमा हेर्छ । उसले हातको किताब तान्छ । किताबको नाम हुन्छ कलेक्टेड पोयम्स् अफ एड्गर एलेन पो जुन उसले नै उपहार दिएको थियो । ऊ निहारिकाको हात समात्छ र निहारिका बिउँझिन्छे ।
दुवैको अनुहारमा हर्षको रेखाहरू छापिन्छन् । निहारिका उसलाई अङ्कमाल गर्दै भन्छे, “मैले तिमीलाई धेरै कुरेँ श्रेय... सपनाभरि, विपनाभरि... १० महिनापछि आज तिमीलाई सबल देखेँ ।”
श्रेयले निहारिकालाई एक पटक फेरि सरासर हेर्छ । उसको मुखबाट अचेतनमै प्रश्न निस्किन्छ, “के तिमी गर्भवती थियौ ?”
उसले “छैन” भनेर टाउको हल्लाउँछे ।
ऊ पुरानै वातावरणमा बिस्तारै झ्यामिन थाल्छ । उसको मनमा कुनै दोधार छैन । मन्दिर भत्किएको छ, त्यसैले ऊ आफूलाई हलुङ्गो पाउँछ । रुद्राक्षको व्यवसाय फस्टाउन थाल्छ । ऊ घरको कर्तव्यतिर ध्यान लगाउँछ ।
बारीको कटुसको बोट काटिएको ठाउँमा उसले अफिमका फूलहरू झुलिरहेको देख्छ । त्यसबेला उसलाई नसुल्झिएका केही पहेलीले सताउँछन् तर ऊ ती सबैलाई नकारिदिन्छ । ऊ आफूलाई आफ्नो पुर्खाभन्दा केही हदसम्म मौलिक पाउँछ ।
एक दिन निहारिका उसलाई भन्छे, “म हरेक रात तिमी छेउ निदाउँथे र प्रायजसो म सपनामा पुतली बनेकी हुन्थे ।”
ऊ हात फिजाउँदै श्रेयलाई समाउँछे । श्रेय सोच्छ, उसलाई किन ती सपनाहरू केही याद छैन ?
मात्र त्यसको फिक्कापन मात्र यदाकदा आभास हुन्छ । जस्तै ऊ सम्झन्छ, जब उसले एक पटक भिरालो बाटो
देखेको थियो, कुनै बाल्यकालको स्मृतिझैँ उसलाई लाग्छ कि ऊ यहाँबाट लडेको थियो र उसको शरीरमा कतै चोट लागेको थियो । तर ती चोटको शेषसम्म पनि कहीँ भेटिँदैन ।
पल्स मेमोरी सायद यसैलाई भनिन्छ । ऊ यस्तै निष्कर्ष निकाल्थ्यो । तर फेरि अर्को घटनाले उसलाई झनै आश्चर्यमा पु¥याउँछ ।
एक रात उसले ऊ सुतिरहेको खाटबाट आफैलाई वस्तुगत दृष्टिले हेर्न खोज्छ । यो एक अगहन कार्य थियो । तर जब ऊ अरूको नजर लगाएर आफूलाई ओछ्यानमा पल्टिएको हेर्न खोज्छ, त्यहाँ केही दोष देखिन्छ । ऊ त्यहाँ आफ्नो अवस्थामा सुतिरहेको ऊ होइन, भ्रमसरी अर्कै कसैलाई देख्छ ।
ऊ यसलाई त्यति गम्भीरतापूर्वक लिँदैन ।
एक दिन ऊ चिहान पुग्छ । आफ्नो पुर्खाको रगत र गरिमाको सम्मान गर्दै ऊ ध्यानमग्न रहन्छ । आफैमा भइरहेको अनियमितताको सूत्र पाइन्छ कि भनेर ऊ यताउता आँखा डुलाउँछ । उसको ठीक पछाडि, कसैले कविताका पङ्क्ति भनिरहेको हुन्छ
yet if hope has flown away
In a night, or in a day,
In a vision, or in none,
Is it therefore the less gone
All that we see or seem
Is a dream within a dream
पछाडि केवल कुहिरोको विस्तृत र वास्तविक चित्र हुन्छ । जब उसको पाइला त्यस कुहिरोभित्र सर्न थाल्छ, एउटा आकृति त्यहाँको सेतोपनबाट बिस्तारै ओझेल भइरहेको हुन्छ । 

मधुपर्क, जेठ /असार २०७८

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?