यलुु जाेशी
काठमाडौं, साउन २९ गते । गोरखापत्र दैनिकका नायव कार्यकारी सम्पादक केदार वाशिष्ठ (भट्टराई) ले लेख्नुभएको पुस्तक ‘नेपाल विद्या’लाई साहित्यपोस्ट उत्तम कृति पुरस्कारद्वारा सम्मानित गरिएको छ ।
साहित्यपोस्ट विद्युतीय पत्रिकाले शुक्रबार आयोजना गरेको सम्मान कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सम्मान गर्नुभएको हो । उहाँलाई ताम्रपत्रसहित नगद ५० हजार रुपियाँ प्रदान गरिएको छ ।
वाशिष्ठको अनुसन्धानात्मक कृति ‘नेपाल विद्या’लाई निर्णायक मण्डलले दिइएको अङ्कका आधारमा २०७७ वर्षकै उत्कृष्ट पुस्तक ठहर गरिएको आयोजकले जनाएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. गुरुङले नेपालीहरुले नेपाललाई चिन्न नसकेको समयमा लेखकले उत्कृष्ट पुस्तक लेख्नुभएको बताउनुभयो ।
उत्कृष्टताका आधारमा यो पुस्तक मदन पुरस्कार पाउनयोग्य रहेको धारणा राख्दै भन्नुभयो, नेपाल विद्याले नेपालको गौरवलाई बढाएको छ । वाशिष्ठले पहिलो पुस्तक नै उत्कृष्ट लेख्नुभएको बताउँदै अझ राम्रो गर्न सुझाव पनि दिनुभयो ।
पुरस्कृत लेखक वाशिष्ठले यसबाट आफूलाई हौसला र जिम्मेवारी दुवै बढेको बताउँदै पुरस्कारले लेखन र अनुसन्धान क्षेत्रमा लाग्न प्रोत्साहन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, नेपाल विद्या इतिहास नभएर अनुसन्धान र सिद्धान्त हो ।
यसैगरी, निर्णायकको मण्डलको तर्फबाट बोल्दै साहित्यकार श्रीओम श्रेष्ठ रोदनले पहिलो पुस्तकमा नै महत्वपूूर्ण र गहनतापूर्वक तयार गर्नुभएको बताउनुभयो । पुस्कत उत्कृष्ट भएकै कारण पुरस्कृत भएको पनि बताउनुभयो ।
साहित्यपोस्ट दैनिकका प्रधानसम्पादक अश्विनी कोइरालाले वाशिष्ठको पहिलो कृति नै २०७७ को वर्षका सबै कृतिहरुलाई आझेलमा पार्ने र नेपाल र नेपालीका लागि अमूल्य रहने गरी आएको बताउनुभयो ।
आयोजकका अनुसार पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको साहित्यपोस्ट उत्तम कृति पुरस्कारका लागि २७ पुस्तकहरु यसको परिधिमा पारिको थियो ।
ती पुस्तकलाई १५ जना निर्णायकले पहिलो १० पुस्तक छानेका थिए । तीन भागमा समेटिएको उक्त पुस्तकले नेपालका तीन फरक फरक क्षेत्रमा अनुसन्धान गरेको छ, जसलाई समीक्षकहरुले वर्षकै उपलब्धिका रुपमा लिएको जनाइएको छ ।
देशीय विद्याका सैद्धान्तिक आधारसहित नेपाल विद्याको खोजी, प्रयोजन र सम्भावना यसमा पाइन्छ । देशीय विद्या अध्ययनको सन्दर्भमा नेपाल विद्याको पहिलो प्रयोग लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन रहेको छ । बुद्ध र बुद्धको जीवनसँग सम्बन्धित सम्पदाबारे भारतले बारम्बार दाबी गर्ने गरेका कारणको खोजी पुस्तकमा गरिएको छ ।
नेपाल विद्याको अर्को प्रयोग शिला खोजेको भाषा नेपालको भूक्षेत्र र नेपालका भाषाको खोजीसँग सम्बन्धित छ । बेलायती अध्ययन परम्परामा नेपालको इतिहास लेखन र खोजी हुँदा नेपाली भाषामाथि भएको अन्यायलाई बेलायती अध्ययन परम्पराभन्दा अघिका ल्याटिन, आर्मेनियाली, अरबी र ग्रिसेली अध्ययन परम्पराले न्याय दिने गरी यसमा खोजी भएको छ ।