logo
२०८१ मंसिर ७ शुक्रवार



कथा : भिखारी

कला |


कथा : भिखारी


 गाई डे मोपासाँ

उसले राम्रा दिनहरू पनि देखेको हो तर अहिले विपत् र कमजोरीका दिनहरूभोगिरहेको थियो ।
पन्ध्र वर्षको हुँदा भार्भिले राजमार्गमा एउटा गाडीले उसको खुट्टाहरू किचिदिएको थियो । त्यस बेलादेखि दुवैतिरको कानमाथिसम्म पुग्ने बैसाखीका भरमा ऊ खेत–खलिहान हुँदै सडकहरूमा घिस्रँदै माग्ने काम गर्दै आएको छ । बीचमा उसको टाउको दुई पर्वतहरूबीच खाँदिएजस्तो देखिन्छ ।

अल सेन्ट डेको राति लेस विलेटिसका पादरीले उसलाई एक खाडलमा भेटेका थिए र निकोलास टुसेन्ट नाम दिएर पालनपोषण गरेका थिए । पढाइलेखाइ केही दिन सकिएको थिएन । त्यसैकारण डुल्न र भिक्षा माग्ने नै सिक्यो ।
एक पटक बेरोनेस डी अभारीले उसलाई आफ्नो फार्महाउससँगै पोल्ट्री फार्ममा पराल बिच्छ्याएर सुत्न दिएकी थिई । अनि एकदम भोक लागेको बेला एक टुक्रा रोटी र केही पिउन दिन्थी । कहिलेकाहीँ त ती बूढी महिला झ्यालबाट केही सिक्का पनि फ्याँकिदिन्थी । अहिले त मरिसकी ।

गाउँमा मानिसहरूले उसलाई धेरथोर अपुगै भए पनि केही दिन्थे । गाउँमा उसलाई सबैले चिन्थे । काठको बैसाखीसहित यो घरबाट त्यो घर ४० वर्षसम्म दिनका दिन घिसारेर हिँड्ने उसलाई देखेर गाउँका सबै वाक्क भइसकेका थिए । तर ऊ अन्त कतै जान पनि चाहँदैनथ्यो किनभने पूरा देशका यी तीनचार गाउँबाहेक संसारका कुनै पनि ठाउँबारे उसलाई थाहा थिएन । भीख माग्ने काम परिचित घेरामै आफूलाई सीमित राखेको थियो उसले ।
संसार कति टाढासम्म फैलिएको छ भन्ने उसको दृष्टिले भेउ पाएको थिएन । उसले आफूलाई त्यो प्रश्न सोधेको पनि थिएन । खेत र गल्लीमा भेट्दा भेट्दा वाक्क भई जब गाउँलेहरू उसलाई भन्थे, ‘यहीँ ख्वान्च्याङ ख्वान्च्याङ खोच्याइरहनुभन्दा किन तँ अन्त गाउँतिर जाँदैनस् ?’ ऊ केही जवाफ दिँदैनथ्यो । बरु डराएर लुत्त भाग्थ्यो । नयाँ अनुहारहरू, गाली, अपमान, अपरिचितहरूले शङ्कास्पद रूपमा हेर्नु उसको नियति थियो । हिँडिरहेका पुलिस देख्नासाथ ऊ झाडी या ढुङ्गाको थुप्रो पछाडि लुक्थ्यो । टाढैबाट तिनीहरूलाई देख्नासाथ, तिनीहरूको चम्किलो बर्दी देख्नासाथ जङ्गली जनावरले बास खोजेझैँ उसलाई कता जाऊँ, के गरूँ छटपटी हुन्थ्यो । ऊ आफ्ना बैसाखी छेउतिर फ्याँक्थ्यो र भुइँमा कुक्रुक्क परेर आफूलाई सकेसम्म लुकाउँथ्यो ।
प्रहरीहरूसँग उसलाई कुनै समस्या हुँदैनथ्यो तर पनि तिनीहरूबाट सकेसम्म टाढा बसूँ भन्ने कुरा उसको रगतमै थियो । कहिल्यै नदेखेका बाबुआमाको रगतबाटै सायद यो डर उसमा सरेको थियो ।

उसको कुनै पनि किसिमको आश्रयस्थल थिएन, छानो थिएन । गर्मीमा ऊ ढोकाबाहिर सुत्थ्यो र हिउँदामा कसैको गोठ, तबेलातिर लुत्त छिरेर सुत्न उसले जानेको थियो । कसैले देख्नुअघि नै कुलेलम ठोकिसक्थ्यो । फार्म घरभित्र कुन दुलोबाट छिर्नुपर्छ भन्ने उसलाई थाहा थियो । बैसाखी लिएर हिँड्दा हिँड्दा उसका पाखुराहरू कसिला भएका थिए ।
एक किसिमले भन्ने हो भने उसले खेतबारीको पशुजस्तै जीवन बिताइरहेको थियो । ऊ मानिसहरूबीच नै थियो तर कसैलाई चिन्दैनथ्यो, कसैलाई मन पराउँदैनथ्यो । बैसाखी बीचमा ऊ हल्लँदा चर्चको घन्टीझैँ देखिने भएर उसलाई मानिसहरू ‘घन्टी’ भन्थे ।
दुई दिनसम्म उसले केही खान पाएको थिएन । कसैले पनि उसलाई केही दिएनन् । सबैको धैर्य क्षीण भइसकेको थियो । स्वास्नीमान्छेहरू उसलाई देख्दा दैलोबाटै चिच्याउँथे, ‘ए अल्छीको पोको ! यता नआइज । अस्ति तीन दिनअघि मात्र मैले तँलाई एक टुक्रा रोटी दिएकी होइन ?”

त्यसपछि ऊ आफ्नो बैसाखी अर्को घरतिर सोझ्याउँथ्यो । त्यहाँ पनि उसले त्यस्तै व्यवहार पाउँथ्यो । कुनै पनि घरको ढोकामा उभिन पुग्दा सबैले “हामी वर्षैभरि यो अल्छी मुलालाई पाल्न सक्दैनौँ” भन्थे ।
तापनि ‘यो अल्छी मुला’लाई हरेक दिन खाना त चाहिन्थ्यो । फुट्या कौडी नपाएर ऊ सेन्ट हिब्येर, भार्मिली, लेस बिलेटिस सबैतिरबाट निराश भयो । उसलाई अब टुर्नोलिसको आशा थियो तर त्यहाँसम्म पुग्न राजमार्गको बाटो पाँच मिल हिँड्नु पथ्र्याे । ऊ कति धेरै थकित भइसकेको थियो भने अब त केही गज मात्र घिस्रिन सक्थ्यो । उसको पेट र खल्ती दुवै रित्ता थिए तर पनि उसले पाइला सा¥यो ।

डिसेम्बर महिना थियो र रुखका पातविहीन हाँगाहरू हुँदै खेत–खलिहानमा चिसो हावा बहिरहेको थियो । कालो, डरलाग्दो आकाशमा बादल कुदिरहेथ्यो । ट्याक ट्याक् बैसाखी र टेढामेढा खुट्टाले टेक्दै उसले विस्तारै आफूलाई अगाडि बढाइरह्यो ।
हिँड्दाहिँड्दा कहिलेकाहीँ कतै खाल्डोतिर ऊ केही मिनेट थकाइ मार्न बस्थ्यो । भोकले उसलाई झुत्ती खेलाइरहेथ्यो र खानेकुरा कसरी जुटाउने भन्ने चिन्ताले ग्रस्त भइरहेको थियो । तीन घन्टासम्म उसले कष्टदायी यात्रा ग¥यो । अन्त्यमा जब गाउँका रुखहरू देखिन थाले, उसमा नयाँ ऊर्जा थपिएजस्तो भयो ।

पहिले भेटेको गाउँलेसँग भिक्षा माग्दा यस्तो जवाफ पायो, “ओहो ! फेरि आइस् बजिया ? तँबाट कहिले छुटकारा पाइने हो !” ‘घन्टी’ आफ्नो बाटो लाग्यो । हरेक ढोकामा कर्कश शब्दबाहेक केही पाएन उसले । पूरा गाउँ नै चक्कर मारे पनि फुट्या कौडी पाएन उसले ।
त्यसपछि ऊ नजिकैका खेतहरूतिर गयो । हिलाम्मे जमिनमा कठिनताका साथ बैसाखी चलाउँदै ऊ
थाकिसकेको थियो । जताततै उसले उस्तै चिसा हृदयहरू र झोक्की मिजासहरू भेट्यो । उसले त्यो चिसो दिन खानेकुरा वा पैसा भेटेन ।

आफूले थाहा पाएका सबै घरहरू चहारिसकेपछि ‘घन्टी’ चिकोटको खलिहान भएर बग्ने कुलोको किनारमा थचक्क बस्यो । आफ्ना बैसाखीलाई छेउमा राखेर आफूलाई परेको आपत्बारे सोची बस्यो ।
मानव हृदयमा हुने अनिश्चित आशा जगाइराख्यो उसले आफूभित्र । त्यो खलिहानको कुनामा, डिसेम्बर महिनाको हावा खाँदै ईश्वरबाट वा कोही मान्छेबाट अचम्मैसित केही पाइन्छ कि भनी ऊ प्रतीक्षारत रह्यो । केही काला कुखुरीहरू भुइँमा भएका अन्नका दाना खोज्दै यताउता दगुरिरहेका थिए । कहिलेकाहीँ तिनीहरू मकैका दाना वा साना कीराहरू भेट्थे र चुच्चोले च्यापेर पेट भर्थे ।

उसले तिनीहरूलाई पहिले त त्यस्सै हेरि मात्र रह्यो । पछि झट्ट उसको मनमा तीमध्ये एक कुखुरालाई चट्टसँग सुकेका काठका टुक्राटाक्रीमा पोलेर खान पाए त गज्जब हुन्थ्यो भन्ने सोच्यो ।
म चोरी गर्न लागिरहेको छु भन्ने उसको मनमा आउँदै आएन । उसले ढुङ्गा टिप्यो र नजिकैको एउटा कुखुरालाई हानेर खुत्रुक्क पा¥यो । चरो प्वाक्क ढल्यो र पखेटा फटफट गर्न थाल्यो । अरू कुखुराहरू बुरुक्क भागिहाले । ‘घन्टी’ले बैसाखी उठायो र सिकार ढलेको ठाउँतिर लाग्यो ।
कालो जिउको त्यो रातो टाउके कुखुराको नजिकै पुग्न मात्र लागेको के थियो, उसले आफ्नो ढाडमा चर्को प्रहारको अनुभव ग¥यो । त्यो प्रहारको कारण उसको बैसाखी हातबाट फुस्केर खस्यो र ऊ दस कदम पर पुगेर पछारियो । चिकोट उसको पछिल्तिर रिसले उभिएको थियो । थप्पड हान्यो र लात्तीले भकु¥यो । ऊ भुइँमा पछारिइरह्यो ।
कामदारहरू पनि आफ्नो मालिकको पक्षमा उभिएर लङ्गडा भिखारीलाई दनादन हिर्काउन थाले । पिट्दा पिट्दा थाकेपछि तिनीहरूले उसलाई लगेर काठको खोरमा बन्द गरिदिए र पुलिस बोलाउन गए ।

‘घन्टी’ अद्र्धमृत अवस्थामा, रगतपच्छे भएर भोकले लस्त भुइँमा डङ्ग्रङ्ग लडेको थियो । साँझ आयो, रात प¥यो, बिहान भयो र पनि उसले केही खान पाएन ।
मध्यदिनमा पुलिस आए । तिनीहरूले बडो सतर्कतापूर्वक काठको खोरको ढोका खोले किनभने किसान चिकोटले उल्टो आफूलाई भिखारीले हमला गरेको र आफूले कठिनताका साथ प्रतिरक्षा गरेको भनेर जाहेरी दिएको थियो ।
प्रहरी अधिकारी करायो, “उठ् ए ! उठिहाल ।”

तर ऊ हलचल गर्न सकेन । ऊ बैसाखी लिएर उठ्न खोज्यो तर असफल भयो । प्रहरीले चाहिँ उसको त्यो कमजोरीलाई स्वाङ पारेको ठान्यो र जबर्जस्ती उठाएर दुवैतिर बैसाखी कोचिदियो ।
डरले ऊ थरहरी भयो– प्रहरीको बर्दीप्रति हुने वंशाणुगत डर, खेलाडीहरूलाई मैदानमा हुने खालको डर, बिरालोसँग मुसालाई हुने खालको डर ।
“हिँड्,” प्रहरी अधिकारीले भन्यो । ऊ हिँड्न थाल्यो ।

त्यहाँका अरू सबैले उसलाई लगेको हेरिरहे । आइमाईहरूले ऊतिर मुक्का उजाए । केटाहरूले उसलाई अपमानजनक गाली गरे । आखिर उसलाई लगियो । उनीहले छुटकारा पाए । आफ्ना दुई बैसाखीबीच ऊ गयो । भएभरको शक्ति लगाएर आफैलाई घिसार्दै ऊ हिँडिरह्यो । साँझसम्ममा तिनीहरूले अब के गर्ने हुन् भन्ने डर कायमै थियो ।
बाटोमा मान्छेहरू एक छिन रोकिएर उसलाई हेर्थे । गाउँलेहरू फतफताउँथे, “चोर हो कि अरू कोही हो ?”

साँझ पर्न लाग्दा ऊ सहर पुग्यो । कहिल्यै ऊ यति टाढा आएको थिएन । अब के गर्छन् भन्ने पत्तो पनि थिएन उसलाई । हिजो र अस्तिका चिताउँदै नचिताएका ती भयानक घटनाहरू हुनु, अपरिचित मान्छे र घरहरू–सबैले उसको मनमा त्रास उत्पन्न गराइरहेका थिए ।
उसले केही बोलेको थिएन । केही बोल्नै थिएन उसलाई । बुझेकै थिएन । अर्को कुरा उसले यतिका वर्षसम्म कसैसँग बोलेकै थिएन । त्यसैले जिब्रोको प्रयोग गर्न पनि बिर्सेजस्तो विचारलाई शब्दमा परिणत गर्न पनि अस्पष्ट अस्पष्ट ।
उसलाई सहरको झ्यालखानामा राखियो । उसलाई खाना पनि चाहिन्छ भन्ने प्रहरीहरूले सोच्दै सोचेनन् । भोलिपल्टसम्म उसलाई एक्लै त्यत्तिकै छोडियो । बिहान सबेरै उनीहरू जब उसको परीक्षण गर्न आए, ऊ भुइँमा मृत अवस्थामा भेटियो ।

(अमेरिकन लिटेरेचर डट कमबाट ‘द बेगर’ शीर्षक कथाको साभार अनुवाद ।)
अङ्ग्रेजीबाट अनुवाद : किशोर पहाडी

मधुपर्क भदौ २०७८
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?