logo
२०८१ जेष्ठ ७ सोमवार



रुद्रवर्ण महाविहार परिसरमा दूर्लभ मूर्तिकलाको तीन दिने प्रदर्शनी सुरु

कला |
प्रदेश |


रुद्रवर्ण महाविहार परिसरमा दूर्लभ मूर्तिकलाको तीन दिने प्रदर्शनी सुरु


गोरखापत्र समाचारदाता
ललितपुर, असोज ११ गते । लिच्छवीकालिन कलाको उत्कृष्ट नमूना सङ्ग्रहित रुद्रवर्ण महाविहार परिसरमा दूर्लभ मूर्तिकलाको तीन दिने प्रदर्शनी सुरु भएको छ ।
विश्व पर्यटन दिवस २०२१ का सन्दर्भमा आयोजित प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सोमबार शुभारम्भ गर्नुभयो । ललितपुर महानगरपालिका हस्तकला प्रवद्र्धन समिति र वडा नम्बर ६ पर्यटन प्रवद्र्धन समितिद्वारा संयुक्त रुपमा आयोजित प्रदर्शनीमा मूर्धन्य कलाकारहरू पण्डित अभयराज शाक्य, हाकुजु, मुनीजु, जोगमान शाक्य, कुवेरसिं शाक्य र राजकुमार शाक्यका कलाकृतिहरू पनि राखिएका छन् ।
प्रदर्शनीमा मानज्योति शाक्य, बोधिराज शाक्य, सिद्धिराज शाक्य (धातु मूर्तिकार), पुण्यराज शाक्य (थोज्याः माज्याः), बाबुकाजी शाक्य, सिद्धिराज शाक्य (धातु पाता तुला ज्याः), भीम शाक्य (कतां बुट्टा ज्याः), न्हुच्छेराज शाक्य, जगतमान शाक्य (धातु मूर्तिकार), नुनेमराज शाक्य (प्रस्तर मूर्तिकार), कालु कुमाले (कुम्हा), सन्तकुमार शाक्य, राजेश अवाले, तेजरत्न शाक्य (धातुकला प्रशिक्षक) का परम्परागत मूर्ति राखिएका छन् ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, ललितपुर महानगरपालिका–६ का वडा अध्यक्ष हिटलर शाक्य, वडा पर्यटन समितिका उपाध्यक्ष तेजेसमान शाक्य, महानगर पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष सुरेश महर्जनले मूर्तिकला प्रदर्शनीको अपरिहार्यताबारे चर्चा गर्नुभएको थियो । ललितपुरको ओकुबहाल क्षेत्र कलाको खुला सङ्ग्रहालयका रुपमा लिइन्छ । प्रदर्शनी बुधबारसम्म रहने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?