काठमाडौं, कात्तिक १८ गते । उद्धेश्य के लिनु ,
उडी छुनु चन्द्र एक ।
यो पंक्ति अरु कसैको नभएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको हो । मानिसले चन्द्रमामा टेक्नुभन्दा अगाडि नै चन्द्रमामा छुने उद्देश्य लिन उहाँले प्रेरणा दिनुभएको यस पंक्तिले पनि प्रस्ट पार्दछ । बिहीवार उहाँको ११३ औँ जन्मजयन्ती देश तथा विदेशमा मनाइएको छ । उहाँको जन्म १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन पिता तिलमाधव र माता अमर राज्यलक्ष्मी देवीका तेस्रो छोराका रुपमा भएको हो । तिहारको लक्ष्मीपूजाको दिनमा जन्मिएकाले उहाँको नाम लक्ष्मीप्रसाद राखिएको थियो । न्वारनको नाम भने तीर्थमाधव देवकोटा हो । आजको दिन देवकोटालाई नसम्झने सायदै होलान् ।
देवकोटाकी छोरी अम्बिका देवकोटा रिमालले पिता लक्ष्मीप्रसाद देवकोटा कोमल मन भएको व्यक्ति रहेको सम्झनुहुन्छ । बाल्यकाल सम्झँदै उहाँले भन्नुभयो ‘बुबाले हामी छोराछोरीलाई कहिले नराम्रो वचन लगाउनुभएन, हाम्रो लागि धेरै संघर्ष गर्नुभएको रहेछ, अहिले सम्झँदा मन भक्कानिएर आउँछ । बुबाले कविता लेखेर बेच्ने र शिक्षण पेशा गरेर आफूहरुलाई पालेको बताउनुहुन्छ । बुबा लगातार ट्युसन पठाउनुहुन्थ्यो बिहानदेखि बेलुकासम्म नै पढाउनुभएको मलाई सम्झना छ, बुबाले एउटा कविता बेचेबापत चार पैसा लिनुहुन्थ्यो’ उहाँ भन्नुहुन्छ ‘२००६ सालमा सरकारले बुबालाई बनारस लगेर राख्यो यता मेरो दाइ कृष्णको निधन भयो । शव उठाउन पनि कोही आएनन् यस्तो अवस्था पनि हाम्रो परिवारमा पर्यो ।’ थप्नुहुन्छ ‘सरकारले परिवारमा भएका भाँडाकुँडा पनि जफत गर्यो । राणा शासन भएकाले त्यसबखत कोही उनीहरुका विरुद्ध बोल्न सक्दैनथ्यो । कोही हाम्रो घरमा आउने आँट नै गर्न सक्दैनथ्यो’ ।
पछि बुबालाई बनारसबाट उहाँले पढाउने विद्यालयमा निवेदन लेख्न लगाएपछि मात्र देवकोटा नेपाल फर्किएको रिमाल सम्झनुहुन्छ । त्यसबखत देवकोटाको शरीर निकै गलिसकेको थियो । बनारसमा बन्धक बनाएर राख्दा उहाँको रुचि भनेको कविता मै हुन्थ्यो । देवकोटा लेखन कार्यमा निकै तल्लीन हुने भएकाले खाना खान बोलाउँदा समेत खानाको ध्यान नै नहुने रिमाल सुनाउनुहन्छ । ‘बुबाले आमालाई खाना बनाउन लगाएर लेख्न लाग्नुहुन्थ्यो । स्कुल जाने बेला भएर आमाले बोलाउँदा समेत उहाँ आउनुहुँदैनथ्यो । हामी छोराछोरी गएर बुबाको कलम, कापी खोस्थ्यौँ, कपालमा तानेर खाना खान बोलाउथ्यौँ बल्ल खान आउनुहुन्थयो’ उहाँ विगत सम्झनुहुन्छ ।
देवकोटाले कहिले पनि आफ्नो जन्मदिन उत्सवको रुपमा मनाउनु हुँदैनथ्यो ‘बुबा बित्दा म १६ वर्षकी थिएँ, उहाँले कहिले पनि जन्मदिन मनाउनुभएन अहिलेजस्तो त कहाँ हुनु, जन्मदिन त सामान्य दिन जस्तै गरी बिताउनुहुन्थ्यो’ रिमाल सम्झनुहुन्छ हामी छोराछोरीको केही माग्यो भने जसरी पनि ल्याइदिनुहुन्थ्यो । एकदिन मैले बुबाको आठ हजारसम्म खर्च गरिदिएकी छु’ रिमाल सुनाउनुहुन्छ ।
यता, संस्कृतिविद् मोहनप्रसाद खनालले देवकोटाको अन्तिम श्रद्धाञ्जलीको बेलामा उहाँलाई देखेको बताउनुहुन्छ । त्यसपछि आफूले उहाँको बारेमा धेरै खोज अनुसन्धान गरेको बताउनुभयो । देवकोटाका बारेमा धेरै नभएका कुराहरु बाहिर आएकाल छन् यस्ता असत्य कुराहरु प्रचार गर्न नहुने उहाँ भन्नुहुन्छ । देवकोटालाई चीन, जापान तथा अमेरिकाले फरक फरक तरिकाले चिनिरहेकाले देवकोटाका सत्य कुराहरु मात्र बाहिर ल्याउनुपर्ने बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘देवकोटा नेपाली साहित्य क्षेत्रको नक्षत्रको हो, यदि देवकोटालाई नेपाली साहित्यबाट छुट्याइदिनुभयो भने साहित्यमा कुनै पनि उज्ज्वल ठाउँ रहँदैन, अरु साहित्यकारको योगदान भए पनि यदि देवकोटालाई सम्झन सकिएन भने नेपालको साहित्यको पूर्णता आउन सक्दैन । देवकोटालाई जुन सम्मान दिनुपर्ने हो, त्यसबखतको सरकारले दिन नसक्नु दुर्भाग्य रहेको उहाँको भनाइ छ । बाहिर देवकोटा गरिब, विपन्न परिवारको भनेर आउने गरे पनि उहाँको जीवन त्यसो नभएर लगाउन खान पुुग्ने अवस्थाकै रहेको बताउनुहुन्छ ।
दस वर्षको उमेरमा कविता लेख्न सुरू गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत देवकोटाले महत्वपूर्ण योगदान दिनुभएको थियो । यस्ता, महान व्यक्तिको निधन २०१६ साल भाद्र २९ गते क्यान्सरका कारण भएको थियो ।