काठमाडौँ, मङ्सिर २१ । लेखक शङ्कर तिवारीको ‘कसले सुधार्छ काँग्रेस’ पुस्तक विमोचन गरिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा कांग्रेसका युवा नेता गगनकुमार थापाले उक्त पुस्तक विमोचन गर्नुभयो ।
कार्यक्रममा नेता थापाले महाधिवेशनको पूर्वसन्ध्यामा गरिएको पुस्तक विमोचनले महाधिवेशनमा छलफल र बहस हुने बताउनुभयो । उहाँले कांग्रेस कसले सुधार्छ भन्दा पनि कांग्रेस सुध्रिएन भने के हुन्छ भन्ने प्रश्नचिह्न खडा भएको बताउनुभयो ।
नेता थापाले आगामी निर्वाचनमा कांग्रेस क्रियाशील सदस्यता र कांग्रेसलाई यसअघि भोट हालेका बाहेक १५ लाख व्यक्तिलाई कांग्रेससँग जोड्ने गरी सङ्गठन विस्तारमा लाग्नुपर्ने उल्लेख गर्नुभयो । पार्टी स्थापनाको समयमा कांग्रेसमा स्वस्फूर्त कार्यकर्ता थपिए पनि पछिल्लो समय पार्टीप्रति जनताको वितृष्णा पैदा हुँदै गएको उहाँको भनाइ थियो ।
काँग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले विधानको अक्षरश पालना, नियमित बैठक, समसाययिक विचार र वित्त व्यवस्थापन गर्ने नेतृत्वले मात्र कांग्रेस सुधार गर्न सक्ने बताउनुभयो । ‘पार्टी सुध्रिए राजनीति सुध्रिन्छ, राजनीति सुध्रिए देश सुध्रिन्छ’, उहाँले भन्नुभयो ।
राजनीतिक विश्लेषक पुरन्जन आचार्यले विचार, सङ्गठन र नेतृत्वको सम्मिश्रणबाट पार्टी चल्नुपर्ने बताउनुभयो । विचार र नीति शून्य भयो भने पार्टी बिग्रिने उहाँको भनाइ थियो । उहाँले कसले सुधार्छ कांग्रेसभन्दा पनि कसले बिगा¥यो कांग्रेस भन्नेबारे खोज्नुपर्ने बेला भएको बताउनुभयो ।
नेपाली कांग्रेस लुम्बिनीका नवनिर्वाचित सहमहामन्त्री निमा गिरीले विधानको प्रयोग संस्थागत गर्ने नेतृत्व कांग्रेसलाई आवश्यक रहेको बताउनुभयो । कांग्रेसभित्र महाधिवेशनको समयमा किन क्रियाशील सदस्यता विवाद हुन्छ यसलाई समयमा नै टुङ्ग्याउनुपर्ने उहाँको भनाइ थियो ।
कांग्रेस बर्दियाका पूर्वसभापति सञ्जय गौतम, नेविसङ्घका महामन्त्री युवराज पाण्डेयलगायतले पार्टीको क्रियाशील सदस्यता वितरणमा जिल्ला सभापतिलाई अधिकार नदिँदा अहिलेको अवस्था आएको बताउनुभएको थियो।