logo
२०८१ बैशाख २४ सोमवार



सयवर्ष अघिको भोजपुर गोरखापत्रमा

कला |
पढ्नै पर्ने |


सयवर्ष अघिको भोजपुर गोरखापत्रमा


 

डा.विप्लव ढकाल 

वि. सं. १९५८ देखि २००० सम्म करिब ४२ वर्षको अवधिमा नेपालको पुरानो सरकारी पत्रिका ‘गोरखापत्र’ मा प्रकाशित भोजपुरसँग सम्बन्धित समाचारहरुलाई कालक्रमिक आधारमा प्रस्तुत गरिएको छ । उक्त अवधिमा साप्ताहिक रुपमा प्रकाशित हुने ‘गोरखापत्र’ नेपालको एक मात्र समाचार पत्रिका थियो । तत्कालीन राणा सरकारद्वारा नियन्त्रित यस पत्रिकामा प्रायः विदेशी समाचार, सरकारी समाचार र गाउँघरका केही सामान्य समाचारहरु प्रकाशित छन् । त्यस बेला देशका विभिन्न भागबाट हुलाकका कर्मचारीमार्फत् समाचार सम्प्रेषण गरिन्थ्यो । भोजपुरमा पनि हुलाकको स्थापना भइसकेकाले हुलाकबाटै बजार भाउ, मौसम, सांस्कृतिक चाडपर्व, समजमा घट्ने सानातिना घटना अदि विषयका समाचारहरु सम्प्रेषण गरिन्थे । ‘गोरखापत्र’ को पहिलो अङ्कदेखि नै भोजपुरसम्बन्धी समाचारहरु छापिन थालेका थिए । भोजपुरका समाचारहरु कुनै वर्ष हप्तैपिच्छे लगातार धेरै सङ्ख्यामा र कुनै वर्ष निकै लामो अन्तरालमा छापिएका देखिन्छन् । यस्ता समाचारहरु एक पङ्क्तिदेखि अनेक पङ्क्तिसम्मको आयाममा छन् । केही समाचारहरु प्राथमिकतापूर्वक पहिलो पृष्ठमा समावेश गरिएका छन् भने कतिपय समाचारहरु भित्री पृष्ठमा ‘मोफसल समाचार’ अन्तर्गत राखिएका छन् । यी समाचारहरुले तत्कालीन भोजपुरका सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, धार्मिक, प्राकृतिक आदि पक्षहरुलाई सूक्ष्म रुपमा बुझ्न महत्वपूर्ण सूचना प्रदान गरेका छन् । त्यसैले ‘गोरखापत्र’ का सुरक्षित र उपलब्ध हुन सकेका अङ्कहरुबाट भोजपुरसम्बन्धी समाचारहरुको टिपोट गरेर तिनको वर्णविन्यास, वाक्यगठन, पदयोग–पदवियोग, सङ्गति, लेख्चिह्न आदि भाषिक प्रयोगलाई यथावत राखी निम्नानुसार प्रस्तुत छ ।


मोहीमा विष (१९८३ पौष २७, पृ. २)
भोजपुर— मा सिकतेल आंबोटे बस्ने डिकबहादुर भन्ने पाँडेले, ऐ बस्ने आफ्ना दाज्युभाई दलबहादुर भन्ने पाँडेसँग केही रुपिया कर्जा लिएको रहेछ र यही गएको मार्ग २४ गतेका दिन निज रिणी डिकबहादुरको छोरा मैनबहादुर पाँडेले ‘रुपियाको ब्याज लिन आऊ’ भनि धनी दलबहादुरलाई खेतैमा डाकी ल्याएछ, दलबहादुर पनी धान बोक्नालाई खेतालाहरु समेत ली वहाँ आएको रहेछ, ऊ लिनूपर्ने धान भर्न थालेपछि, उसै खेतको नजीकमा रहेको आफ्नो गोठमा गई नैनबहादुरले उसदिन दिउसै मोही पारेछ र मोही हालेको ढुङ्ग्रो र कचौरा लिई खलामा आई निज दलबाहादुरलाई ‘मोहि खाऊ’ भनि दिएछ, दलबहादुरले पनी मोही दिएको देख्ता ‘‘तँ दाज्यु–भाई होस् तँ पनी अघिदेखीको झगडीया हुनाले त्यस्ता मानिसले दिएको कसरी खानु, बा विष राखेको छस्, तँ खान्छस् भने मात्र म खान्छु’’ भनेछ, उस्पछी नैनबहादुरले ‘‘पहिले तिमी खाऊ अनि म पनी खान्छु’’ भन्दा केही शङ्का नमानी १ कचौरा मोही पिई ... (अक्षर स्पष्ट नभएको) भए औषधि लिइजान्छु’’ भनि २०–२५ ...(?) जति गहिरो ठाउँमा गएको ढीला गरेछ र दलबहादुरले ‘‘मलाई विष ख्वाई कता गयो, भागेको भए पक्रेर ल्याऊ, नत्र के गर्दो रहेछ हेरेर आऊ’’ भनी खेतालामा गएको मानिस पठाएछ, ऊ गई हेर्दा तितेपातीको मुण्टा माडीरहेको देखेछ र आई निजलाई भन्दा उस्ले ‘‘अवश्य मलाई यस्ले विष्ख्वाएर मार्ने भयो, अब म मर्ने भयेँ, तापनी यो विष मार्ने औषधिहरु खिकामाछा बितलव रनध्वज् कार्कीकाहाँ होला, कोही मानिस औषधि लिन जाऊ, कसैले यो विष ख्वाउने नैनबहादुरलाई पक्रीराख’’ भनि अराएछ र कोही औषधि लिन गएछन्, कसैले उस अपराधीलाई पक्री राखेछन्. परन्तु अपशोच ! ऊ औषधि लिन गएका मानिस आई नपुग्दै, मोही खाएको अन्दाजी १०।१२ घडी पछी नै ‘‘हाए ! मेरो अन्त्य बिगारी दियो’’ भनि भन्दा भन्दै दलबहादुरले प्राण त्याग गरेछ र यस्कुराको जाहेरी, उहा रनध्वज कार्कीबाट हुँदा, ४ नं. अदालतका डिट्ठा, त. मु. ना., ग. र जङ्गीपरेठको मद्दत, कम्पाउण्डर समेत् गई लासजाँच भएमा अन्नाजी २।३ शय जति सरजमीनले पनी ‘‘विषख्वाएर मारेको’’ भनेको र लासमा पनी जिभ्रो सुनिएको, रुद्रघण्टी, घाँटी, मुटू पनी सुनिएको हुनाले, निज विषख्वाउने नैनबहादुरलाई र निजको बाबु डिक बहादुरको समेत् सल्लाहाले ख्वाएको भन्ने भई ऊ समेत् दुवैलाई पक्राऊ गरी, १ जना घर्तिलाई पनी पक्री थुनी कारबाई हुन लागेको छ भन्ने खबर छ.
वहाँका गाउँछिमेकीहरु पनी ‘‘त्यस्तो धनी, असल, ठुलो मानिसलाई दान, धर्म केही गर्न न पाउने गरी विषख्वाई अन्त्य बिगारी अपराधीले अकालमा मा¥यो, त्यत्रो धन भईकन एक पैसा दान गर्न नपाई मर्नु प¥यो, हेर आफ्ना दाज्युभाई इष्टमित्र कसैले दिएको खान पनी शंका पर्ने भयो’’ भनि त्राहित्राहि मानी दिकदारी मान्दछन भन्ने खबर छ.

बाघले बाख्रा खाएपछि... (१९८३ चैत्र, गते र पृष्ठ मेटिएको)
भोजपुर— बाट उत्तर दिंलावारी फाली झेऊ पोखरी भन्ने जग्गामा एक ....(?) बाख्रा ली वनमा गएकी मौकामा अकस्मात यौटा बाख्रा हराएछ र खोज्दा पत्ता नलागेकोले फर्की अरु मात्र लिई घर आइछ. परन्तु भोलिपल्ट बेहान बाख्रा पनी खोज्नुप¥यो, दाउरा पनी ल्याउनुप¥यो भनि अरु २।३ जनाना समेत साथमा लिई वनमा गई, बाख्रो खोजीछ र ऊ बाख्रो बेपत्ता भएकोले ‘भैगो अब दाउरा लिजानुप¥यो’ भनी दाउरा भाच्न लाग्दा, वहीं नगीचमा आफ्ना डमरु (बाघका बच्चा) लाई दुध चुसाइ रहेकी १ बघिनीले देखिछ र यस्ले दाउरा भाच्न लागेको मलाई हानि मार्न हो भन्ने ठानी १ पटक चर्को अवाजसंग कराइ बच्चाहरु त्यहीं छोडी भागीछ; परन्तु उनीहरुले त्यस बघिनीलाई देखेको रहेन छ र त्यस्का अवाजबाट तर्सी अरु साथै गएका मुर्छा परेछन्. क्षत्रिनीकै .... (?) बाट बाघ डराई भाग्यो भन्दै हेर्दै गइछ र ४ वटा छाउरा देखी ‘हो मेरो बाख्रो खाने यही बघिनी रहिछ अब यस्को छोरा–छोरी पनी लगी मार्छु’ भनि दाउरा बोक्न लगेको डोकामा ती डमरुहरु राखी घर फर्कदा बाटामा १ थाक्सेले ‘यी डमरु ली तिमी के गछ्र्यौ । एउटा मलाई देऊ पाखी दिउँला’ भनेछ र पाखी ली यौटालाई छोडीछ. बाँकी ३ घरमा ल्याएपछी तहाँका मानिसहरुले ‘यी बच्चाका मायाले त्यस ठाउँमा आउने छ त्यसै बेलामा त्यसलाई मार्नु पर्छ’ भनि वहिं लगी ती डमरुलाई डोकाले छोपी चारौंतर्फ किलाकाटी बाँधी आफुहरु खाडलमा पसी लुकी बन्दुक भरी बसेछन्. बघिनी वहां आइछ र उस्लाई मारी फर्केछन्. ती डमरुलाई सबै बहिनीले पालेकामा १ म¥यो.

भरियाद्वारा लाहुरेको हत्या (२००० आश्विन ८, पृ. २)
(भोजपुर—) पूर्व ४ नं. इलाका सीकेल वानुवा (?) वस्ने टंकनाथ पाध्या, निजको प्रोहित मधुसूदन समेत तीनजना कलकत्ता नोकरीवाट आफ्ना घरजान आएकामा एकजना बिरामी नहरमैं राखी टंकनाथ मधुसूदनले एकजना भरिया लिएर आएका थिए । सीकरमाडीको वीच नरीमा आइपुगेपछि आषाढ २७ गतेका दिन भरियाले लट्ठीकाट्न भनी मधुसूदन सँग खुकुरी मागेछन् र जामुनू टिपी खान लागेको टंकनाथलाई कानको जोर्नीमा गालामा हानी काटी लडाएछ । अनि मधुसूदनलाई काट्न छोप्दै जाँदा मधुसूदन डराएर भागेछन् । निजले लघार्दै गएछ । केही वेरपछि टंकनाथ मूर्छाबाट होसमा आएछन् र तिनी पनि चोट थप्छकि भन्ने डरले उदैपुरमा दुवाल गरेछन् । मौका ताकत हुँदा धनमाल र मधुसूदन मरेजिएको पनि पत्ता लागेन । कसूरदारको पनि पत्ता लाग्न सकेनछ । केही दिन पछि निज टंकनाथको घाउ केही विसेक हुँदै आएको र भरियाले ‘‘घर यही इलाका हनु(तु)वा थुममा हो भनेको सुन्नाले पत्ता लाउँदै आई कसूरदार पत्ता लगाई पक्रिपाऊँ भनी पूर्व ४ नं. गोश्वारामा दरखास्त दिएको हुनाले कारवाई गर्न दरखास्त अदालतमा पठाई पूर्व ४ नं. गोश्वाराका कप्तानले कसुरदारको सुराक पत्ता पत्ता लगाउने कोशिश गरी सुवेदार सिपाहीहरु समेत खटाई, पक्राउ गरी भाद्र १२ गते अड्डामा ल्याए । अड्डाबाट सोधनी हुँदा ‘‘मेरो घर हनु(तु)वा वाम्ताम् गाउँ, जात छेत्री, नाम बमबहादुर हो । म भरिया भएर आएको धनको लालचले हो । त्यसैले टंकनाथलाई काटी लडाए पछि मरेको संझी मधुसूदनलाई लघार्दै जाँदा केही पर पुगेपछि भेट्टाएर काटी मारी निजको साथमा रहेको रू. ५ सये चानचुनको नोठ र, मैले वोकेको भारीमा राखेको नगदी कं. रू. ९०० समेत जम्मा चौधसय चानचुन ली घर आएको हुँ; रू. ५ सय चानचुन मासिसकें; अरु बाबुलाई राख्न दिएको छु ।’’ भनी सावित भएकोले ठाडो मुखजवानका कागत गरी निज अपराधीलाई उसैदिन पूर्व ४ नं. अदालतमा पठाए रे ।
पहिरोले घर बगाउँदा
भाद्र ७ गतेका दिन पौवा भोटेवारी भन्ने गाउँमा पानीको बर्सादले गर्दा एक जना छेत्रीको घर रातको बीचमा लड्न गएर, घरमा सुतेका लोग्नेस्वस्नी, छोरा छोरी ४ जना मध्ये लोेग्ने चाहिं सुतेको ठाउँमा टाँड परी बचेछ । अरु तीनजना ठहरै भएछन् । बाँचेकोलाई भोलिपल्ट झिके ।
कृष्णजात्रा
सोही भाद्र ७ गतेका दिन खिकामाछामा कृष्णजात्रा भएको थियो । सो जात्रा हेर्न आउने गाउँ गाउँका मानिस अन्दाजी १०।१२ हजार जति जम्मा भएका थिए । यो भोजपुरमा पनि कृष्णजात्रा भयो ।
मकै उत्पादन बढ्यो
मकै पाकिसक्यो । साविक साल भन्दा यो साल मकैको फसल केही बढेको छ भन्छन् । शनिवारे हाटमा १ रुपैयाँको चामल १० माना, चिउरा १२ मानाको भाउ थियो ।
ज्यानमारा भाग्यो (२००० पौष २, पृ. २)
(भोजपुरमा— ज्यानमारा भाग्यो) मार्ग ११ गते बादाचतुर्दशीका दिन दिंला चामलादाङ बस्ने नाउँ नजानेको हवलदार गुरुङलाई, पू. ६ नं. को इलाकाको हेलुवा बस्ने देब्रेराईले ज्यान जाने गरी काटिदिएछ । दिंला जाने बटुवाहरुले र दिंला जं. प. का सिपाहीहरुले समेत त्यस देब्रेलाई समाउन खोज्दा, खुकुरी झिकी घुमाएको हुनाले कसैले पनि समाउन सकेनछन् । निज देव्रे भागी बेपत्ता भएछ । खोजतलास कारवाई गर्नलागेका छन् ।

वि. सं. १९५८ देखि २००० सम्मको समयावधिमा देशको एक मात्र राष्ट्रिय समाचार पत्रिका ‘गोरखापत्र’ मा प्रकाशित उपर्युक्त समाचारहरुलाई अवलोकन गर्दा एउटा दुर्गम पहाडी जिल्लाका समाचारले यति धेरै सङ्ख्यामा स्थान पाउनु निकै महङ्खवपूर्ण देखिन्छ । ‘गोरखापत्र’ को पहिलो र दोस्रो अङ्कदेखि नै कहिले विभिन्न अङ्कमा लगातार रुपमा र कहिले एउटै अङ्कका विभिन्न पृष्ठमा भोजपुरका समाचारहरु प्रकाशित छन् । यी बाहेक तत्कालीन माझकिरातको भौगोलिक सीमाभित्रका अन्य थुप्रै समाचारहरु पनि प्रकाशित छन् । ‘गोरखापत्र’ का केही अङ्कहरु उपलब्ध हुन नसकेकाले तिनमा पनि भोजपुरका कुनै न कुनै समाचारहरु हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । त्यस बेलाका अधिकांश समाचारहरु मौसम, बाढीपहिरो, भूकम्प, बजारभाउ र खेतीपातीसँग सम्बन्धित छन् । राणाकाल भएकाले स्थानीय राजनीतिक समाचार तथा चेतनामूलक सन्दर्भहरु लगभग शून्य अवस्थामा छन् । यसै अवधिमा भोजपुरमा भएको योगमायाको जलसमाधिसम्बन्धी सनसनीपूर्ण घटनाका बारेमा समाचारहरु मौन छन् । यी समाचारहरुले राणाकालीन नेपाली समाजमा समाचार सम्प्रेषणको प्रतिनिधि अवस्थालाई दर्शाएका छन् । भाषिक प्रयोगको क्रमिक विकासलाई पनि दर्शाएका छन् । उक्त समाचारका झ्यालहरुबाट भोजपुरका आम जनताको चरम गरिबी, जीवनसङ्घर्ष, पीडा र सामाजिक विभेदीकरणका अनेकौँ सन्दर्भहरुलाई सूक्ष्म र साङ्केतिक रुपमा नियाल्न सकिन्छ । त्यस बेलाको सामाजिक संरचना, आर्थिक अवस्था, व्यापारिक स्थिति, न्यायप्रणाली, प्रशासनिक अवस्था, यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा, संस्कार, संस्कृति, सामाजिक मनोविज्ञान एवं समग्र जीवनमूल्यसँग गाँसिएका तथ्यहरुको विश्लेषणका लागि यी समाचारहरु महङ्खवपूर्ण प्रमाण हुन् । इतिहासका यस्तै घुम्ती र कुइनेटाहरु छिचोलेर भोजपुरको इतिहास वर्तमान अवस्थामा आइपुगेको हो । त्यस बेलाका थुप्रै घटनाप्रसङ्गलाई आजको अवस्थासँग पनि तुलना गरेर हेर्न सकिन्छ । त्यसैले उक्त समाचारहरु भोजपुरको सामाजिक तथा सांस्कृतिक इतिहासलाई नजिकबाट अवलोकन गर्ने ऐना हुन् ।

(प्रस्तुत सामग्री शनिवार औपचारिक रुपमा सार्वजनिक गर्न लागिएकाे साहित्यकार डा. विप्लब ढकालद्वारा लिखित भोजपुरको बाङ्गमय पुस्तकबाट लिइएको हो । लेखकले त्यसबेला गोरखापत्रमा छापिएका भाषा, शैली, व्याकरणलाई जास्ताकाे तस्तै उतार्नुभएको छ र हामीले पनि सोही अनुसार छापेका छौं । समाचारका शीर्षक भने पाठककाे सहजताका लागि थपिएको छ । )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?