logo
२०८१ मंसिर ६ बिहीवार



त्रिआयामिक व्यक्तित्व

कला |
शनिवार |


त्रिआयामिक व्यक्तित्व


जुनारबाबु बस्नेत

आफूले आफ्नैबारेमा लेख्ने प्रचलनको लामै शृङ्खला छ । आफ्नै विगतलाई आत्मकथा भनिए पनि व्यक्तिको कथा मात्र बोल्दैनन् त्यस्ता कृतिले । निजी कथाले समेत समाज र इतिहासको अनेक पाटा बोलेको हुन्छ । आत्मकथा लेख्न सजिलो विषय त पक्कै होइन । सत्य र इमान यसको सार तŒव हो । लोकले हेरिरहेकै हुन्छ, उसले कसी लगाउँछ । वरिष्ठ पत्रकार विजय चालिसेले भर्खरै ‘जीवनका वक्ररेखा’ कृतिका माध्यमबाट आफ्नो विगत समाजमा पस्कनु भएको छ । यो ताजा कृति हो । काठमाडौँ आरुबारीका बासिन्दा चालिसे सात दशकको वय पार गर्दै गर्दा यो कृति आएको छ ।
यस कृतिलाई लेखकले नै आत्मसंस्मरण भन्नुभएको छ । सुरभि साहित्य प्रतिष्ठान, काठमाडौँले प्रकाशनमा ल्याएको यो पुस्तक ३१२ पृष्ठको छ । नौवटा एकाइ वा खण्डमा विभक्त कृतिको आरम्भ ‘मेरो बाल्यकाल ः मेरो थातथलो’बाट भएको छ । जन्मवर्ष २००८ सालबाट २०१७ सम्म चर्चिएको यस एकाइमा स्कुल प्रवेशसम्मका संस्मरण छ । द्वितीय खण्डमा ‘फैलँदो परिवेश ः समाज, दाम्पत्य जीवन र प्रवेशिका’ छ । सहरभन्दा अलि पर रहेको गाउँलाई उहाँले काँठको जनजीवनको सजीव चित्रसँगै त्यतिबेलाको सहरी परिवेशको झल्को दिनुभएको छ ।

शिक्षा र सामाजिक जीवनका पत्रपत्र छन् त्यसभित्र । यस खण्डमा २०२५ साल समेटेपछिका एक दशक उहाँ उच्च शिक्षामा प्रवेश गर्नुहुन्छ । शिक्षण पेसा अँगाल्नुहुन्छ । त्यसक्रममा उहाँले ‘हिप्पी, गुप्तचर र राविसे’ शीर्षकमा देशीय परिवेश चिनाउन खोज्नुभएको छ । भियतनामा युद्धपछि भड्किएको अमेरिकी युवा राजधानीको झोँछेतिर रामरमिता देखाउँदाको परिवेशसँगै उहाँको उच्च शिक्षा अगाडि बढ्छ, बडो सङ्घर्षमय तवरले । काँठको बसोवास, जागिर र अध्ययनमा समय व्यवस्थापन कठिन थियो । उहाँ त्यो कठिन अवस्था रोज्न सक्ने ज्याद्रो युवा । स्नातकोत्तरका लागि त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रममा राखेको राष्ट्रिय विकास सेवा (राविसे) भएर सुदूरपश्चिमको पहाडी भेग पुग्नुहुन्छ । विद्यालयमा अध्यापन गर्नुहुन्छ । नेपाल चिन्ने अवसर पाउनु हुन्छ उहाँले । त्यो सजिलो काम थिएन । काठमाडौँमा जन्मेहुर्केको मानिसलाई कर्णाली पारि अन्टार्कटिका बराबर नै भए पनि उहाँले सिर्जना र सेवामा दत्तचित्त भएको देख्न सकिन्छ त्यो समय ।

साहित्यमा रुचिसँगै शिक्षण पेसा भएको उहाँलाई पत्रकारिताले स्वागत गर्छ– गोरखापत्र दैनिकबाट । जनमत सङ्ग्रहपछि झन्डै एक दशक उहाँका लागि उर्वर छ । पत्रकारिताको रस बस्दै जान्छ । अनेक परिकष्ट पार गर्दै उहाँ पत्रकारिताकै तालिमका लागि बेलायत पुग्नुहुन्छ । संसदीय व्यवस्थाको जननी बेलायतले विश्व पत्रकारिताको चुरा समात्छ । व्यावसायिक पत्रकारिता र विश्व चिन्न उहाँलाई सजिलो हुन्छ । बेलायतबाट ज्ञान, सीप र अनुभव लिएर फर्किएपछिको पारिवारिक जीवन कष्टकर हुन्छ । छुट्टिभिन्नको नेपाली परिवेशमा उहाँको परिवार अपवाद हुँदैन । गोठमा बसेर बास व्यवस्था गर्नु कसलाई पो सजिलो हुन्छ र ?

छयालीस सालपछिको परिवर्तनलाई उहाँले ‘दोस्रो संसदीय काल र कम्युनिस्ट सरकार’(२०४६–५१) को राजनीतिक तथा सामाजिक परिवर्तनलाई उहाँले विवेचना गर्नुभएको छ । वामप्रगतिशील विचारबाट प्रेरित उहाँले घटनाक्रमहरूलाई त्यसैको सेरोफेरोमा राख्नु भएको छ । लगत्तै अर्को खण्डमा ‘राजनीतिक अस्थिरता र माओवादी जनयुद्ध’को एक दशक कालखण्ड (२०५२–६२)को राम्रै विवेचना गर्नुभएको छ । पत्रकारले पाउनु परेको दुःख पीडा छन् त्यहाँ । स्वतन्त्रता खुम्चिएको परिवेश छ । राजाको प्रत्यक्ष शासन र आफूमा आइपरेको प्रधानसम्पादकको जिम्मेवारी यसै सेरोफेरोमा छ । सातौँ खण्डमा गणतान्त्रिक नेपाल (२०६२–६७) उहाँको जीवनको ‘टर्निङ प्वाइन्ट’ हो । फेरि सम्पादकीय नेतृत्वमा पुग्नुभयो । गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त हुनुभयो । राजनीतिक नियुक्तिपछि उहाँले सर्वाधिक कहरका वर्षका रूपमा २०७२–७७ लाई लिनुभएको छ ।

भूकम्पले घर ध्वस्त बनाएको त्यही बेला हो । पत्नीको निधनले भोग्नुपरेको पीडालाई उहाँले त्यस खण्डमा सविस्तार उल्लेख गर्नुभएको छ । अन्तिम खण्डमा ‘बचेखुचेका विशेष सम्झनाहरू’ भन्दै अघिल्ला खण्ड छुटेका विषयवस्तुलाई विभिन्न शीर्षकको आलेखमा समेट्नुभएको छ । पत्रकारिता, साहित्य र पशुपति क्याम्पसमा अध्यापनका अनुभवलाई उहाँले रसिलो पाराले पुस्तक प्रस्तुत गर्नुभएको छ । पुस्तकको नाउँ ‘जीवनका वक्ररेखा’ भने पनि वास्तवमा त्यो वक्ररेखा मात्र भन्न मिल्ने होइन । लेखकको जीवन साहित्य, पत्रकारिता र प्राध्यापनमा बितेको छ । वक्ररेखा छैन जीवन, बरु त्रिआयामिक छ । त्यतिबेला पत्रकारिता अध्ययन गरेर पत्रकार हुन सम्भव थिएन । त्रिभुवन विश्वविद्यालयको रत्नराज्य क्याम्पसमा २०३३ सालदेखि प्रविणता प्रमाणपत्र सुरु भएथ्यो । साहित्य र लेखनका पारखीका रूपमा उहाँ गोरखापत्र प्रवेश गर्नुभयो । तालिमका क्रममा अनेक चुनौती झेल्दै बेलायत पुग्नुभयो र फर्किएपछि पत्रकारिताकै पुस्तक लेख्नुभयो । त्यो पुस्तक पढेर पत्रकार हुने, पत्रकारिताको पेसामा परीक्षा उत्तीर्ण गर्नेहरूका लागि ‘गोल्डेन बुक’ नै थियो त्यतिबेला अर्थात् २०५० को दशकसम्म । बेलायतमा सिकेको ज्ञान र अनुभव उहाँले आफैँमा सीमित गर्नुभएन । धेरैलाई ठूलो गुन लगाउनुभयो ।

साहित्यका दजनौँ पुस्तकका लेखक उहाँमा बालसाहित्य, विज्ञान साहित्यमा चलेकै नाउँ हो । सिर्जनामा कहिल्यै नथाक्ने उहाँले पहिले विद्यालय र पछि उच्च शिक्षामा अध्यापन गरेर ज्ञानको क्षितिज परपर पु¥याउनुभएको छ । त्यसैले त त्रिआयामिक व्यक्तित्व । यो कृतिले लेखकको जीवन मात्र बुझिन्न, समय, काल, परिस्थिति, संस्कृति, राजनीति, प्रशासन, बेथिति, प्रगति र विकृति आदिसमेत बुझिन्छ । सकभर सत्य र तथ्यलाई राख्ने यत्न कुनै पनि लेखकको हुन्छ उहाँले पनि सक्दो यत्न गर्नुभएको छ । संस्मरण लेख्दा गल्ती कमजोरी नै हुँदैन भन्ने होइन । यसमा पनि छन् । ‘निर्वाचनपछिको सरकार’ पृष्ठ १७७ मा २०४७ ताका नेपाली काँगे्रसको सभापति गिरिजाप्रसाद कोइराला लेख्नुभएको छ । कोइराला त्यतिबेला पार्टीको महामन्त्री र सभापतिमा कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो । मदन भण्डारीको दुर्घटनामा निधन भएको मितिमा पनि अन्यथा परेको छ । यस्तै यस्तै मसिना गल्तीकमजोरी केहीँकतै छन् । ती आगामी दिनमा सुधार्न सकिन्छ ।

मूलतः उहाँ बेलायतमा अध्ययन गरेर फर्किएपछि पक्षधर पत्रकारिताभन्दा माथि उठ्ने यत्न गर्नुभएको भए उहाँको उचाइ अझ माथि पुग्न सक्थ्यो । नेपाली आमपरिवेश जस्तै उहाँमा विचारधाराले प्रभाव पा¥यो । घटना परिवेशलाई पक्षधर विचारधाराले हेर्दा कतिपय विषयवस्तुमा आम स्वीकार्यता बहसकै विषय बन्छ । त्यसमा लेखक अपवाद बन्न सक्नुभएको भए यो कृतिको क्षितिज झनै फराकिलो हुन सक्ने थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?