logo
२०८१ जेष्ठ ६ आईतवार



‘गोइचो’ पीडित ‘मोम्चो’का कथा

कला |
शनिवार |


‘गोइचो’ पीडित ‘मोम्चो’का कथा


तुलसीहरि कोइराला

पत्रकार वसन्त पराजुलीको विसं २०७६ मा प्रकाशित ‘कुमाता’ कथासङ्ग्रहले निकै चर्चा–परिचर्चा दिलायो र चलिआएको मान्यता विपरीतको शीर्षकले उहाँलाई स्पष्टीकरणको कठघरामा उभ्याउने काम पनि ग¥यो । यद्यपि, छोटो समयमै तेस्रो संस्करण प्रकाशित हुन सफल ‘कुमाता’पछि उहाँ ‘मोम्चो’ कथासङ्ग्रह लिएर नेपाली साहित्यमा सफल कथाकारका रूपमा स्थापित हुनुभएको छ । कोरोना सङ्क्रमणका कारण बन्दाबन्दीको समयमा घरबाहिर ननिस्किरहेको बेला कथा सिर्जनामा निरन्तर लागेर सङ्ग्रह नै सार्वजनिक गर्नुलाई पराजुलीको कथाप्रतिको समर्पण र उर्वर कथाकारिता मान्नुपर्छ । मझौला आकारको यस सङ्ग्रहमा जम्मा एघार वटा ‘मोम्चोप्रधान’ कथा सङ्गृहीत छन् ।

साहित्य सिर्जनामा शब्दका नवीन प्रयोग गरिँदै आएको पाइन्छ । कसैले विदेशी भाषाका शब्दलाई पुस्तकको नाम दिएका छन् भने कसैले विभिन्न भाषाभाषीका शब्दलाई । पराजुलीले पनि कथासङ्ग्रहको नामकरण यस्तै एक अल्पसङ्ख्यक समुदायले बोल्ने भाषाबाट गरेको देखिन्छ । ‘मोम्चो’ चेपाङ भाषाको शब्द हो र ‘गोइचो’को विपरीतार्थक अर्थ दिने शब्द हो । यसको अर्थ केटी अर्थात् नारी भन्ने हुन्छ र यसै शीर्षकको सङ्ग्रहमा कथा पनि रहेको छ । ‘गोइचो’ अर्थात् पुरुषप्रधान समाजमा ‘मोम्चो’ले बेहोर्नुपरेका अन्याय, अत्याचार र थिचोमिचोका कारण सिर्जित पीडा–वेदना नै कथाका विषयवस्तु बनेका छन् ।

सङ्ग्रहका प्रायः कथाको उठान परिवेश प्रधान छ । सङ्ग्रहको पहिलो कथा ‘वक्ररेखा’ को उठान यस्तो छ– आँगनमा केराको थम्बा, बाँस, साल, ऊखुलगायतका वस्तु मिलाएर जग्गे बनाइएको छ । जग्गेलाई वर, पीपल, आँप आदिका पात र विभिन्न जातका फूलको तोरणले सजाइएको छ । घर ध्वजापताकाले झकिझकाउ छ । यस्तै गरी शीर्षक कथा मोम्चोको उठान वाक्य– सूर्यको लालीमय किरणले बिहानीलाई रङ्गीन बनाएको छ । चराहरूको चिरबिरको मिठास जो–कोहीलाई मोहनी लगाउने किसिमको छ । कोइलीको कुहुकुहुले उराठ मनलाई पनि तरङ्गित बनाइरहेको छ ।

घरभित्र प्रवेश गर्ने ढोकालाई आकर्षक रूपमा सजाउन सकियो भने त्यसले घरभित्रको दृश्यप्रति कुतूहल सिर्जना गर्दछ र सहजै अगाडि बढाउँछ । कथाकारले अँगाल्दै आएका विभिन्न शैलीमध्ये परिवेश, चरित्र चित्रण र घटनाप्रधान नै प्रभावकारी मानिएका छन् । वसन्त पराजुलीले अँगालेको कथाशिल्प आकर्षक छ । ज्यादाजसो कथाको परिवेश चितवन वरिपरिकै छ । शीर्षकथा ‘मोम्चो’ अल्पसङ्ख्यक जाति जो अशिक्षा र गरिबीको मारबाट माथि उठ्न सकेको छैन तर आफ्ना संस्कारलाई पनि उत्तिकै सम्मान गर्छ चेपाङ समुदाय । यसै समुदायको परिवेश र संस्कारमा आधारित कथामा नाबालकमै प्रेम हुनु, विवाह गरिनु, अनेक रीत र संस्कार निर्वाह गर्नु, चिउरीको बोट छोरीलाई दाइजोमा दिनुजस्ता जातीय प्रचलनका कुरा धेरै छन् । सानै उमेरमा बिहे गरेर बालबच्चाका ताँती लागेपछि ‘मोम्चो’ फेर्ने ‘गोइचो’ सोखले प्रताडित पात्रका कथा मर्मस्पर्शी छन् । पहिलो कथा ‘वक्ररेखा’ मा अस्ट्रेलिया जान लागेको केटोसँग मागी विवाह भएकी श्रुतिको विवाह सम्बन्ध टुटेको छ ।

आफ्नै सौतेनी दिदीलाई बलात्कार गरेको अभियोग अदालतबाट ठहर भएपछि श्रुतिका सपना चकनाचुर भएका छन् । ‘कुटी नम्बर २००’ अनेक हण्डर खेपेर देवघाटधाममा भक्तिनी बनेर बसेकी एक नारीको दुःखसागरलाई कथाकारको कलमले भन्दा ज्यादा पत्रकारको कलमले लेखेको पाइन्छ । विदेशबाट कमाएर आउनुको सट्टा कान्छी श्रीमती लिएर आएको लोग्नेको ज्यादती सहन नसकेर आफ्नो र छोरोको पेट पाल्न अनेक कर्म गर्दै आएकी नारी छोरोसमेत हराएपछि विक्षिप्त हुन्छे र शान्ति खोज्दै देवघाटधाम पुगेकी छे । अमर न्यौपानेले यस्तै कथाव्यथामा ‘सेतोधर्ती’ उपन्यास लेख्नुभएको थियो । वैदेशिक रोजगारीमा जानेहरू धेरैका दुःख–पीडाको साझा कथा हो यो । ‘शङ्का’ कथामा परिवार नियोजन गरिसकेको अवस्थामा श्रीमतीले गर्भधारण गरेकीले ठूलै समस्या उब्जिएर हाँसोखुसीको परिवारमा तनाव उत्पन्न भएको छ । अन्त्यमा बन्ध्याकरण गरिएको सबै अवस्थामा सतप्रतिशत सफल नहुने भन्ने डाक्टरी परीक्षणमा लोग्नेको बन्ध्याकरण असफल भएको प्रमाणित भएको छ ।

‘आधुनिक प्रेमोपहार’ एउटा बेरोजगार विद्यार्थी राजधानीमा ‘पुरुष वेश्या’ बनेको कथा हो । विदेश गएका श्रीमतीले उसमार्फत सुखभोग प्राप्त गरेका छन् तर अन्त्यमा पहिलेकै पात्रले पुनः प्रयोग गरेकी र पछि एड्स सङ्क्रमित भएकी भन्ने थाहा पाएपछि बिलखबन्धमा परेको छ । अर्को कथा ‘हठ’मा बच्चा जन्मिएपछि नारी सुन्दरता बिग्रिन्छ भन्ने आधुनिक सोचका कारण उब्जिएको समस्याले बच्चा कुपोषणको शिकार भएको तथा आमालाई स्तन क्यान्सर भएर स्तन नै काट्नु परेको पश्चाताप र मातृशिशु शिक्षाका कुरा आएका छन् । ‘नबिर्सेको प्रेम’ अन्तरजातीय विवाहका कारण उब्जिएको समस्यामा आधारित छ । ‘बेचिएको मातृत्व’ मा एउटी नारीले निःसन्तान दम्पतीको घरमा बसेर सन्तान जन्माइदिए वापत प्राप्त पैसाले आफ्नो लोग्नेको मिर्गौला प्रत्यारोपण गराएकी छे भने अर्को कथा ‘दोधार’ मा पाठेघर फाल्नुपरेको पीडाबोधले आत्महत्या गर्न विवश बनाएको छ । त्यस्तै, ‘जिजीविषा’मा उच्चशिक्षा अध्ययनका लागि अमेरिका पुगेकी केटीको आर्थिक अभाव पूर्ति गरिदिने जालो फिजाएर नेपाली शिक्षित केटोले नै विचल्लीमा पारेको छ ।

यसरी ‘मोम्चो’ भित्रका नारी पात्र ‘गोइचो’का कारण पीडित बनेका छन् । कोही सन्तानको जिम्मेवारीबोधले सङ्घर्षपूर्ण जीवन बिताइरहेका छन्, कोही भक्तिनी बनेका छन्, कोही आफ्नो कोख भाडामा लगाउन विवश छन् भने कसैले आत्महत्यासमेत गरेका छन् । सङ्ग्रह दुःखैदुःखले भरिएको छ र सबैको दुःखको कारण पुरुष नै छ । कथाको बिट मार्ने वाक्य भने प्रायः कथामा सल्लाह अथवा परिणामका रूपमा आउनुलाई पाठकले उति राम्रो नमान्न सक्छन् । एकाध कथाले पुनर्लेखनको आवश्यकता माग गर्ने भए पनि सङ्ग्रहका उम्दा कथाले तिनलाई ढाकिदिएका छन् । कथा साहित्यमा पराजुलीको यात्राले मूलधारलाई समातिसकेकोले आगामी यात्रा अझै सुखद् हुने देखिन्छ । चिउरीको बोटसँगै ‘मोम्चो’को स्केचको आवरणमा भुँडीपुराण प्रकाशनबाट २०७८ मङ्सिरमा प्रकाशित सङ्ग्रहको मूल्य रु. ३८०।– राखिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?