logo
२०८१ बैशाख १६ आईतवार



कथा : अग्निपुञ्ज

कला |
शनिवार |


कथा : अग्निपुञ्ज


 गोविन्द गिरी प्रेरणा

रोनी ! आज म तिम्रो कथा लेख्दैछु !...
रोनी गर्भवती भएको खबर महलभरि फैलियो । महलमा खुसियाली प्रदीप्त भयो । मिठाइका अनेकन प्रकारहरू टेबुलमा सजिए । खुसियाली छायो महलमा । यो चीर प्रतीक्षित खबर थियो । छरछिमेकीलाई बोलाइयो । नातेदारहरूलाई फोन गरियो । महलमा उत्सवको वातावरण छायो । नाचगानका लागि नर्तक नर्तकीहरू बोलाइने कुरा भयो । गायक गायिकाहरू बोलाइने कुरा भयो । महलको आँगन उत्सवस्थलमा परिणत गराउने भयो ।

रोनी आफ्नो कोठाको झ्यालमा चिउँडो अड्याएर ओरालो लागेर डुब्न लागेको घाम हेर्दै थिई । पहेँलिँदै गएको सूर्यका ओइलाएका किरण उसका आँखालाई स्पर्श गर्दै थिए । अहो ! सारालाई खुसी पो दियो मेरो गर्भले !
ऊ आमा बन्दै थिई । तर उसको अनुहारमा खुसी उम्रन सकेको थिएन । त्यो खुसी हो कि होइन, त्यो पनि उसले छुट्याउन, खु्ट्याउन सकिरहेकी थिइन । तर आमा बन्दै थिई, यसमा भने शङ्का थिएन । उसको महिनावारी रोकिएको मात्र होइन, परीक्षणले पनि गर्भवती भएको प्रमाणित गरिसकेको थियो, पुष्टि गरिसकेको थियो ।

निराकार कता थियो, पत्तो थिएन । साँच्चै कता होला निराकार ? उसलाई म गर्भवती भएको पक्का थाहा भइसकेको होला कि नहोला ? भएको भए उसको प्रतिक्रिया के होला ? उसको मनले के भनिरहेको होला ? रोनी निराकारको मनस्थितिको आँकलनमा आफैँसँग हराई । कतिबेर, उसैलाई पत्तो भएन ।
उत्सवको दिन आयो । समय आयो । महलमा आगन्तुकहरूको, निम्तालुहरूको आगमन हुन थालिसकेको थियो र सबैको आँखाले रोनीलाई खोजिरहेका थिए ।
०००
रोनी झकिझकाउ भएर आफ्नो कोठाबाट निस्किई । खासमा उसको मेकअपका लागि ब्युटिसियन बोलाइएको थियो । उसका साथीहरू, आफन्त, नातेदार महिलाहरूले छानी छानी उसलाई सुहाउँदो पहिरन लगाउन मद्दत गरेका थिए । उसको रोजाइ, उसको चयन त्यहाँ थिएन । मानौँ ऊ पुतला हो, जसले जे लाइदिन्छन्, थापिइरहने चूपचाप । ऊ आरामले सबैले भनेको मानेर, बेलाबेलामा नक्कली हाँसो हाँसेर बसेकी थिई । यो खुसी उसका लागि भन्दा अरूकै लागि बढी थियो । घरमा नयाँ पुस्ताको आगमनले सासूससुरा खुसीले उदात्त उन्मत्त भएका थिए । देवर देउरानी पनि खुसी थिए । काम गर्ने सहायक सहायिकाहरू पनि आफैँले नयाँ सन्तान जन्माउन लागेझैँ दङ्ददास थिए ।

होटलबाटै खाना क्याटरिङ गरिएको थियो । रोज्जा रोज्जा परिकारहरू अर्डर गरिएका थिए । विस्तारै साँझ गहिरिँदै गएपछि पार्टी मुडमा देखिए सबैजना । तर अझै निराकारको अत्तोपत्तो थिएन । अब मानिसहरू उसको खोजखबरीमा लागेका थिए । फोन गर्न थालेका थिए । मेसेज गर्न थालेका थिए । एसएमएस गर्न थालेका थिए । हुनेवाला बाउ खोई भनेर नारा लगाउँलाझैँ गरिरहेका थिए । कतिपय चाहिँ निराकार झुल्किए पार्टी सुरु हुन्थ्यो भन्दै टेबुलमा सजाएको खानाका परिकार र पेयको परिकार हेर्दै झन्झन् तिर्खाएको, झन्झन् भोकाएको महसुस गर्दै थिए ।

निराकारको कार कम्पाउन्डबाट भित्र छिरेपछि महलको वातावरणमा रौनकता छायो । अब प्रतीक्षाको क्षण समाप्त भएको थियो । चियर्स गर्ने क्षणले सबैलाई एक प्रकारको उत्तेजना दियो । आखिर मदिराको उत्पादन, खपत र लोकप्रियता यही उत्तेजनाका लागि त हो । देवीदेवताका पालादेखि नै मदिराले उत्तेजनात्मक रौनकता ल्याउन कुनै कसर बाँकी राखेको छैन । धन्य हुन् ती आदि आविष्कारक मदिराका !

मानिसहरू लाइन लागेर रोनीलाई बधाई दिइरहेका थिए । अङ्कमाल गरिरहेका थिए । गाला जोडिरहेका थिए । उसको गर्भमा बास लिएको भ्रूणले महलमा खुसीको उत्पात मच्चाइदिएको थियो यतिबेला ।
निराकारलाई पनि बधाई उत्तिकै प्राप्त भइरहेको थियो । हुनेवाला बाउ ! वाह ! वाह ! सबैले ताली बजाएर यिनै शब्दलाई गीत बनाएर उसका साथीहरू, नजिकका आफन्तहरू गाउँदै नाच्दै गरिरहेका थिए ।
यति नै बेला पार्टीमा नाटकीय परिवर्तन देखा प¥यो... जब रोशनको कार कम्पाउन्डबाट छि¥यो... ।
केही मानिसहरू खासखास खुसखुस गर्न लागे ।
“ए ! यही हो रोशन !”
“खाइलाग्दो रहेछ !”
“ह्यान्डसम रहेछ !”
“रोनीलाई त यो पो सुहाउने रहेछ !”
कतिलाई भने को रोशन ! केही मतलब थिएन, वास्ताव्यास्ता थिएन । पिएर आनन्द लिइरहेका थिए । गायक गायिकाका गीतमा झुमिरहेका थिए । नाचेर निधार र काखीमा पसिना उमारिरहेका थिए । थप पसिनाका लागि मदिरा साथमा छँदै थियो ।
रोशनलाई निराकारले स्वागत ग¥यो । रोनी बसेको विशेष सोफासम्म हातले समातेर लिएर गयो । रोशनले हातमा बुके लिएर आएको थियो । रोनीको हातमा बुके राख्दै भन्यो, “कङ्ग्राचुलेसन्स ! बोथ अफ यु !
रोनीले टाउको अलि झुकाएर, लजालु आवाजमा भनी, “थ्याङ्क यु सो मच !”

त्यसपछि रोशन निराकारका पिता मातालाई अभिवादन गर्न गयो । त्यतिन्जेल निराकारले रोशन र आफ्ना लागि २ वटा पेय हातमा लिएर आइरहेको थियो । अनि दुवैले चियर्स गरे र लामो लामो सीप ताने ।
धेरैजसोको दृष्टि यतिबेला निराकार र रोशनमा केन्द्रित भएको थियो तर उनीहरू भने बेखबर थिए ।

साँझ गहिरियो । रात सुरु भयो । रात पनि गहिरिन थालेपछि पाहुनाहरू धमाधम बिदाबारी हुने क्रममा लागे । कोही लडखडाउन थालेका थिए । कोही कतै भारी बिसाएझैँ आफैँलाई बिसाइरहेका थिए ।
निम्तालुहरू पातलिन थालेपछि रोनी आफ्नो कोठामा गई । उही चिरपरिचित, वर्षौंदेखि बसेको, सुतेको बेडरुम आज उसलाई कताकता अनौठो लाग्यो । लुगा उसले फेरिरहने मन गरिन । एकछिन ओछ्यानमा थचक्क बसी । त्यसपछि उठेर दराज खोली । तर किन दराज खोलेकी हो; उसलाई नै थाहा भएन ।

दराज बन्द गरेर बेडरुमको कौसीमा पुगी । नाचगानका लागि आएका टोलीहरू आफ्नो साज सामान समेटेर गाडीमा हाल्दै रहेछन् । निराकार पनि त्यतै देखियो । तर रोशन ? कतिबेला गयो, उसले पत्तै पो पाइन त !
कौसीबाट फर्केर आई, अनि त्यही सजिएकै पहिरनमा ओछ्यानमा उत्तानो परेर सिलिङतिर हेर्न थाली ।
०००
रोनीले सौन्दर्य सौभाग्यले पाएकी थिई । सौन्दर्यको साथसाथ उसले प्रतिभा पनि पाएकी थिई जन्मजात । त्यसमाथि मिहिनेत गर्ने मन र शक्ति सामथ्र्य पनि उसको पोल्टामा थियो ।
स्कुलमा ऊ आकर्षणको केन्द्रमा थिई । कलेजमा आकर्षणको केन्द्रमा थिई । टोलमा आकर्षणको केन्द्रमा थिई । नातागोताको जमघटमा ऊ आकर्षणको केन्द्रमा थिई । यो आकर्षणले उसलाई मोडलिङमा लग्यो । उसको सौन्दर्य, मिहिनेत र आचरणले उसलाई केन्द्र विन्दुमा पु¥यायो ।

उसको पछि लाग्नेहरू, आसिकहरू, दर्शनाभिलाषीहरू प्रशस्तै देखा परे । उसलाई लाग्न थाल्यो, आफूलाई जोगाउन धौधौको अवस्था हुँदैछ । तर ऊ जोगिएरै बसी । आफूलाई जोगाउन सकी । तर उसको शरीरले पनि माग गर्न थाल्यो त्यस्तो पुरुष स्पर्श र साथ जसले उसलाई माया गरोस्, सुरक्षा प्रदान गरोस्, उसको करियरलाई निरन्तरता दिन नहिच्किचाओस् । जोकोहीले मोडललाई मोडल बनाइराख्न दिने मानसिकता राख्दैनन् । सिद्धान्तमा, भाषणमा जेजे भने पनि व्यावहारिकतामा लागू गर्न सक्दैनन् । तर उसलाई त सकुन्जेलको छोटो समय मोडलिङमै रमाउनुछ ।

थाहै नपाई रोनी क्यामेराम्यान, प्रोडुसर एवं निर्देशक रोशनको अँगालोमा कतिखेर पुगी उसैलाई पत्तो भएन । उसलाई पत्तो हुँदा उसले कौमार्य गुमाइसकेकी थिई । ऊ झस्किई । अत्तालिई । तर ती सब व्यर्थ थिए । जसलाई कौमार्य सुम्पन्छे उसैसँग बिहा गर्ने सङ्कल्प गरेकी थिई उसले ।

रोशनले उसलाई अपनाउने वचन दियो । आफ्नो बनाउने कसम खायो । तर औपचारिक बिहाका लागि पाँच वर्ष प्रतीक्षा गर्नुपर्ने सर्त राख्यो । रोनीलाई पाँच त के पध्र वर्ष पर्खनु पनि के र ! ऊ पनि तयार भई । सबै प्रकारले रोशनकै लागि समर्पित भई । रोनी जस्ती अपूर्व सुन्दरी पाएर रोशन पनि प्रफुल्लित थियो । दुवैले जीवनको मधुमास मजाले चाखिरहेका थिए, निसङ्कोच, निर्बन्ध, उदात्त !
रोनीका परिवार भने यसबाट पूरै बेखबर थिए । रोनीको स्वभाव, आचरण, अनुशासन बुझेका थिए उनीहरूले । तर रोनीले ती सब भत्काएको भने उनीहरूले पत्तो नै पाएनन् ।
०००

छोटो समयमा नै उन्नति गरेका थिए रोनीका पिता रणबल्लभले । छयालीस सालको राजनीतिक परिवर्तनपछि उनको भाग्य चम्किएको थियो । राजनेताहरूका साथको हिमचिमको फल उनले धमाधम फलाउन थालेका थिए । सरकारी ठेक्कापट्टाहरू उनको पोल्टामा फुत्रुक फुत्रुक पर्न थालेका थिए । सबैथोकको सेटिङ मिलाउन उनले जानिसकेका थिए । नेताहरूलाई यसो चुनाव खर्च दिनसक्ने र जिताउन सक्ने हैसियत भइसकेको थियो उनको ।
डेराबाट उनी फ्लाटमा पुगे । फ्याटबाट महलमा पुगे । रोनी पनि कार चडेर मोडलिङमा जान थाली । रणबल्लभ परिवार जमिनबाट आसमानमा पुगेको थियो ।

एक दिन रणबल्लभका नजिकका नेता मन्त्री भएको उपलक्षमा उनले आफ्नो महलमा पार्टी दिएका थिए । मन्त्रीजी, मन्त्राणी र उनका दायाँ हात भानिज निराकार, सचिव र उनको परिवार सो रिसेप्सनमा थिए । पहिलोपल्ट निराकारले रोनीलाई नजिकबाट देख्दा हेरेको हे¥यै भयो । उसले टीभीको स्क्रिनमा, सिनेमाको पर्दामा अनि मोबाइलमा देखिरहेको, चर्चाको केन्द्र र चर्चाको शिखरमा पुगेकी रोनी उसको सामुन्ने थिई । एउटै डाइनिङ टेबुलमा थिई ।

निराकारको आँखा केवल रोनीमा केन्द्रित भएको थियो । खानपानपछि मौका मिलाएर निराकारले रोनीसँग कुरा गर्न पुग्यो । घरमा आएको पाहुना, शिष्टाचारवश उसले मीठोसँग कुरा गरी । उसको मीठो कुराले निराकार उत्साहित भयो । फोन नम्बर आदान प्रदान भयो । केही दिनको अन्तरालमा एकाध फोन वार्तालाप पनि भयो । तर रोनी कुरा छोट्याएर फोन राखिहाल्दथी । उसले औपचारिकताबाट अनौपचारिक कुरामा फड्को मार्ने अवसर नै दिइन निराकारलाई ।
त्यसको केही दिनपछि... ।

“छोरी तिमीलाई हामीले जे जति दिएका छौँ, ती सुख सुविधामा केही कमी त भएको छैन नि !” रोनीका पिता रणबल्लभले एक विहान ब्रेकफास्ट टेबुलमा सोधे ।
त्यसो त उनी छोरीको हरेक इच्छा, आकाङ्क्षा, महìवाकाङ्क्षामा सहयोगी थिए, सधैँ । यस्तो प्रश्न पनि रोनीको लागि कुनै नौलो होइन । रणबल्लभको भनाइ सधैँ हुन्थ्यो, यो सब उसकै सुख, सुविधा र समृद्धिकै लागि हो । हुन पनि रोनी एकलौटी छोरी थिई । उनले दोस्रो सन्तानको आवश्यकता सुरुमा महसुस नै गरेनन् जतिखेर भुइँमान्छे थिए । तर जब आर्थिक रूपले उकालो चढ्न थाले, त्यसतर्फ ध्यान दिने उनको मानसिकतै रहेन । आर्थिक रूपले अन्त्यहीन उकालोको यात्रा मात्र उनको जीवनको अन्तिम अभीष्टझैँ भइदियो ।
तर बेलाबेलामा छोरीलाई यो प्रश्न भने उनले गरिरहन्थे ।

“सब ठीक छ । सब पुगेको छ । हजुरले सबै पु¥याइदिनुभएको छ, आई एम अल्वेज थ्याङ्कफुल !” रोनीले हाँस्दै भनी ।
“त्यसो भए अब हामीलाई थ्याङ्कफूल बनाइदेऊ न त !” रणबल्लभले भने ।
रोनी बाबुको यो कुराले झस्किई । यस्तो त कहिल्यै भन्थेनन् । उसले बाबुतिर क्वाक्र्वार्ती हेर्नथाली ।

रणबल्लभले भने, “राम्रो ठाउँबाट तिम्रो बिहाको लागि कुरा आएको छ । हाम्रो व्यवसायको सेटिङ मिलाउने मुख्य पात्र हुन्...।”
यति भनेर उनी अड्किए । छोरीको मुखमा पुलुक्क हेरे र मन्द मुस्कान ओठमा ल्याएर भने, “तिमीले एक पल्ट देखिसकेकी छौ । भेटिसकेकी छौ ।”
रोनी सोच्न थाली को होला त !

“लायकको व्यक्तित्व छ । तिमीले सायद नाइँ भन्ने छैनौ !” बाबुले थपे ।
रोनी अझै बाबुको मुखमा एकोहोरो हेरिरहेकी थिई ।
“सम्झना छ, मन्त्रीज्यूलाई हामीले पार्टी दिँदा आएका थिए नि । मन्त्रीज्यूका भान्जा निराकार हुन् ।”

रोनीले बुझी, निराकारले सुरुमा आफैँले डेटिङमा लान खोजेको थियो । उसको प्रयास रोनीले बुझेकी थिई र पन्छाउँदै औपचारिकतामा सीमित भएकी थिई । तर अहिले त आफ्नै बाबुसँग सेटिङ मिलाइसकेछ मिस्टर सेटिङ स्टार निराकारले ।
“हजुरले भनेपछि नाइँ कहाँ भन्छु र ! तर... !” यति भनेर रोनी टक्क अडिई ।

एउटा गजबको सस्पेन्स देखाप¥यो । रणवीर झस्किए र रोनीले थप के भन्ली, उसको अनुहारमा हेर्दै प्रतीक्षारत रहे ।
“..तर निर्णयअघि हामीलाई भेट गराउनु चाहिँ पर्छ ।” उसले भनी
रणवीरले लामो सास फेर्दै भने, “ल त्यो त भइहाल्छ नि छोरी !”

रणवीरको अनुहारमा एउटा सरकारी योजना सेटिङ मिलाएर ठेक्का पाएजत्तिकै खुसी र सन्तोष देखा प¥यो ।
०००


यसलाई भन्छन् अकल्पनीय सम्झौता... ।
भर्खरै सञ्चालनमा आएको नयाँ पाँचतारे होटेलको रेस्टुराँ कक्षमा ब्रेकफास्ट खाने गरी रोनी र निराकारको भेटको स्थान तय भयो । निश्चित समयमा दुवै एक्लाएक्लै पुगे ।
कफीसँगै सुरु भयो कुराकानी ।

“आज मौसम कति राम्रो । प्रदूषण पनि कम देखिएको थियो ।” निराकारले आकाशतिर हेर्दै भन्यो ।
“हो रमाइलै देखिन्छ !” रोनीले कफीको सिप लिँदै भनी ।
“तपाईं आज निकै फ्रेस देखिनुहुन्छ !” निराकारले थप भन्यो ।
“हो र ! मलाई त एज युजुअल फिल भइराछ !” रोनीले भनी ।

त्यसपछि दुवै चुप लागे । तर कफीको सिप भने दुवैले लिइरहेका थिए ।
“मसँग तपाईंका लागि गुड न्युज र ब्याड न्युज दुवै छ ।” रोनीले निराकारतिर हेर्दै भनी ।

निराकारले रोनीलाई हे¥यो । हल्का मेकअपमा सजिएकी उसका आँखा रहस्यात्मक लाग्यो उसलाई । यस्तो रहस्यमयी आँखा छ उसको भन्ने उसले पहिलो भेटमा हेक्का राखेको थिएन, आज अघिसम्म पनि छनक पाएको थिएन ।
उसले केही भन्नुअघि नै रोनीले फेरि भनी, “पहिला कुन सुन्नुहुन्छ ?”
रोनीको यस कुराले उसका आँखालाई झन् रहस्यात्मक बनाएको महसुस ग¥यो निराकारले ।

“पहिला खुसीकै खबर सुन्ने !” निराकारले भन्यो ।
“म बिहा गर्न तयार छु... यो गुड न्युज हो तर... ।” रोनी भन्दाभन्दै टक्क अडिई ।
“तर आई एम अलरेडी इन्गेज्ड ! मेरो प्रेमी छ...। हामी वर्षाैंदेखि उदात्त प्रेम गरिरहेका छौँ । यति भनेपछि बुझ्नु भो नि !” निराकारको मनको भाव बुझ्न उसतिर आँखा लगाउँदै रोनीले भनी ।

आश्चर्य ! यत्रो विस्फोटक सत्य सुनेर पनि निराकारको अनुहारमा कुनै भाव परिवर्तन भएजस्तो लागेन । बरु कताकता कुटिलता छचल्किरहेजस्तो लाग्यो उसलाई ।
“मेरो प्रेमीको व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ ।... ल मैले गुड न्युज ब्याड न्युज दुवै बताएँ !” रोनीले भनी ।

निराकारले एकपल्ट टाढासम्म दृष्टि पु¥यायो अनि हाँस्दै भन्यो, “तिमी नै भन, कसरी व्यवस्थापन गर्ने !”
“म मेरो प्रेमी छोड्न सक्दिनँ तर बिहा गर्न भने तयार छु । कसरी ?... छक्क नपर्नुहोला । म तपाईंसँग बिहा गर्छु । तपाईंको श्रीमती बन्छु । तर मलाई छुन पाउनुहुन्न । मेरो मोडलिङ करिअर निरन्तर रहनेछ अनि मेरो प्रेमीसँग मेरो सम्बन्ध पनि ।” रोनीले भनी ।
“वाह ! त्याट्स इन्ट्रेस्टिङ ! फ्यान्टास्टिक ! तिमीलाई के लाग्छ, म हुन्छ भनुँला ?” निराकारले भन्यो ।

रोनीले निराकारको मुखमा हेरी । उसको नाकको देब्रेपट्टि दाह्री काट्दा अलिकति छुटेको रहेछ, त्यहाँ २/४ वटा रौँका ठुटा प्रष्ट देखी । उसलाई लाग्यो, मैसँग भेट्न ढिला हुन्छ भनेर हतार हतार काटेको होला अनि छुट्यो ! यो सोचेर ऊ मुस्काई ।
ब्रेकफास्ट आइपुग्यो र वेटरले सोध्यो, “कुन जुस राखौँ, अरेन्ज, एप्पल, पाइनेपल ?”
निराकारले अरेन्ज जुस भन्यो, रोनीले चाहिँ पाइनेपल । वेटरले जुस राखेर अदबसँग त्यहाँबाट प्रस्थान ग¥यो । दुवैले खान पनि सुरु गरे ।

“भनेपछि मलाई पनि आफ्नो एफेयर कन्टिन्यु गर्न बाधा भएन नि हैन !” निकै कुटिल मुस्कानका साथ निराकारले भन्यो ।
रोनीले भनी, “द्याट इज नन् अफ माई बिजिनेस !”

“ओ के ! डन डिल ! तिमी मसँग बिहा गर्नेछ्यौ । सिन्दूर पोते लाएर तिमीलाई भिœयाउनेछु । तिमी मेरी श्रीमती भइरहन्छ्यौ... मैले तिमीलाई छुनु भएन । सँगै सुत्नु भएन । यति होइन ? ओके ! आई एम रेडी !” निराकारले भन्यो ।

रोनीलाई उसले सहज रूपले यसरी मान्ला भन्ने लागेको थिएन । मेरो ब्वाई फ्रेन्ड छ, ऊसँग मेरो संसर्ग छ, बिहा गरेपछि पनि त्यो निरन्तरता हुनेछ, मलाई छुन पाउन्नौ भनेपछि आफैँ पन्छिनेछ भन्ने उसको अनुमान पूरै फेल खाएको थियो ।
तर उसले नसोचेको जबाफ दिएको थियो । यसका लागि त ऊ यसै पनि तयार थिई । यस विषयमा रोशनसँग छलफल गरेर टुङ्गो गरिसकेकी थिई ।
कुराकानी सकियो । ब्रेकफास्ट पनि सकियो । दुवै हाँसेर छुट्टिए ।

पार्किङ लटमा जाँदा रोशन उसलाई कुरिरहेको थियो । रोनी आफ्नो कारमा बसी र रोशनको कारलाई पछ्याउन थाली । रोशनले कार ओशो तपोवनको गेटमा लगेर रोक्यो ।

०००
रोनी र रोशन तपोवनको रेस्टुराँ कक्षमा पुगे । झ्याल छेउको टेबुल रोजे । चिया मगाए ।
“पक्का बिहा गर्ने भयौ ?” रोशनले हाँस्दै सोध्यो ।

“तिमीले नगर्ने भएपछि अरू उपाय के छ त !” रोनीले आफ्नो दाहिने खुट्टाले रोशनको देब्रे खुट्टामा हान्दै भनी ।
रोशनले जबाफमा केही भनेन ।

“तिम्रो पाँच वर्षे सर्तले फसाद पा¥यो नि त !” रोनीले नै भनी ।
रोशन हाँसिरह्यो ।
“मलाई निराकारले बिहा गरेर लैजाँदा तिमीलाई कस्तो फिल होला भन्ने सोचिरहेकी छु !” रोनीले भनी ।

“बिहा उसले गरे पनि सुहागरात मनाउने मैले नै हो क्यारे !” रोशनले देब्रे खुट्टाले रोनीको दायाँ खुट्टामा हान्यो ।
“ऐया ! कस्तो दुख्यो !” रोनीले रुन्चे स्वर निकाली ।
“सरी डियर !” भन्दै उसले रोनीको हात तानेर म्वाइँ खायो ।

“खुट्टामा दुखाउने, हातमा म्वाइँ खाएर हुन्छ ?” रोनी खिलखिलाएर हाँस्न थाली ।
रोशन पनि रोनीको हाँसोमा हाँसो मिलाएर हाँस्यो ।
कफी सकियो । बिल तिरेर उनीहरू तल तलसम्म ओर्लेर घुम्न थाले ।

एकान्त वातावरण । केही संन्यासीहरू आफ्नो सुरले यताउती हिँडिरहेका थिए । उनीहरू हातेमालो गर्दै तल झाडीसम्म पुगे । जङ्गलको एकान्त, शान्त वातावरणमा किरा फट्याङ्ग्राको आवाजले अनौठो सङ्गीत बजाएको झैँ अनुभव हुन्थ्यो ।
केहीबेर ओरालो झरेपछि त्यही बाटो उकालो लागे र सडकमा निस्किए ।
“आज स्टुडियोमै लन्च खाए हुन्न ?” रोशनले सोध्यो ।

“भइहाल्छ नि !” रोनीले भनी र आआफ्नो कारमा रोशनको स्टुडियो गैह्रीधारातिर लागे ।

०००
निराकारले आफ्ना निकटतम लगौँटियाहरूलाई साँझ पार्टी दिएको थियो ।
उसले रोनीसँग बिहा पक्का भएको खबर सुनाउन यो पार्टी गरेको थियो । ती जिग्रीहरूले रोनीलाई उसले बिहा गर्नै नसक्ने, असम्भव सपना भनेर चुनौती दिएका थिए ।
तर उसको बिहा पक्का भएको खबर सुनेपछि ती साथीहरूले बधाई ओइ¥याएका थिए, यद्यपि तीमध्ये कतिलाई मनमनै कडा ईष्र्या नलागेको होइन । रोनी महँगो मोलकी मोडेल थिई र हत्तपत्त कसैले प्रपोज गर्न सक्दैन भन्ने गसिप काठमाडौँका लागि नौलो कुरा थिएन ।
उनीहरूले ठमेलको यौटा रेस्टुराँ रोजेका थिए, जहाँ वार थियो र थियो डान्स गर्ने हल पनि ।
साथीहरूले सक्नेजति खाए । पिए । नाचे । अनि आधारात जसो भएपछि आआफ्नो टुङ्गोतिर लागे । मापसेमा परिने भएकाले सबै ट्याक्सीकै भर परेका थिए । निराकार पनि ट्याक्सीमा घर लाग्यो ।
घर पुगेर आफ्नो कोठामा पस्यो । लुगा खोलेर ओछ्यानमा पल्टियो र सिरकभित्र गुँडुल्कियो । उसले आज अलिक कमै पिएको थियो, होस्ट भएकाले । उसलाई नशा कम हुँदै गएको थियो ।
उसलाई बिहान रोनीले भनेका कुराहरू कानमा झन्झनाएको महसुस भयो, “म मेरो प्रेमी छोड्न सक्दिनँ । तर बिहा गर्न भने तयार छु । कसरी ? ...छक्क नपर्नुहोला । म तपाईंसँग बिहा गर्छु । तपाईंको श्रीमती बन्छु । तर मलाई छुन पाउनुहुन्न । मेरो मोडलिङ करिअर निरन्तर रहनेछ अनि मेरो प्रेमीसँग मेरो सम्बन्ध पनि ।”
के भो त ! मेरा प्रेमिका छैनन् र ! इट्स ओके ! इट्स ओके भन्दै कतिखेर ऊ निदायो पत्तै भएन ।
०००
र बिहा भयो धुमधामसँग । निराकारलाई रोनी बिहा गर्न च्यालेन्ज गर्ने उसका लगौँटियाहरूले बिहामा उधुम मच्चाए, खानपानमा र नाचगानमा ।
रोशन पनि बिहामा सामेल थियो । उसको मनमा के चलिरहेको छ, कसैलाई हेक्का भएन । खासमा चलचित्रहरूमा आफ्नै श्रीमती पटकपटक विभिन्न पुरुषहरूका श्रीमती भएर अभिनय गरेको दृश्य मानिरह्यो उसले ।
सुहागरात भएन निराकारको । रोनीले घर भित्रिने बित्तिकै आफू पर सरेको सार्वजनिक गरेकी थिई । त्यसैले सुहाग रातमै रोनी र निराकारको बेड अलग भयो । जोडिएको ओल्लोकोठा र पल्लो कोठामा उनीहरू सुतेका थिए । त्यो क्रम त्यस दिनदेखि सदा निरन्तर रह्यो ।
अनि एक हप्तापछि रोनीले रोशनसँग उसकै स्टुडियोमा सुहागरात मनाएकी थिई ।
०००
गर्भाधारण भएको उपलक्षको पार्टी सकिएपछि अचानक रोनीको मष्तिष्कमा अनेक कुराहरू खेल्न थाले । ऊभित्र कतै लुकेको अग्नि बिउँझ्यो ।
आखिर यो नाटक कतिन्जेल ?
आज्ञाकारी छ निराकार ! तर त्यसले के हुन्छ ?
साह्रै मायालु छ रोशन ! तर त्यसले के हुन्छ ?
बाबु आमा सन्तुष्ट छन् ! तर त्यसले के हुन्छ ?
सासूससुरा ढुक्क छन् ! तर त्यसले के हुन्छ ?
पूर्ण स्वतन्त्र छे ऊ ! तर...।
साँच्चै स्वतन्त्र छे ऊ ? एउटा डरलाग्दो घाउ पो बोकेकी छ उसले ! निराकारको स्वास्नी भैदिनुपर्ने ! रोशनलाई शरीर पस्किरहनु पर्ने ! के ऊ खेलौना हो ? ऊ कस्तो पात्र हो यो दोहोरो भूमिका निष्ठापूर्वक गरिरहनुपर्ने !
रोनी यी र यस्तै प्रश्नहरूको जालोमा अल्झिन थाली, जसबाट फुत्किने सहज बाटो उसलाई दृष्टिगोचर भएन । रोनीभित्र हुर्किरहेको अर्की रोनीले मुन्टो उठाई । हुङ्कार गर्न थाली । चटपटाउन छटपटाउन थाली ।
०००
“निराकार महोदय ! म तिमीलाई छोडेर जाँदैछु । तिम्रो सम्पत्ती जायजेथामा मेरो कुनै दाबी हुने छैन । तिमीलाई अर्काे बिहा गर्न बाटो खुलाउनु छ भने म पारपाचुकेमा सहीछाप गर्न तिमीले खोजेको बेला उपलब्ध हुनेछु !”
रोनीको यो उद्घोष निराकारको कानमा परे पनि उसको मनले सहज ढङ्गले स्वीकार्न सकेन ।
“के भनेकी रोनी !” उसले यत्ति भन्यो ।
“तिमीले जे सुन्यौ त्यही भनेकी । मलाई बिहे गरेर स्वास्नी बनाउन नसक्ने तिमीजस्तो लाक्षी, लुतेको स्वास्नी भइरहनु छैन । तिमी कायर हौ !” रोनीले भनी ।
निराकार त्यसपछि बोल्न सकेन, रोनी घरबाट निस्केर कम्पाउन्ड बाहिर पुगेको हेरिरह्यो, अवाक् भएर ।
“रोशन ! तिमीलाई बिहे गर्न के ले रोक्यो ? तिमी नाटकी, व्यभिचारी, स्त्रीभोगी मात्र हौ । अब तिमीबाट सदा टाढा हुँदैछु । मेरो मुख अब देख्न पाउने छैनौ ?”
एक्कासि रोनीको यो रौद्र रूप देखेर रोशन तिल्मिलायो । काली चढेको झैँ देख्यो उसले ।
“सुन्यौ ?” रोनीले जोडसँग भनी ।
“अनि तिम्रो गर्भमा त मेरो सन्तान छ नि !” रोशनले कुटिल मुस्कान ओठमा ल्याउँदै भन्यो ।
रोनीले अट्टहास गरी ! खुबै मज्जाले हाँसी । अनि भनी, “तिम्रो केही अधिकार चल्दैन बाबु ! बिर्सिदेऊ ! म बलात्कारको केश गर्न सक्छु ! यो मेरो गर्भ, नितान्त मेरो अधिकार हो !”
यसपछि रोशनको बोली फुटेन ।
रोनी त्यहाँबाट पनि हिँडी । सडकमा पुगी । सडकमा उसका पितामाता थिए ।
उसले भनी, “मेरो व्यापार गर्नुभयो । नाफा कमाउनु भयो, सेटिङ मिलाउनेलाई छोरी सुम्पिएर । तपाईंहरूलाई सम्पत्ति भए पुग्ने रहेछ, सम्पत्तिलाई नै सन्तान मानेर अँगालेर बस्नुहोला ! तपाईंहरूबाट सदाको लागि बिदा चाहन्छु ।”
बाबु आमा चकित भए ।
“छोरी त्यसो नभन ! हामीले गल्ती गरेको भए माफ गरिदेउ ! तिमी नै त हौ एकजना सन्तान हाम्रो, अरू को छ र !” बाबुले भने ।
रोनीले भनी, “जुन दिन मलाई दाउमा राख्नुभयो, म त्यसै दिन मरेकी हुँ । अब यो लासको पछि नलाग्नुस् ।”
यति भनेर बाबु आमालाई छोडेर ऊ अघि बढी ।
रात पर्दै थियो । अगाडि अन्धकार थियो । तर रोनीको अन्तस्करणले भोलि बिहान उदाउने घामको उज्यालो देखिरहेको थियो ।...
रोनी ! तिम्रो कथा सकिएको छैन । बाँकी पछि लेख्नेछु...! á

१८ जनवरी २०२२, फल्स चर्च, अमेरिका ।

मधुपर्क चैत २०७८

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?