काठमाडौँ, चैत १० गते। नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण कीर्तिपुरमा हुने भएको छ। नेपालभाषा साहित्य विकासको उद्देश्यसहित सन्ध्या टाइम्स पिथना प्रालिको प्रकाशन नेपालभाषा टाइम्स दैनिकको आयोजनामा विगत पाँच वर्ष अगाडिदेखि नेपालभाषा साहित्य महोत्सव हुँदै आएको छ। कोभिड महामारीका कारण गत वर्ष कार्यक्रम हुन नसेकेकोले यो वर्ष चौथो संस्करणको रुपमा कार्यक्रम हुन लागेको हो।
कीर्तिपुर नगरपालिकाको विशेष सहयोगमा चैत ११ र १२ गते हुने महोत्सव हुन लागेको हो। महोत्सवमा जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ साहित्यकार मल्ल के सुन्दर, काठमाडौँका मेयर विद्यासुन्दर शाक्य, कीर्तिपुरका मेयर रमेश महर्जन र उपमेयर सरस्ववती खड्का उपस्थित हुनुहुनेछ। महोत्सवमा विभिन्न ७ वटा सेसनमा छलफल हुँदैछ।
महोत्सवमा स्थानीय पाठ्यक्रम अन्तर्गत आ–आफ्नो पालिका अन्तर्गतका स्कुलमा नेपालभाषा पठ्नपाठनको व्यवस्था गरेबापत सम्मान प्रदान गरिनेछ। नेपालभाषा विकासमा महोत्वपूर्ण योगदान दिनुहुने काठमाडौँ मेयर शाक्य, ललितपुर मेयर चिरिबाबु महर्जनलगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।
महोत्सवको पहिलो दिन पहिलो सेसन अन्तर्गत उद्घाटन समारोह र पुस्तक विमोचन हुनेछ। कीर्तिपुर न्याम्हसिमा स्थित नेपालभाषा एकेदेमीको हलमा हुने उद्घाटन समारोहमा विभिन्न विधाका पाँच पुस्तकको लोकार्पण हुनेछ।
कार्यक्रममा पूर्णराम मुनंकर्मीको निबन्ध ‘नेवाः गौरव’, महाकवि गिरिजाप्रसाद जोशीको उपन्यास संकलन ‘गिरिजाप्रसादया उपन्यास’, रामभक्त कायस्थको हाइकु संकलन ‘लखय्लूगु किचः’, स्नेह सायमीको लघुकथा संकलन ‘स्नेह साय्मिया चिबाखं’ र राजेन्द्र कुमार ‘पुता’को सांस्कृतिक उपन्यास ‘खिउँफल्चा’को लोकार्पण गरिनेछ।
दोस्रो दिन कीर्तिपुरको ऐतिहासिक स्थान पांगा लाछिमा कार्यक्रम हुनेछ। पांगाको सम्पदा भ्रमण गरेर सुरु हुने कार्यक्रममा ‘कीर्तिपुरको सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावना’ र ‘नेपालभाषा पठनपाठनबाट हुने साहित्य विकास’ विषयक अन्तरक्रिया हुनेछ।