logo
२०८१ बैशाख १४ शुक्रवार



‘भेनिस विएनाले’ कला महाेत्सवमा नेपालले पहिलोपटक सहभागिता जनाउँदै

कला |


‘भेनिस विएनाले’ कला महाेत्सवमा नेपालले पहिलोपटक सहभागिता जनाउँदै


गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २३ गते । विश्वकै कला महोत्सवमध्ये प्रमुख मानिने ‘भेनिस विएनाले’ मा नेपालले पहिलोपटक सहभागिता जनाउने भएको छ । इटलीको भेनिसमा ५९ औं भेनिस विएनाले वैशाख १० गतेदेखि सुरु हुँदैछ । सन् १८९५ देखि हरेक दुई दुई वर्षमा सो कला महोत्सव सञ्चालन हुँदै आएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउण्डेसनद्वारा संयक्त रुपमा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । छ महिनासम्म सञ्चालन हुने कला महोत्सवमा नेपालको सहभागिताले नेपाली कलाको प्रवद्र्धनमा सहयोग पुग्ने नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले बताउनुभयो ।
सिद्धार्थ आर्ट फाउण्डेसनकी निर्देशक संगीता थापाका अनुसार, रुविन म्युजियम अफ आर्ट, अमेरिकाले यस महोत्सवका लागि नेपाल प्रदर्शनी कक्ष उपलब्ध गराएको छ । महोत्सवका लागि हितमान गुरुङ र सिलाशा राजभण्डारीले क्युरेटिङको जिम्मा लिनुभएको छ । सो महोत्सवमा कलाकार आङछिरिङ शेर्पाले अन्य नेपाली कलाकारसँगको सहकार्यमा तयार पारिएका कलाको प्रदर्शनी गरिने जनाइएको छ । कलाकार आङछिरिङले आशा राई, विजय महर्जन, दुर्गा श्रेष्ठ, कर्म लामा, मउण्ट रिफ््युज, पासाङ लामा, फुर्वा ह्योल्मो, रमेश श्रेष्ठ, सजल सिवाकोटी, सङ्गीता महर्जन, सुनिलबहादुर मोक्तान, हिमालयन आर्ट ग्यालरी, भुटि उख्याव, जाङ्बु लामा, ङवाङ्ग लुढुप र उर्गेन दोर्जे शेर्पासँगको सहकार्यमा तयार पारिएका कला महोत्सवमा प्रदर्शन गरिने जनाइएको छ ।
कलाकार आङछिरिङले भन्नुभयो, “कलाको त्यो विश्व महोत्सवमा नेपाली कला र कलाकारको सहभागिता निकै महत्वपूर्ण छ । यसले नेपाली कलालाई हस्ताकलाको रुपमा मात्र बुझ्ने विश्व बजारमा नेपाली विशिष्ट कलाको परिचय गराउन सहयोग पुर्याउँछ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?