logo
२०८१ बैशाख २१ शुक्रवार



किराँती संस्कृति संरक्षणमा बाम्बुले सक्रिय बन्दै   

कला |




ओखलढुङ्गा, भदौ २ गते । 
 
ओखलढुङ्गाका बाम्बुले राई किराँती संस्कृति संरक्षणमा जुटेका छन् । आफ्नो पुख्र्यौली थलो जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुलाई केन्द्र बनाएर बाम्बुले राईहरू संस्कृति संरक्षणमा जुटेका हुन् ।    
    
राष्ट्रिय गानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई)देखि देश विदेशमा छरिएर रहेका बाम्बुले युवाहरू राई जातिको संस्कार बचाउन लागि परेका छन् । बाम्बुले राई समाज नेपाल (वाम्रास)को संस्थागत पहलमा तीन वर्षयता धार्मिक तथा ऐतिहासिक सम्पदाको निर्माण लगायतका काम जिल्लामा भइरहेका छन् ।    
    
३५ फिट अग्लो स्वालेवा    
    
उँबुमा ३५ फिट अग्लो स्वालेवा (चिण्डो) निर्माण गरिएको छ । वाम्रास संस्थाको पहलमा किराँत समुदायको सांस्कृतिक प्रतीकमा रूपमा लिइने स्वालेवा बनाइएको हो । बाम्बुले राईहरूको उद्गमस्थल मानिने उँबुमा किराँत संस्कृतिको पहिचान स्थापित गराउन स्वालेवा पार्कको परिकल्पना गरिएको वाम्रासका केन्द्रीय अध्यक्ष गजुरधन राईले बताउनुभयो । उँबुलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ ।    
    
“यो ठाउँ हामी किराँतीको पुख्र्यौली थलो हो । यसलाई विश्वका नागरिकले घुम्ने र यहाँ आएपछि किराँती सभ्यताको सबैकुरा देख्ने ठाउँका रूपमा विकास गरिरहेका छौँ”, नेपाल टेभिभिजनमा आबद्ध वरिष्ठ पत्रकारसमेत रहनुभएका अध्यक्ष राईले भन्नुभयो, “बाम्बुले पहिचान स्वालेवा स्तम्भ पार्क यो एक जाति विशेषको होइन । राज्यको सम्पत्ति पनि हो ।” स्वालेवा स्तम्भ वरिपरि पर्खाल घेराबार हुनेछ । सांस्कृतिक प्रतीकका अन्य मूर्तिकला, फूलबारी र सङ्ग्रहालय निर्माणको काम पनि भइरहेको छ ।    
    
स्वालेवा पार्क निर्माणका लागि तत्कालीन सांसद रामहरि खतिवडाले रु १० लाख शुरुमा सहयोग गर्नुभएको थियो । मानेभञ्ज्याङ गाउँपालिका ३ नम्बर वडा र स्थानीय तथा देश विदेशबाट सहयोग सङ्कलन गरिएको वाम्रासका उपाध्यक्ष तथा पार्क निर्माण समितिका अध्यक्ष शुभचन्द्र राईले बताउनुभयो । अझै केही रकम आवश्यक पर्ने भएकाले स्थानीय तह, प्रदेश र केन्द्र सरकारका जनप्रतिनिधिलाई आग्रह गरिएको उहाँको भनाइ छ ।    
     
वाम्रासको पहल र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागको प्राविधिक सहयोगमा स्तम्भ निर्माण गरिएको हो । स्तम्भ निर्माणका निम्ति साविक उँबु गाउँ विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण राई तथा उहाँका चार दाजुभाइले एक रोपनी १४ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।    
    
पर्यटन प्रवद्र्धनमा जोड    
    
किराँत बाम्बुले राईहरुको भाषा, धर्म, संस्कार, संस्कृति, रहनसहन र पुख्र्यौली विरासत झल्काउने गरी निर्माण गरिएको स्वालेवा पार्कको राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माईला) सहित सांसद यज्ञराज सुनुवार र प्रदेशसभा सदस्य मोहन खड्काले स्थलगत अवलोकन गर्नुभएको छ । बाम्बुले राईहरुको महानपर्व ढ्वाङकुम विशेष कार्यक्रमलाई सम्बोधन गर्न उँबु पुगेका सांसद सहितका सरोकारवालाले स्वालेवा पार्कको अवलोकन गर्नुभएको हो ।    
    
राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाले नेपालका जातजातिको भाषा, धर्म, लोक संस्कृति नै देशको सम्पत्ति भएको बताउनुभयो । “मैले राष्ट्रिय गान लेख्दा छोटोमा समेटेको छु । देशवासीको भाषा, धर्म र संस्कृति नै मुलुकको सम्पत्ति हो”, उहाँले भन्नुभयो, “बाम्बुले दाजुभाइहरुले उँबुमा बनाएको स्वालेवा पार्कले कुनै दिन विश्वको ध्यान तान्नेछ । अन्य जातजातिका आ–आफ्नै पहिचान छन्, ती सबैको संरक्षण, विकास र प्रचार जरुरी छ ।” नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सफल बनाउन जातीय पहिचान र पुरानो संस्कृितको प्रदर्शन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।    
    
सांसद यज्ञराज सुनुवारले ओखलढुङ्गा जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने काम भइरहेको बताउनुभयो । उँबुको स्वालेवा पार्कसहितका सबै पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासका लागि तीनवटै तहका सरकार गम्भीर भएर लागेको सांसद सुनुवारको भनाइ थियो । “अहिले हाम्रो ध्यान विकास र समृद्धिमा केन्द्रित छ, ओखलढङ्गाको विकास र समृद्धिको आधार भनेकै कृषि र पर्यटन हो”, उहाँले भन्नुभयो, “पोकली झरनादेखि थोलेदेम्बा डाँडा र ककनी मन्दिरदेखि लिब्जु उँबुसहित जिल्लाका सबै सम्भावित क्षेत्रलाई पर्यटकीय मार्गको रूपमा जोडिन्छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याइन्छ, त्यसका लागि ढुक्क हुन आग्रह गर्दछु ।”    
    
 धार्मिक क्षेत्रलाई पुरानै शैलीमा र पर्यटकीय क्षेत्रलाई आधुनिक शैलीमा विकास गरिने सांसद सुनुवारले बताउनुभयो ।    
    
 प्रदेश नं १ का अर्थ समिति सभापतिसमेत रहेका प्रदेशसभा सदस्य मोहन खड्काले प्रदेश सरकार जातजाति, भाषा र संस्कृतिको संरक्षणमा जुटेको बताउनुभयो । प्रदेशका सबै जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने नीतिअनुरुप काम भइरहेको उहाँको भनाइ थियो । “विश्वले चिनेको सगरमाथादेखि हामीले भर्खर विकास गर्दै गरेका संरचनासमेत हाम्रा सम्पत्ति हुन्, यसको विकास र प्रचारका लागि प्रदेश सरकारले काम अघि बढाइसकेको छ”, सांसद खड्काले भन्नुभयो । किराँती संस्कृतिको संरक्षणमा जुटेका बाम्बुलेहरुले प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न माग गर्दै आएका छन् । (रासस)     
–––  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?