logo
२०८१ जेष्ठ ३ बिहीवार



पहिलो एकदिवसीयमा भारतको ६६ रनको जित

क्रिकेट |
खेलकुद |


पहिलो एकदिवसीयमा भारतको ६६ रनको जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ११ गते । भारतले इंग्ल्याण्डविरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल ६६ रनले जितेको छ । जितसँगै भारतले तीन खेलको श्रृखंलामा १–० को अग्रता लिएको छ ।
भारतले प्रस्तुत गरेको ३१८ रनको लक्ष्य पछ्याउँदै इंग्ल्याण्डले ४२ ओभर एक बलमा मात्र २५१ रनमा समेटिन पुग्यो । इंग्ल्याण्डका लागि ओपनर ब्याट्सम्यानद्वय जैसन रोय र जोनी बैरिष्टोले पहिलो विकेटका लागि १३५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाउनुभयो । तर मध्यक्रम र पुछारका ब्याट्सम्यानले सुरुवाती प्रदर्शनलाई निरन्तरता दिन नसक्दा ऊसले ६६ रनको फराकिलो अन्तरको हार बेहोर्नुपर्यो । रोयले ४६ तथा बैरिष्टोले ९४ रनको योगदान दिनुभयो । मोइन अलिले ३० रन बनाउनुभयो ।
भारतका लागि तीव्र गतिका बलर प्रसिद्ध कृष्णले आफ्नो ’‘डेब्यु’ खेलमै आठ ओभरमा ५४ रन खर्चेर सर्वाधिक चार विकेट लिनुभयो । श्रद्धुल ठाकुरले तीन तथा भुवनेश्वर कुमारले दुई र क्रुनाल पाण्ड्याले एक विकेट लिनुभयो । भुवनेश्वरले नौ ओभरमा ३० रन खर्चेर दुई विकेट लिनुभयो ।
त्यसअघि, पूणेमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको भारतले औसत सुरुवात गर्दै पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्यो । रोहित शर्मा २८ रन बनाएर पेभेलियन फर्किदा शिखर धवनले बिराट कोहलीसँग दोस्रो विकेटका लागि १०५ रनको उत्कृष्ट साझेदारी गरेर टोलीलाई स्थिरता दिलाउनुभयो । कोहली ५६ रन बनाएर पेभेलियन फर्किनुभयो । शिखर धवनले ९८ रनमा बेन्न स्टोक्सको बलिङमा इयन मोर्गनद्वारा क्याच आउट हुनुभयो । ४० ओभरमा २०५ रनमा पाँच विकेट गुमाएको भारतका लागि विकेटकीपर ब्याट्सम्यान करण लोकेश राहुलले क्रूनाल पाण्ड्यासँग छैठौं विकेटका लागि ११२ रनको साझेदारी गर्दै टोलीको योगफल ३१७ रनसम्म पुर्याउनुभयो । राहुलले मात्र ४३ बलमा चार चौका र चार छक्काको सहयोगमा ६२ तथा पाण्ड्याले ३१ बलमा ५८ रनको विष्फोटक पारी खेल्नुभयो ।
इंग्ल्याण्डका लागि बेन्न स्टोक्सले तीन तथा मार्क ऊडले दुई विकेट लिनुभयो । शिखर धवन प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?