logo
२०८१ जेष्ठ १ मंगलवार



दोस्रो एकदिबसीयमा भारतको छ विकेटको हार

क्रिकेट |
खेलकुद |


दोस्रो एकदिबसीयमा भारतको छ विकेटको हार
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १४ गते । इंग्ल्याण्डले भारत विरुद्धको दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा छ विकेटको जित हात पारेको छ । जितसँगै तीन खेलको एकदिबसीय श्रृखंला दुई खेलपछि १–१ को स्थितिमा आइपुगेको छ ।
भारतले प्रस्तुत गरेको ३३७ रनको लक्ष्य इंग्ल्याण्डले ४३.३ ओभरमा मात्र चार विकेटको क्षतिमा पुरा गर्यो । इंग्ल्याण्डको जितमा ओपनर जोनी बैरिष्टोले सर्बाधिक १२४ रनको योगदान दिनुभयो । उहाँले अर्का ओपनर जैसन रोयसँग पहिलो विकेटका लागि ११० रनको साझेदारी गरी जितको आधार तयार गर्नुभयो । तेस्रो नम्बरमा ब्याटिंग गर्न आउनुभएका बेन्न स्टोक्सले मात्र ५२ बलमा चार चौका र दश छक्कासहित ९९ रनको पारी खेलेर खेलमा भारतको पुनरागमन खारेज गर्नुभयो । स्टोक्स र बैरिष्टा पेभेलियन फर्किदा इंग्ल्याण्डलाई १५ ओभरमा ५० रन आवश्यक थियो । लियाम लिभिंग्स्टन र देविड मलानले उक्त लक्ष्य सहजै भेट्टाउनुभयो ।
भारतका लागि प्रसिद्ध कृष्णले सर्बाधिक दुई तथा भुवनेश्वर कुमारले एक विकेट लिनुभयो ।
यसअघि पूणेमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको घरेलु टोलीले नौ रनमा शिखर धवन र ३७ रनमा रोहित शर्माको रुपमा दुई विकेट गुमाएर कमजोर सुरुवात गर्न पुग्यो । तर कप्तान विराट कोहली र करण लोकेश राहुलले उत्कृष्ट पारी खेल्दै तेस्रो विकेटका लागि १२१ रनको साझेदारी गरेर टोलीको योगफल उकास्नुभयो । कोहलीले ६६ रनको योगदान दिनुभयो । राहुलले १०८ रन बनाएर पेभेलियन फर्किदा भारतले ४४ ओभरमा २७१ रन जोडिसकेको थियो । ऋषभ पन्तले मात्र ४० बलमा ७७ रनको विष्फोटक पारी खेल्दा भारत सम्मानजनक योगफलसम्म पुगेको थियो । हार्दिक पाण्ड्याले १६ बलमा ३५ रन बनाउनुभयो ।
इंग्ल्याण्डका लागि रीस टोप्ली र टम कर्रनले सामान दुई दुई तथा साम कर्रन र आदिल राशिदले एक एक विकेट लिनुभयो ।
बैरिष्टो प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?