logo
२०८१ जेष्ठ २ बुधवार



प्रदेश १ को बिराटनगरमा प्रमुख प्रशिक्षक डेभ व्हाटमोरको प्रशिक्षण

क्रिकेट |
खेलकुद |


प्रदेश १ को बिराटनगरमा प्रमुख प्रशिक्षक डेभ व्हाटमोरको प्रशिक्षण
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १४ गते । नेपाल क्रिकेट संघले क्रिकेटलाई स्थानीय स्तरसम्म ऊर्जा थप्न सुरु गरेको क्रिकेट क्लिनिक प्रदेश १ मा सम्पन्न भएको छ । संघले प्रदेश १ को बिराटनगरमा चैत्त ११ गतेदेखि क्रिकेट क्लिनिक सञ्चालन गरेको थियो ।
राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेभ व्हाटमोरले चार दिबसीय ‘हाइ परफरमेन्स क्रिकेट क्लिनिक’को क्रममा स्थानीय स्तरका क्रिकेटरसँग साक्षात्कार गरी अन्तरक्रिया गर्नुभयो । उक्त कार्यक्रममा प्रादेशिक क्रिकेट संघ तथा मोरङ्ग जिल्ला क्रिकेट संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
क्रिकेट क्लिनिकको क्रममा प्रशिक्षक डेभ व्हाटमोरले स्थानीय स्तरका क्रिकेट खेलाडीसँग क्रिकेट कौशलबारे प्रशिक्षण दिनुभएको थियो । स्थानीय तहका क्रिकेटका प्रशिक्षकलाई प्रमुख प्रशिक्षक व्हाटमोरले प्रशिक्षणमा आधुनिक प्रबिधिबारे जानकारी गराउनुभएको थियो ।
उक्त प्रशिक्षणमा पुरुष र महिला क्रिकेटरको समेत सक्रिय सहभागिता रहेको थियो ।
नेपाल क्रिकेट संघले सातवटै प्रदेशमा चैत्त र बैशाख महिनामा ‘हाइ परफरमेन्स क्रिकेट क्लिनिक’को आयोजना गर्ने तय गरेको छ । प्रदेश २ मा उक्त कार्यक्रम चैत्त २० गतेदेखि हुने तय भएकोमा त्रिदेशीय श्रृखंलाको तयारी तथा प्रशिक्षणको लागि तात्काल स्थगित भएको नेपाल क्रिकेट संघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?