logo
२०८१ जेष्ठ ३ बिहीवार



बजाज खडक वारियर्सले जित्यो सप्तरी प्रिमियर लिग

क्रिकेट |
खेलकुद |


बजाज खडक वारियर्सले जित्यो सप्तरी प्रिमियर लिग
तस्विर–महबूब रेजा राइन


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १४ गते । विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ । सप्तरीको राज रंगशालामा अत्यन्तै रोमाञ्चक स्पर्धामा वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई एक रनको झिनो अन्तरले हराएको छ ।
बजाज खडक वारियर्सले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा नौ विकेट क्षतिमा १४५ रन बनाउन सक्यो । रुपनी राईडर्सको लागि निरज मुखियाले अविजित ५२ रन बनाउनुभयो । यद्दपी जितका लागि पर्याप्त भएन । मुखियाले ३१ बलमा तीन चौका र चार छक्का प्रहार गर्नुभयो । सुनिल धमलाले २३ रन, अमित यादवले १९ रन तथा कुशल भुर्तेलले १५ रनको योगदान दिदा रुपनी राइडर्स लक्ष्यभन्दा दुई रन पछाडि रहन गयो ।

बजाज खडक वारियर्सको बलिंगमा अनिल खरेल र गोमानंद अमात्यले समान तीन तीन विकेट लिनुभयो । खरेलले चार ओभरमा एक मेडन राख्दै १० रन तथा अमात्यले चार ओभरमा १८ रन खर्चिनुभयो । भुलावन सहनीले दुई विकेट तथा पवन सर्राफले एक विकेट लिनुभयो ।
यस अघि टस जितेर ब्याटिंग रोजेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा छ विकेट क्षतिमा १४६ रन बनाएको थियो ।
वारियर्सका लागि ओपनर निरज यादवले सर्वाधिक ५१ रन बनाउनुभयो । उहाँले ५० बल खेलेर चार चौका र एक छक्का प्रहार गर्नुभयो । अर्का ओपनर अनिल शाहले २९ रन, कप्तान विवेक यादवले २२ रन तथा भुलावन सहनीले अविजित १३ रनको योगदान दिनुभयो ।
पहिलो विकेटको लागि अनिल र निरजले ५८ रनको साझेदारी गर्दा खडक वारियर्सले उत्कृष्ट सुरुवात गर्यो ।
रुपनी राईडर्सको बलिंगमा दायाँ हाते फास्ट बलर अनिल यादवले सर्वाधिक तीन विकेट लिनुभयो । उहाँले चार चार ओभरमा ३४ रन खर्चिनुभयो । सुनिल धमला र कुशल भुर्तेलले समान एक एक विकेट लिनुभयो । उपाधि सहित बजाज खडक वारियर्सले तीन लाख रुपियाँबाट पुरस्कृत भयो । उपविजेता रुपनी राईडर्सले एक लाख ५० हजारमा चित्त बुझाउनुपर्यो ।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी बजाज खडक वारियर्सका अनिल कुमार शाह चुनिनुभयो । उहाँ २५ हजार रुपियाँसहित पुरस्कृत हुनुभयो । प्रतियोगितामा अनिलले दुई शतक र एउटा अर्धशतक प्रहार गर्दै पाँच खेलमा कुल ३३४ रन बनाउनुभएको थियो । प्रतियोगिताकै उत्कृस्ट बलर बिशाल सुश्लिंग र उत्कृस्ट ब्याट्सम्यान अनिल शाह चुनिनुभयो । दुबैजनाले १५ हजार रुपियाँबाट पुरस्कृत हुनुभयो । विशालले प्रतियोगिताको चार खेलमा नौ विकेट लिनुभयो ।
विजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका वडाध्यक्ष पिताम्बर यादव, राजविराज नगरपालिकाका वडाध्यक्ष जयनारायण मण्डल, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, क्रिकेट विकास प्रतिष्ठानका अध्यक्ष इन्द्रनरायण देव लगायत अतिथिले पुरस्कृत गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?