गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १ गते । नेपाल क्रिकेट संघले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलिको घोषणा गरेको छ । ज्ञानेन्द्र मल्ल कप्तानको भूमिकामा रहनुहुनेछ ।
नेपाल क्रिकेट संघले बुधबार घोषणा गरेको १५ सदस्यीय टोलीका पुरानै अनुहार हाबी देखिएको छ । दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहराले टोलिमा स्थान बनाएका छन् ।
क्यानका सचिब अशोकनाथ प्याकुरेलका अनुसार आरिफ शेष र आसिफ शेष, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरी र सुशन भारी टोलीमा अटाएका छन् ।
नेदरल्याण्ड्स, मलेसिया र नेपाल सम्मिलित त्रिदेशीय कप क्रिकेट प्रतियोगिता वैशाख ४ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा हुनेछ । प्रतियोगिता खेल्न नेदरल्याण्ड्स र मलेसियाली क्रिकेट टोलि मंगलबार नै काठमाडौं अवतरण गरिसकेको छ।