गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ५ गते । नेदरल्याण्ड्सले मलेसियासमक्ष १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेदरल्याण्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा मात्र दुई विकेटको क्षतिमा १९१ रनको विशाल योगफल तयार गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रनमै टोबिस भिसीको रुपमा पहिलो विकेट गुमाएर कमजोर सुरुवात गर्यो । तर अर्का ओपनर म्याक्स ओ डौडले अविजित रहँदै १३३ रनको उत्कृष्ट पारी खेलेपछि नेदरल्याण्ड्सले विशाल योगफल तयार गर्न सफल भयो । म्याक्सले मात्र ७३ बलमा १५ चौका र छ छक्काको सहयोगमा १३३ रन जोड्नुभयो । विकेटकीपर ब्याट्सम्यान स्कट्ट एडवार्ड्सले ३१ रन बनाएर पेभेलियन फर्किनुभयो । बेन्न कूपरले २० रन बनाएर अविजित रहनुभयो । कूपरले म्याक्ससँग तेस्रो विकेटका लागि १२५ रनको साझेदारी गर्नुभयो । दुबै जनाले मात्र ६९ बलमा १२५ रन जोडे ।
मलेसियाका लागि पवनदीप सिंह र अनवर रहमानले सामान एक एक विकेट लिनुभयो ।