logo
२०८१ मंसिर ८ शनिवार



नेदरल्याण्ड्सले तीन विकेटले जित्यो, नेपाली बलरले विशाल योगफल रक्षा गर्न सकेनन्

क्रिकेट |
खेलकुद |


नेदरल्याण्ड्सले तीन विकेटले जित्यो, नेपाली बलरले विशाल योगफल रक्षा गर्न सकेनन्
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ७ गते । नेदरल्याण्ड्सले नेपालमाथि तीन विकेटको जित हात पारेको छ । खेल सकिन तीन बल बाँकी छँदै नेदरल्याण्ड्सले सात विकेटको क्षतिमा २०९ रन बनाएर नतिजा आफ्नो पक्षमा ल्यायो । नेपालले २०७ रनको विशाल योगफल तयार गरेपनि फितलो बलिङ प्रदर्शनले घरेलु मैदानमा निराशाजनक हार बेहोर्न बाध्य भयो । नेपाल हारपछि प्रतियोगितामा एक खेल अगावै फाइनल पुग्ने सम्भाबनालाई समेत टार्यो । नेपालले फाइनलमा स्थान सुनिश्चित गर्न आफ्नो अन्तिम खेलमा मलेसियालाई हराउनुपर्नेछ ।
नेदरल्याण्ड्सको जितमा मध्यक्रमका ब्याट्सम्यान बेन्न कूपरले ५५ रनको योगदान दिनुभयो । बास डे लीडले अविजित रहँदै ८१ रनको विष्फोटक पारी खेलेपछि नेदरल्याण्ड्सले नेपालमाथि जित हात पार्न सफल भयो । उहाँले मात्र ४२ बलमा सात चौका र पाँच छक्का लगाउनुभयो । कप्तान पिटर सीलरले मात्र १५ बलमा ३१ रन बनाएर नेदरल्याण्ड्सलाई जित नजिक पुर्याउनुभयो ।
नेदरल्याण्ड्सलाई जितका लागि ३९ बलमा जितका लागि ७४ रन आवश्यक छँदा पिटर सीलरले विष्फोटक पारी खेल्दै दुई ओभरमा २५ रन आवश्यक रहेको स्थितिसम्म लग्नुभयो । लीडले उक्त लक्ष्य खेल सकिन तीन बल बाँकी छँदै सहजै पुरा गर्नुभयो । बास डे लीड प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।
'टर्निङ प्वाइन्ट'
नेदरल्याण्ड्सले सन्दीप लामिछानेको १७ औं र अविनाश बोहराको १८ औं गरी दुई ओभरमा मात्रै ३९ रन जोड्यो । १८ औं ओभरमा १६२ रनमा चार विकेट गुमाएको नेदरल्याण्ड्सका लागि कप्तान पिटर सीलरले सन्दीप लामिछानेको ओभरको पहिलो तीन बलमा तीन छक्का लगाएर नेपाललाई दबाबमा ल्याएको थियो । तर ओभरको पाँचौं बलमा सन्दीपले सीलरलाई ज्ञानेन्द्र मल्लको हातबाट समात्न लगाएपछि नेदरल्याण्ड्स दबाबमा आयो । बास डे लीडको आक्रामक ब्याटिङ भने रोकिएन । उहाँले १९ औं ओभरमा अनिवाश बोहराको चार बलमा १७ रन बटुल्नुभयो । जसले गर्दा नेदरल्याण्ड्सलाई अन्तिम ओभरमा जितका लागि मात्र छ रन आवश्यक रहन गयो ।
नेपालको बलिङ
कप्तान ज्ञानेन्द्र मल्लले नेदरल्याण्ड्सलाई रोक्न सात जना बलर उपयोग गर्नुभयो । १४ रनमै पहिलो विकेट गुमाएको नेदरल्याण्ड्सले भने त्यसपछिको १४ औं ओभरसम्म लक्ष्यको आधारमा आवश्यक रन रेट सधैं अगाडि लिएर नै बढ्यो । प्रमुख तीब्र गतिका बलर सोमपाल कामी विकेटविहीन हुन पुग्नुभयो । उहाँले दुई ओभरमा २३ रन खर्चिनुभयो । सन्दीपले नियमित अन्तरालमा विकेट दिलाएपनि नेदरल्याण्ड्सलाई रोक्न पर्याप्त भएन । सन्दीप लामिछाने सबैभन्दा सफल बलर हुन सक्नुभयो । उहाँले चार ओभरमा ४८ रन खर्चेर महत्वपूर्ण चार विकेट लिनुभयो ।
दीपेन्द्रसिंह ऐरीले दुई ओभरमा १२ रन खर्चिनुभयो । साहब आलम फेरी एकपटक निराश गर्नुभयो । उहाँले दुई ओभर बलिङ गरेपनि २३ रन खर्चेर कुनै विकेट हात पार्न सक्नुभएन । अविनाशले चार ओभरमा ४३ रन खर्चेको मूल्यमा एक विकेट लिनुभयो ।
कुशल मल्लको बलिङ्ग प्रभाबकारी रह्यो । तर कप्तान मल्लले उहाँको पहिलो दुई ओभरमा खर्चिनुभएको औसत रनको सही सदुपयोग गर्न सक्नुभएन । उहाँले आर्यन दत्तको विकेट लिएर दुई ओभरमा १२ रन खर्चेर एक विकेट लिनुभयो । करण केसीले तीन ओभर तीन बलमा ३८ रन खर्चेर एक विकेट लिनुभयो ।
नेपालको ब्याटिङ
नेपालले नेदरल्याण्ड्स समक्ष दुई सय सात रनको लक्ष्य प्रस्तुत गरेको थियो । मलेसिया सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंला अन्तगर्तको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्स बिरुद्ध पुरै २० ओभर खेल्दै छ विकेटको क्षतिमा २०६ रनको योगफल तयार गर्न सफल भयो ।
टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो अहिलेसम्मकै दोस्रो सर्बाधिक ठूलो योगफल हो । यसअघि नेपालले दक्षिण एशियाली खेलकुदमा भुटान बिरुद्ध २० ओभरमा मात्र तीन विकेटको क्षतिमा २३६ रनको योगफल तयार गरेको थियो । तर टी ट्वान्टी अन्तर्राष्ट्रियको विश्व वरियतामा नेपालभन्दा तीन स्थान मात्रै मुनि रहेको नेदरल्याण्ड्स बिरुद्धको प्रदर्शनले नेपालको ब्याटिंगमा सुधार आएको देखाएको हो ।
नेपालले नेदरल्याण्ड्स बिरुद्ध तयार गरेको योगफल प्रतियोगिताको सर्बाधिक ठूलो योगफल हो । यसअघि नेदरल्याण्ड्सले मलेसिया बिरुद्ध १९२ रनको योगफल तयार गरेको थियो ।
सुरुवाती र मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपनि नेपालले १२ औं ओभरदेखि १७ औं ओभरको बीचमा ७१ रन जोडेपछि महत्वपूर्ण चार विकेट गुमाउन पुग्दा अपेक्षाकृत योगफल जोडन सकेन ।
नेपालको ब्याटिंगमा सोमपाल कामी र बिनोद भण्डारी अविजित रहनुभयो । सोमपाल मात्र १३ बलमा २१ रन तथा बिनोद भण्डारी सात बलमा सात रन बनाएर अविजित रहनुभयो ।
कुशलको लगातार तेस्रो अद्र्धशतक
यद्दपी नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याउन कुशल भुर्तेलले प्रतियोगितामा लगातार तेस्रो अद्र्धशतक लगाउनुभयो । उहाँले मात्र ४१ बलमा आफ्नो अद्र्धशतक पुरा गर्नुभयो । १३ औं ओभरको अन्तिम बलमा आर्यन दत्तको बलमा छक्का लगाएर उहाँले अद्र्धशतक पुरा गर्दा नेपालले दुई विकेटको क्षतिमा ११७ रन जोडेको थियो । १५ औं ओभरको तेस्रो बलमा कुशल भुर्तेल भिभियन किंग्माको बलमा डी लीडको हातमा क्याच थमाउनुअघि ६२ रनको योगदान दिनुभयो । उहाँले ४६ बलमा आठ चौका र एक छक्का लगाउनुभयो ।
दिपेन्द्र ऐरीको पहिलो टी ट्वान्टी अद्र्धशतक
दिपेन्द्रसिंह ऐरीले अर्को छेऊबाट साथ दिएपछि नेपालले सम्मानजनक योगफल तयार गर्न सफल भयो । भुर्तेलले ऐरीसँग तेस्रो विकेटका लागि मात्र ४५ बलमा ७८ रनको साझेदारी गर्नुभयो ।
ऐरीले मात्र २८ बलमा अद्र्धशतक लगाउनुभयो । उहाँले १६ औं ओभरको पहिलो दुई बलमा दुई छक्का लगाएर अद्र्धशतक पुरा गर्नुभयो । टी ट्वान्टी अन्तर्राष्ट्रियमा यो उहाँको पहिलो अद्र्धशतक हो । ओभरकै अर्को बलमा ३० बलमा तीन चौका र पाँच छक्का लगाएर ६० रनको ब्यक्तिगत् योगफलमा उहाँ पेभेलियन फर्किनुभयो । पीटर सीलरले उहाँलाई भिस्सीको हातबाट क्याच आउट गराउनुभयो । ऐरी पेभेलियन फर्किदा नेपालले १५ ओभर तीन बलमा १५४ रन जोडेको थियो । ऐरीपछि ब्याटिंग गर्न आउनुभएका कुशल मल्लले मात्र सात बलमा तीन छक्काको सहयोगमा १८ रन बनाएर पेभेलियन फर्किनुभयो । मल्ल पेभेलियन फर्किदा नेपालले १७ ओभरमा पाँच विकेटको क्षतिमा १६ ओभर चार बलमा १७६ रन बनाएको थियो । करण केसी मात्र एक रन बनाएर पेभेलियन फर्किनुभयो ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको नेपालले २० रनमै आशिफ शेषको रुपमा पहिलो विकेट गुमाएर कमजोर सुरुवात गर्यो । कुशल र आशिफको ओपनिङ जोडीले यसअघि प्रतियोगिताको दुबै खेलमा शतकीय साझेदारी गरेर उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । आशिफ भिभियन किंग्माकै बलमा डक आउट हुनुभयो । कप्तान ज्ञानेन्द्र मल्लले १४ बलमा २० रन बनाएर पेभेलियन फर्किदा नेपालले सात ओभरमा ६३ रन जोडेको थियो । मल्लले १४ बलमा दुई चौका र एक छक्का लगाउनुभयो ।
नेदरल्याण्ड्सका लागि पीटर सीलर र भिभियन किंग्माले सामान दुई दुई तथा बास डे लीड र आर्यन दत्तले एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?