गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १२ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले आफ्नो ट्वीटर खाताको प्रोफाइल तस्विर परिवर्तन गरेको छ । नेपालले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा नेदरल्याण्ड्सलाई हराए लगत्तै आईसीसीको ट्वीटर हयाण्डलले आफ्नो प्रोफाइल तस्विर परिवर्तन गरी नेपालले कप उचालेको तस्विर राखेको छ ।
नेपालले मलेसिया सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड्सलाई १४२ रनले हराएर उपाधि जितेको हो । नेपालले ट्रफी उचाले लगत्तै साँझ सात बजे आईसीसीले आफ्नो प्रोफाइलको आवरण तस्विर परिवर्तन गरी राखेको हो । आईसीसीको आवरण तस्विरमा ९४८ जनाले रिट्वीट गरेका छन् । आईसीसीको ट्वीटर खातालाई एक करोड २२ लाख जनाले पछ्याएका छन् । अगष्ट २०१० मा आईसीसीले आफ्नो ट्वीटर खाता सञ्चालन गरेको हो ।