गोरखापत्र अनलाइन
काठमाडौं, असार २३ गते । अफगानिस्तान क्रिकेट बोर्डले लेग स्पिनर राशिद खानलाई अन्तर्राष्ट्रिय टी ट्वान्टीको कप्तानको जिम्मेवारी दिएको छ । मध्यक्रमका ब्याट्सम्यान जजिबुल्लाह जद्रान उपकप्तानको जिम्मेवारीमा बस्नुहुनेछ ।
राशिदकै नेतृत्वमा अफगानिस्तानले यसै वर्ष आयोजना हुने टी ट्वान्टी विश्वकपमा सहभागी हुनेछ । राशिदले यसअघि समेत तीन महिनाका लागि कप्तानको जिम्मेवारी सम्हाल्नुभएको थियो । सन् २०१९ को सेप्टेम्बर र नोभेम्बरमा उहाँले टी ट्वान्टी टोलिको नेतृत्व गर्नुभएको थियो । जसमा उहाँले १६ खेलमा सातमा टोलिलाई जिताउनुभएको छ ।
तर लगत्तै उहाँले बिस्थापित गर्नुभएका असगर अफगानले उहाँलाई बिस्थापित गर्नुभयो । असगर अफगान पुनः बर्खास्त हुँदा १५ महिनापछि राशिदकै काँधमा कप्तानको जिम्मेवारी आइपुगेको छ ।
राशिद खान अन्तर्राष्ट्रिय टी ट्वान्टीका बलरहरुमा उत्कृष्ट पाँचमा हुनुहुन्छ । उहाँले ९५ विकेट लिनुभएको छ ।