logo
२०८१ मंसिर ९ आईतवार



सन्दीप लामिछाने नेपाल फर्किदै

क्रिकेट |
खेलकुद |


सन्दीप लामिछाने नेपाल फर्किदै
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ६ गते । नेपाली लेग स्पिनर सन्दीप लामिछाने ‘द हण्ड्रेड’ सुरु नहुँदै नेपाल फर्किनुहुने भएको छ । ‘द हण्ड्रेड’ फ्रेञ्चाइज लिग बुधबारबाट इंग्ल्याण्डमा सुरु हुँदैछ ।
इंग्ल्याण्ड क्रिकेट बोर्डको आयोजनामा सुरु हुने फ्रेञ्चाइज क्रिकेट लिगका लागि सन्दीप लामिछानेलाई ओभल इन्भिसिबलले अनुबन्ध गरेको थियो । ‘टायर ५’ भिसामा गत् असार तेस्रो साता इंग्ल्याण्ड पुग्नुभएका सन्दीप लामिछानेले दश दिने क्वारेन्टिन पुरा गरेर द हण्ड्रेड खेल्न मंगलबार नै अभ्यासमा फर्किनुपर्ने थियो । तर द हण्ड्रेडमा सहभागी हुन अर्को भिसा आवश्यक पर्ने भएपछि उहाँ प्रतियोगिता सुरु नहुँदै नेपाल फर्किन लाग्नुभएको हो ।
सन्दीप लामिछानेका ब्यवस्थापक रमन सिवाकोटीले सन्दीप बुधबार फर्किने बताउनुभयो । उहाँले एक प्रतियोगिताका लागि लिइएको भिसामा अर्को प्रतियोगितामा खेल्न नपाउने बताइएपछि सन्दीप स्वदेश फर्किन लागेको बताउनुभयो । ‘टायर ५’ भिसा अस्थायी ‘वर्क पर्मिट’ बोकेको भिसा हो । “सुरुमा आयोजकले पनि एउटै भिसाले खेल्न पाउने बताएको थियो, अहिले आएर समस्या देखिएको हो ।”–सिवाकोटीले गोरखापत्र अनलाइनसँगको कुराकानीमा प्रष्ट्याउनुभयो ।
सन्दीपलाई ओभल इन्भिसिबलले ६० हजार पाउन्डमा खरिद गरेको थियो । सन्दीप खेल्ने नभएपछि उहाँको स्थानमा अर्को खेलाडी खेल्ने बताइएको छ । उहाँको स्थानमा ओभल इन्भिसिबलले तब्ररैज सम्सीलाई ल्याउने बताइएको छ । दक्षिण अफ्रिकी देब्रे हातका स्पिनर तबरैज सम्सी हाल आयरल्याण्ड बिरुद्धको टी ट्वान्टी श्रृखंलामा ब्यस्त हुनुहुन्छ । डब्लीनमा उक्त प्रतियोगिता भइरहँदा सम्सीलाई द हण्ड्रेडमा सहभागी हुन क्वारेन्टिन बस्नुपर्ने छैन् ।
सन्दीपले यसअघि भाइटलिटि ब्लास्ट खेल्न गत जेठ महिनामै इंग्ल्याण्ड पुग्नुपर्ने थियो । तर जारी भएको भिसा आउन ढिलाइ भएपछि उहाँले भाइटलिटि ब्लास्ट गुमाउनुपर्यो । उक्त भिसामा नै उहाँ द हण्ड्रेड खेल्न बेलायत पुग्नुभएको थियो ।
यसअघि इन्डियन प्रिमियर लिग(आईपीएल)को पछिल्लो दुई संस्करणमा समेत उहाँ सहभागी हुन सक्नुभएन । सन् २०१९ को संस्करणमा देल्ही क्यापिटल्समा आबद्ध हुनुभएका सन्दीपलाई टोलि ब्यवस्थापनले एउटै खेलमा अबसर नदिइ प्रतियोगिता अबधि भरि बेञ्चमा थन्काउन पुग्यो । गएको संस्करणमा देल्हीले मुक्त गरेपछि आईपीएलको कुनै पनि फ्रेञ्चाइजको ध्यानमा उहाँ पर्नुभएन ।
प्रतियोगिता खेल्न नपाउने भएपछि सन्दीपले आफ्नो ट्वीटर खातामा ‘लज्जास्पद’ लेख्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?