logo
२०८१ मंसिर ९ आईतवार



महबुब आलमलाई बिदाइ गर्न माग

क्रिकेट |
खेलकुद |


महबुब आलमलाई बिदाइ गर्न माग
तस्व्रि–आईसीसी


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १७ गते । नेपाल क्रिकेट सङ्घ प्रदेश २ ले क्रिकेटर महबूब आलमलाई सम्मानसहित राष्ट्रिय बिदाइ गर्न माग गरेको छ । देब्रे हातका तीब्र गतिका बलर महबूब आलमले नेपालको राष्ट्रिय टोलिको प्रतिनिधित्व गरी करिब डेढ दशकसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएको छ ।
सङ्घको प्रादेशिक समितिको बैठकले आलमलाई राष्ट्रिय बिदाइ गर्न माग गरेको हो । सन् २००४ मा यूएई बिरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्नुभएका आलमको विश्व क्रिकेट लिग डिभिजन ५ को प्रदर्शन क्रिकेटकै ऐतिहासिक प्रदर्शनको रुपमा गणना गरिन्छ । उहाँले मोजाम्बिक बिरुद्ध दश विकेट लिएर विश्व कीर्तिमान बनाउनुभएको छ । उक्त खेल जर्सीमा मई २००८ मा भएको थियो ।
सप्तरीका आलम हाल घरेलु क्रिकेट लिग खेले पनि अन्तर्राष्ट्रिय स्पर्धामा खेल्नुभएको छैन । उहाँले अन्तिम पटक सन् २०१२ मा केन्या विरुद्ध यूएईमा अन्तर्राष्ट्रिय टी ट्वान्टीमा नेपालको प्रतिनिधित्व गर्नुभएको छ ।
सङ्घका अध्यक्ष हिरा भगतले यसरी बिदाइ गर्दा खेलप्रति युवाको आकर्षण बढ्ने र खेलाडीले समेत आफ्नो अनुभब र सिकाइ साटन प्रेरित हुने बताउनुभयो ।
प्रादेशिक समितिले क्रिकेटलाई प्रवर्धन तथा खेलाडीलाई आकर्षित गर्न खेलाडीको बिमा, अक्षय कोष स्थापना गरी खेलाडी घाइते भए उपचार खर्च बेहोर्ने, अम्पायर तथा खेल अधिकारीका लागि लेभल वान प्रशिक्षण सुरु गर्ने निर्णय गरेको छ । त्यसैगरी, प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता आगामी माघ महिनाभित्र गर्ने निर्णय गरिएको छ । बैठकले प्रदेश २ संघका उपाध्यक्ष सुनिल महासेठको संयोजकत्वमा निरज कार्की र आकाश पाण्डे सम्मिलित तीन सदस्यीय प्रतियोगिता आयोजक समिति गठन गरेको छ । बैठकले धनुषा जिल्ला क्रिकेट सङ्घका पूर्व अध्यक्ष शिवनारायण झालाई प्रादेशिक समितिको सल्लाहकार मनोनयन गरेको छ ।
बैठकले क्रिकेटर शोभा आलेलाई प्रादेशिक सङ्घको कार्यालय सचिबमा नियुक्त गरेको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?