logo
२०८१ मंसिर ९ आईतवार



नेपालले १९ वर्ष मुनिको विश्वकप खेल्न नपाउने

क्रिकेट |
खेलकुद |


नेपालले १९ वर्ष मुनिको विश्वकप खेल्न नपाउने
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १० गते । नेपालको १९ वर्षमुनिको विश्वकप खेल्ने सपना तुहिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले अमेरिकी, एसियाली र पूर्वी एसियाली राष्ट्रको १९ वर्षमुनिको विश्वकप छनोट प्रतियोगिता नगर्ने निर्णय गरेपछि नेपालले छनोट नै नखेली बाहिरिन पुगेको हो । छनोट प्रतियोगिता आगामी सेप्टेम्बरमा हुने निर्धारण भएको थियो ।
आईसीसीको उक्त निर्णयको प्रभाव नेपालसँगै मलेसिया, कुवेत, सिङ्गापुर र ओमानमाथि परेको छ । यूएई भने स्वतः छनोट भएको छ । आईसीसीको निर्णयको लाभ क्यानाडा, यूएई र पपुवान्यूगिनीले पाउने भएका छन् । क्यानाडा अमेरिकी महादेशबाट, यूएई एसियाबाट र पपुवान्यूगिनी पूर्वी एशिया क्षेत्रबाट विश्वकपमा छनोट हुन सफल भएको हो ।
आईसीसीले कोभिड १९ को कारणले छनोट प्रतियोगिता नहुने जनाउँदै पछिल्लो पाँच खेलमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा यी तीन राष्ट्रलाई स्वतः विश्वकप खेल्ने अवसर दिएको हो । आईसीसीका अनुसार अफ्रिका र यूरोपको छनोट खेल भने हुनेछ ।
यूरोपबाट आयरल्याण्ड, जर्सी, नेदरल्याण्ड्स र स्कटल्याण्डले छनोट खेल्नेछन् । अफ्रिकाबाट नामीबिया, नाइजेरिया, रुवान्डा, तान्जानिया र यूगाण्डाले छनोट खेल्नेछन् । १९ वर्षमुनिको विश्वकप क्रिकेटको १४ औं संस्करण सन् २०२२ मा वेष्टइन्डिजले आयोजना गर्दैछ ।
१९ वर्षमुनिको विश्वकप क्रिकेटमा अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेष्टइन्डिज र जिम्बाब्वेले यसअघि नै स्थान सुनिश्चित गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?