गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २० गते । भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक रवि शास्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँ प्रशिक्षण दलका अन्य तीन सदस्यसँग आइसोलेशनमा बस्नुहुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)का अनुसार शास्त्रीसँगै बलिङ प्रशिक्षक भरत अरुण र फिल्डिङ प्रशिक्षक आर श्रीधर आइसोलेशनमा बस्नुहुने भएको हो । फिजियो नितिन पटेल भने आवश्यक सावधानी अपनाउनुहुने बताइएको छ ।
भारतीय क्रिकेट टोलीसँगै प्रशिक्षक शास्त्री हाल इंग्ल्याण्ड भ्रमणमा हुनुहुन्छ । इंग्ल्याण्ड बिरुद्धको चौथो टेष्टको चौथो दिनमा शास्त्रीमा सङ्क्रमणको पुष्टि भएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले उहाँहरु तीनै जना आइसोलेशनमा रहेको र टोलिका अन्य सदस्यको सम्पर्कमा नआउने जनाएको छ ।