logo
२०८१ मंसिर ९ आईतवार



पचास वर्षपछि भारतले ओभलमा टेष्ट खेल जित्यो

क्रिकेट |
खेलकुद |


पचास वर्षपछि भारतले ओभलमा टेष्ट खेल जित्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । भारतले सन् १९७१ पछि पहिलो पटक इंग्ल्याण्डको ओभल क्रिकेट ग्राउन्डमा टेष्ट खेल जितेको छ । इंग्ल्याण्ड बिरुद्धको चौथो टेष्ट खेलमा १५७ रनको जित हात पार्दै भारतले उक्त कीर्तिमान बनाएको हो । जितसँगै पाँच खेलको टेष्ट श्रृखंलामा भारतले २–१ को अग्रता बनाएको छ ।
भारतले १४ पटक ओभलमा टेष्ट म्याच खेलेको थियो । सन् १९७१ मा भारतले चौथो पारीमा १७३ रनको लक्ष्य पछ्याउँदै जित हात पार्दा पहिलो पटक ओभलमा इंग्ल्याण्डलाई हराएको थियो ।
भारतले प्रस्तुत गरेको ३६८ रनको लक्ष्य पछ्याउँदै इंग्ल्याण्ड मात्र २१० रनमा समेटिन पुग्यो । इंग्ल्याण्डको पारीमा ओपनर ब्याट्सम्यानद्वय रोरी बनर्स र हासीब हामीदको अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन । दुबैजनाले पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दा इंग्ल्याण्डले उक्त टेष्ट खेल जित्ने आशा पलाएको थियो । तर श्रद्धुल ठाकुरले बनर्सलाई र हामीदलाई रबिन्दर जडेजाले पेभेलियन फर्काउँदै भारतलाई खेलमा वापसी गराउनुभयो । बनर्स ५० र हामीद ६३ रन बनाएर पेभेलियन फर्किदा इंग्ल्याण्डलाई नेतृत्व गर्न कुनै पनि ब्याट्सम्यान अगाडि आउनुभएन । क्रिजमा संयमित ब्याटिङ गर्न लाग्नुभएका कप्तान जोइ रुटलाई जसप्रित बुमराहले ३६ रनमा पेभेलियन फर्काउँदा इंग्ल्याण्डको औधो गति सुरु भएको थियो ।
भारतका लागि जसप्रित बुमराहले २२ ओभरमा मात्र २७ रन खर्चेर नौ मेडन राख्दै दुई विकेट लिनुभयो । उमेश यादबले सर्बाधिक तीन विकेट लिनुभयो । रबिन्दर जडेजा र श्रद्धुल ठाकुरले दुई दुई विकेट लिनुभयो ।
त्यसअघि, ओभलमा टस हारेर पहिला ब्याटिङ गर्ने आमन्त्रण पाएको भारतले पहिलो पारीमा मात्र १९१ रनमा समेटिन पुग्यो । कप्तान बिराट कोहली र श्रद्धुल ठाकुरले अद्र्धशतकीय पारी खेलेपनि भारतले औसत योगफल समेत तयार गर्न सकेनन ।
इंग्ल्याण्डका लागि क्रिस वोक्सले सर्बाधिक चार, ओलि रोबिन्सनले चार तथा जेम्स एन्डरसन र क्रैग ओभर्टनले एक एक विकेट लिनुभयो ।
जवाबमा इंग्ल्याण्डले पहिलो पारीमा २९० रनको योगफल तयार गर्दै ९१ रनको अग्रता लिन सफल भयो । ओलि पोपले ८१ तथा क्रिस वोक्सले ५० रनको योगदान दिनुभयो ।
भारतका लागि उमेश यादबले तीन तथा जसप्रित बुमराह र रबिन्दर जडेजाले दुई दुई एवम् श्रद्धुल ठाकुर र मोहम्मद सिराजले एक एक विकेट लिनुभयो ।
पहिलो पारीमा ९१ रनले पछाडि परेर दबाबमा आएको भारतलाई ओपनर रोहित शर्मा र करण लोकेश राहुलले ८३ रनको साझेदारी गरेर उत्कृष्ट सुरुवात दिलाउनुभयो । रोहित शर्माले १२७ रनको शतकीय पारी खेल्दा भारतले पहिलो पारीको अन्तरलाई कम गर्न सफल भयो । रोहितले टेष्ट क्रिकेटमा विदेशी भूमिमा पहिलो पटक शतक लगाउनुभयो । मध्यक्रममा चेतेश्वर पूजाराले ६१, कप्तान विराट कोहलीलले ४४, ऋषभ पन्तले ५० तथा श्रद्धुल ठाकुरले ६० रनको पारी खेल्दा भारतले दोस्रो पारीमा ४६६ रनको उच्च योगफल तयार गर्न सफल भयो । उसले घरेलु टोलि समक्ष जितका लागि ३६८ रनको विशाल लक्ष्य प्रस्तुत गर्न सफल भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?