logo
२०८१ मंसिर ९ आईतवार



नेपालको पपुवा न्यूगिनीमाथि १५१ रनको विशाल जित

क्रिकेट |
खेलकुद |


नेपालको पपुवा न्यूगिनीमाथि १५१ रनको विशाल जित
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २६ गते । नेपालले दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा पपुवान्यूगिनीलाई १५१ रनको फराकिलो अन्तरले हराएको छ । दोस्रो एकदिवसीय खेलमा जितसँगै नेपालले दुई खेलको मैत्रीपूर्ण प्रतिस्पर्धा २–० ले जितेको छ ।
नेपालले प्रस्तुत गरेको २३४ रनको औसत लक्ष्य पछ्याउने क्रममा पपुवान्यूगिनी मात्र १९ ओभर १ बलमा ८२ रनमा समेटिन पुग्यो । पपुवान्यूगिनीका लागि ओपनर टोनी उराले बनाउनुभएको १९ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । उराले चालर्स एमिनिसँग तेस्रो विकेटका लागि गर्नुभएको २९ रनको साझेदारी नै उसको पारीको सर्वाधिक ठूलो साझेदारी रहन गयो ।
नेपालको बलिङमा सन्दीप लामिछानेले सर्वाधिक छ विकेट लिनुभयो । उहाँले पाँच ओभर एक बलमा मात्र ११ रन खर्चेर छ विकेट लिनुभयो । सोमपाल कामी, बिक्रम सोब र सुशन भारीले एक एक विकेट लिनुभयो ।
त्यसअघि, एमिरात क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कमजोर सुरुवात गर्दै नौ रनमै ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आशिफ शेषलाई गुमाउन पुग्यो । कप्तान ज्ञानेन्द्र मल्लले रोहित पौडेलसँग तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेर नेपाली पारी उकास्ने प्रयत्न गर्नुभयो । तर मल्ल ७० बलमा ४५ रन बनाएर पेभेलियन फर्किनुभयो ।
विकेटकीपर ब्याट्सम्यान बिनोद भण्डारी, कुशल मल्ल र सोमपाल कामी समेत सस्तोमै पेभेलियन फर्किदा नेपालले ४१ औं ओभरमा मात्र १६६ रन जोडेको थियो । अर्को छेउबाट रोहित पौडेलले संयमित पारी खेल्दा करण केसीले विष्फोटक ब्याटिङ गर्दै मात्र २६ बलमा दुई चौका र चार छक्काको सहयोगमा ४२ रनको उत्कृष्ट पारी खेल्नुभयो । छ विकेटको क्षतिमा २३२ रन रहेको नेपालको योगफलमा एक रन जोडिदा चार जना ब्याट्सम्यान पेभेलियन फर्किनुभयो । सातौं विकेटको रुपमा करण केसीलाई गुमाएको नेपालले थप एक रन जोडन बिक्रम सोब, सन्दीप लामिछाने र रोहित पौडेललाई गुमाउँदै २३३ रनमा समेटिन पुग्यो ।
नेपाललाई संकटको समयमा संयमित पारी खेल्नुभएका रोहित पौडेल शतक लगाउनबाट चुक्नुभयो । पौडेल ८६ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किदा नेपालले आठ बल खेल्न बाँकी थियो । उहाँले १२३ बलको सामना गर्दै दुई चौका र तीन छक्का लगाउनुभयो ।
पपुवान्यूगिनीका लागि काबुआ मोरे, नोर्मान भानुआले दुई दुई तथा चाड सोपरले तीन र चालर्स एमिनिले एक विकेट लिनुभयो । सन्दीप प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?