गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २८ गते । नेपाली महिला क्रिकेट टिम तीन टि २० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न आइतबार कतार प्रस्थान गरेको छ ।
नेपाली महिला क्रिकेट टिम टि २० विश्वकप एसिया छनोटको तयारीका लागि कतार गएको हो । कतारमा तीन मैत्री खेल खेलेपछि नेपाली टिम विश्वकप एसिया छनोट खेल्न उतैबाट संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार नेपाली महिला राष्ट्रिय टिमको सफलताको कामना गर्दै बिदाइ गरेको थियो ।
नेपालले पहिलो पटक कतारसँग मैत्री शृङ्खला खेल्न लागेको हो । नेपाल र कतारबीचको खेल नोभेम्बर १६, १७ र १९ तारिखमा खेलाइनेछ । त्यसपछि युएइमा हुने एीसया छनोटमा शीर्षस्थान हासिल गर्न सकेमा नेपाल अर्को वर्ष आयोजना हुने ग्लोबल छनोटमा चयन हुनेछ । सो छनोट नोभेम्बर २२ देखि २८ तारिखसम्म हुनेछ । नेपालले पहिलो खेल हङकङविरुद्ध खेल्नेछ ।