logo
२०८१ मंसिर ८ शनिवार



क्रिकेट प्रशिक्षक पुबुदु काठमाडौँमा

क्रिकेट |
खेलकुद |


क्रिकेट प्रशिक्षक पुबुदु काठमाडौँमा


काठमाडौँ, पुस १३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा हालै नियुक्त हुनुभएका पुबुदु दसानायके मंगलबार अपरान्ह काठमाडौँ आइपुग्नु भएको छ । नेपाली टोलीको प्रशिक्षण सम्माल्न पुबुदु क्यानडाबाट नेपाल आउनुभएको हो । पुबुदुलाई त्रिभुवन विमान स्थलमा क्यानका ब्यवस्थापक विनोद दासले स्वागत गर्नुभएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुलाई मंसिर २५ गते दोस्रो पटक प्रशिक्षकमा नियुक्त गरेको थियो । यसअघि अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले गत असोजमा प्रशिक्षक पदबाट राजीनामा दिएपछि रिक्त भएको थियो । श्रीलंका क्रिकेट टोलीका पूर्व खेलाडी समेत रहेका पुबुदुको दोस्रो कार्यकलमा नेपाली क्रिकेट थपमाथि पुग्ने अपेक्षा क्यानले गरेको छ ।

पुबुदु नेपालका लागि सफल प्रशिक्षक हुनुहुन्छ । उहाँको प्रशिक्षणमा नेपालले सन् २०१४ मा टी–२० विश्वकप खेलिसकेको छ । सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हाल्नु भएका पुबुदुको प्रशिक्षकमा नेपालले आईसीसी डिभिजन चार देखि तीन सम्मको उपाधि पनि जितेको थियो ।

उहाँले यसअघि गत असोजमा भएको एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडियटर्सको समेत प्रशिक्षण गर्नुभएको थियो । नेपाली क्रिकेटमा विवाद बढेपछि पुबुदु सन् २०१५ मा अमेरिका जानुभएको थियो ।

पुबुदुले दोस्रो पटक नेपाली राष्ट्रिय टोली सम्हाल्दा अबको लक्ष्य फेरि टी–२० विश्वकप खेल्नु रहेको छ । नेपाल अहिले अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने तयारीमा छ ।

ग्लोबल छनोटका लागि नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेछ । आईसीसीले हालै सार्वजनिक गरेको तालिका अनुसार समूह ‘ए’ को छनोट खेल सन् २०२२ को फेब्रुअरी १५ देखि २५ तारिखसम्म ओमानमा हुनेछ । समूहमा नेपालसँगै ओमान, आयरल्यान्ड, यूएई, फिलिपिन्स, जर्मनी, बहराइन र क्यानडा रहेका छन् ।

यसैगरी समूह ‘बी’ मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका रहेका छन् । समूह ‘बी’ को छनोट खेल जुलाई ८ देखि १८ तारिसम्म जिम्बावेमा हुनेछ । समूहको शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् ।

क्यानले नेपाली टोलीको प्रशिक्षण पुस ६ गतेदेखिनै पोखरामा सञ्चालन गर्ने जनाएको थियो । तर प्रशिक्षक पुबुदु नआएको भन्दै प्रशिक्षण रोकेको नेपाली टोलीको तयारी अब सुरु गरिने बताईएको छ ।

अहिले खेलाडी सम्झौताको विषयलाई लिएर क्यान र खेलाडीबीच विवाद भईरहेको छ । प्रशिक्षण अघि यसलाई तत्काल हल गरिनु प्रशिक्षक पुबुदुका लागि पहिलो चुनौती हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?