logo
२०८१ मंसिर ८ शनिवार



क्रिकेट टोलीका सबै खेलाडी प्रशिक्षणमा सहभागी

क्रिकेट |
खेलकुद |


क्रिकेट टोलीका सबै खेलाडी प्रशिक्षणमा सहभागी


काठमाडौँ, पुस २० गते । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि प्रशिक्षणमा बोलाएका सबै खेलाडी मंगलबारदेखि बन्द प्रशिक्षण क्याम्पमा सहभागी भएका छन् ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्ल सहित २८ खेलाडी कीर्तिपुरस्थित मैदानमा उपस्थित भएको क्यानले जनाएको छ । कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा बिग बास लिग खेलिरहेको र सागर ढकाल अस्वस्थ रहेका कारण क्याम्पमा सहभागि हुनुभएको छैन ।

क्यान र अनुशासनको कारबाही गरिएका खेलाडीबीच सहमति भएसँगै क्यानले सोमबारदेखि प्रशिक्षण सुरुवात गरेको थियो । क्यान, खेलाडी र प्रशिक्षक पुबुदु दसानायके बसेर आइतबार खेलाडी र क्यानबीचको विवाद समाधान गरिएको थियो । विवाद समाधान गर्ने सहमति भएसँगै सोमबार साँझ खेलाडीले प्रशिक्षक पुबुदुलाई सम्पर्कगरी मंगलबारबाट प्रशिक्षणमा सहभागी हुनुभएको हो ।

क्यानले यसअघिका नियमित कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुवाती ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा सामेल नगराउने निर्णय गरेको थियो । क्यानले कप्तान मल्ल र उपकप्तान ऐरीलाई पदमुक्तगरी सन्दीपलाई कप्तान नियुक्त गरेको थियो । सहमति अनुसार क्यान खेलाडीको प्रतिबन्ध फुकुवा गर्न र सेवा सुविधा बढाउन तयार भएको छ । कप्तान भने सन्दीपलाई नै दिने सहमति भएको छ ।

प्रशिक्षक पुबुदु र क्यानको खेलाडी छनोट समितिले बिहीबार टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि ३० जना प्रारम्भिक खेलाडी छनोट गरेको थियो । क्यानले पुस २५ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत टोलीमा समावेश गर्ने जनाएको छ ।

अष्ट्रेलियामा यसै बर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ को छनोट खेल सन् २०२२ को फेब्रुअरी १५ देखि २५ तारिखसम्म ओमानमा हुनेछ । समूहमा नेपालसँगै ओमान, आयरल्यान्ड, यूएई, फिलिपिन्स, जर्मनी, बहराइन र क्यानडा रहेका छन् ।

यसैगरी समूह ‘बी’ मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका रहेका छन् । समूह ‘बी’ को छनोट खेल जुलाई ८ देखि १८ तारिसम्म जिम्बावेमा हुनेछ । समूहको शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् ।

प्रारम्भिक टोलीका खेलाडीहरु :

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम, सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामीमगर, किशोर महतो, सागर ढकाल र हरिशंकर शाह ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?