logo
२०८१ मंसिर ८ शनिवार



पीएम कप क्रिकेट : आर्मी र पुलिसको सुखद सुरुवात

क्रिकेट |
खेलकुद |


पीएम कप क्रिकेट : आर्मी र पुलिसको सुखद सुरुवात


काठमाडौँ, पुस २६ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको उद्घाटन खेलमा १० खेलाडीमा सिमित आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हरायो । मूलपानी मैदानमा भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २ रनले स्तब्ध बनायो ।

त्रिवि मैदानमा एक सय १७ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश १४.४ ओभरमा सवै विकेटको क्षतिमा ५३ रनमा समेटिएको थियो । कर्णालीका अर्जुन घर्तीले सर्वाधिक १६ रन बनाउनुभयो । ओपनर रविन्द्रजङ्ग शाहीले १५ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । आर्मी कर्णालीसँग १० खेलाडीमा समिति बनेको थियो । सोनु तामाङ अस्वस्थताका कारण खेल्न नसक्दा रेफ्रीले १० खेलाडीमै खेल खेलाएको आयोजक क्यानले जनाएको छ ।

बलिङमा आर्मीका जितेन्द्र मुखियाले चार विकेट लिनुभयो । सुशान भारी र साहव आलमले दुई दुई तथा विक्रम सोब र सोमपाल कामीले एक एक विकेट लिनुभएको थियो । यसअघि टस हारेर ब्याटिङ गरेको आर्मी १९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १६ रन बनाएको थियो । आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक २९ रन बनाउनुभयो ।

हरि चौहानले २०, रोहितकुमार पौडेल र कुशल मल्लले समान १०–१० रन बनाउनुभयो । बलिङमा कर्णालीका प्रकाश जैशीले तीन विकेट लिनुभयो । अनुज चुनाराले दुई तथा दीनेश अधिकारी, रविन्द्रजङ्ग शाही र राज शाहले एक एक विकेट झार्नुभयो ।

पुलिसको रोमाञ्चक जित

मूलपानी मैदानमा नेपाल पुलिसले सुदूरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकालेको हो । पुलिसले दिएको ९४ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभरमा नौ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सकेको थियो ।

सुदूरपश्चिमका लागि जगेन्द्र बोहराले २७ रन बनाउनुभयो । नारायण जोशीले २२ र खड्क बोहरा १३ रन बनाउनुभयो । बलिङमा पुलिसका आरिफ शेखले चार विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरी, करण केसी र पवन सर्राफले एक एक विकेट झार्नुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा आठ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक २१ रन बनाउनुभयो । पवन सर्राफले २० र आरिफ शेखले १० रन बनाउनुभयो । बलिङमा सुदूरपश्चिमका नारायण जोशी र आदित्य महताले समान तीन तीन विकेट लिनुभयो । शेर मल्लले दुई विकेट झार्नुभयो ।

माघ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीयसहित १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहका विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?