logo
२०८१ मंसिर ८ शनिवार



पीएम कप क्रिकेट : पुलिस अपराजित रहँदै सेमिफाइनलमा

क्रिकेट |
खेलकुद |


पीएम कप क्रिकेट : पुलिस अपराजित रहँदै सेमिफाइनलमा


काठमाडौँ, माघ ३ गते । नेपाल पुलिस क्लब समूहमा अपराजित रहँदै प्रधानमन्त्री (पीएम) कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को विजेता बनेको पुलिसले सोमबार त्रिवि मैदान कीर्तिपुरमा प्रदेश १ लाई ६ विकेटले हरायो ।

एक सय २ रनको सामान्य विजयी लक्ष्य पाएको पुलिसले १३.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । पुलिसको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ४४ रन बनाउनुभयो । अनिल शाहले अविजित २६, दीपेन्द्रसिंह ऐरीले २० र आरिफ शेखले १० रन बनाउनुभयो । बलिङमा प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दीपेश कँडेलले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । प्रदेश १ का ओपनर मिनाश थापाले थापाले सर्वाधिक ५९ रन बनाउनुभयो । श्रवण यादव १० बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सक्नुभएन ।

बलिङमा पुलिसका आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र मन्जित श्रेष्ठले दुई दुई विकेट लिनुभयो । करण केसी र सागर ढकालले एक एक विकेट झार्नुभयो । पुलिसले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । अर्को खेलमा समूह ‘बी’ को विजेता एपिएफले समूह ‘ए’ को उपविजेता त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । सेमिफाइनल खेल मङ्गलबार हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?