logo
२०८१ मंसिर ८ शनिवार



नेपालको झण्डाभन्दा ठूलो कोही छैन : सन्दीप

क्रिकेट |
खेलकुद |


नेपालको झण्डाभन्दा ठूलो कोही छैन : सन्दीप


काठमाडौँ, माघ ८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपालको झण्डाभन्दा ठूलो कोही नभएको बताउनुभएको छ । अस्ट्रेलियामा जारी बिग वास लिग खेलिरहनुभएका सन्दीप बीचमै लिग छाडेर नेपाली राष्ट्रिय टोलीमा सहभागी बन्न शुक्रबार राति नेपाल फर्कनुभएको हो ।

सन्दीपले नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच देखिएको विवाद छलफबाटै समाधान हुनु क्रिकेटका लागि राम्रो पक्ष भएको पनि बताउनुभयो ।

‘परिवारको कुरा परिवारभित्रै सल्टिनु राम्रो पक्ष हो । विवाद सल्टिएपछि सबैजना खुशी हुनुहुन्छ । क्रिकेट एउटा टिम हो, एउटै परिवार हो । नेपालको झण्डाभन्दा ठूलो कोही छैन । अब सबैजना मिलेर अगाडि बढ्नेछौं, देशको लागि खेल्नेछौं,’ सन्दीपले भन्नुभयो ।

क्यानले हालै ज्ञानेन्द्र मल्ललाई पदमुक्त गर्दै सन्दीपलाई कप्तान नियुक्त गरेको थियो । साथै क्यानले कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ मा सुरुको ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय पनि गरेको थियो । त्यसपछि खेलाडी र क्यानबीचको विवाद थप चर्किएको थियो ।

विवादपछि क्यान खेलाडीमाथिको कारबाही फिर्ता लिन तयार भएको थियो भने खेलाडीहरू सन्दीपलाई कप्तान मान्न तयार भएका थिए । यी सबै घटना चल्दा सन्दीप अस्ट्रेलियामा हुनुहुन्थ्यो ।
नेपाली क्रिकेट टोली अहिले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको अन्तिम तयारीमा छ । क्यानले तयारीका लागि भर्खर मात्र प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरी १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ ।

सन्दीपले अस्ट्रेलिया रहँदा आफूले प्रधानमन्त्री कप नछुटाई हेरेको पनि बताउनुभयो । प्रशिक्षक पुबुदु दासानायकेले आफूलाई क्रिकेटमा ’पिक’ गरेकाले उहाँसँग सहकार्य गर्न पाउनु खुशीको क्षण भएको पनि बताउनुभएको छ ।

नेपालले अब फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुने टी–२० विश्वकप ग्लोबल छनोट खेल्दैछ । सन्दीपको कप्तानीमा नेपालले खेल्न लागेको यो पहिलो प्रतियोगिता हो । छनोट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा नेपालसँगै ओमान, आयरल्यान्ड, यूएई, फिलिपिन्स, जर्मनी, बहराइन र क्यानडा छन् ।

समूह ‘बी’ मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका रहेका छन् । समूहको शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् । नेपालले यसअघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?