logo
२०७९ असार २० सोमवार



शहीदको मूल्याङ्कन

शनिवार |


शहीदको मूल्याङ्कन


कुन्दनकुमार पन्त

अचानक म त्यस ठाउँमा पुगेँ, जहाँ यसभन्दा अघि कहिल्यै पुगेको थिइन । छुट्टै भौगोलिक बनोट भएको त्यो ठाउँ आकर्षक र मनमोहक रहेछ । त्यहाँका मान्छेहरूले अनौठो किसिमका पोसाक लगाएका रहेछन् । यो देखेर म अचम्मित भएँ । चारैतिर आँखा घुमाएँ । आफूले चिनेजानेका कोही पनि देखिन । मभित्र एउटा भय सिर्जना भयो । फर्कन खोजेँ तर कुनै बाटो नै भेटिन । मैले एकैछिन उभिएर हेरेँ । नदेखेर, नचिनेर वा वास्ता नगरेर हो, मेरो उपस्थितिमा उनीहरूले कुनै पनि प्रतिक्रिया जनाएनन् ।

उनीहरू सबैजना एउटै दिशातिर हेरिरहेका थिए । त्यसपछि म पनि अलि नजिक गएर उनीहरूले हेरिरहेका दिशातर्फ हेरेँ । हामी उभिएको ठाउँबाट निकै टाढा कम उचाइमा एउटा ठाउँ देखियो । जहाँ एकाबिहानै केही मान्छेहरू हातमा फूल तथा मालाहरू लिएर भेला भइरहेका रहेछन् । हामी उभिएको ठाउँभन्दा पृथक देखिने त्यो ठाउँमा मजस्तै साधारण स्वरूपका सामान्य पोसाक लगाउने मानिसहरू थिए । हेर्दा हेर्दै केही क्षणपछि एउटा मान्छे आयो । सबैले उसलाई नमस्कार गरे । ऊ अघि लाग्यो । एक जना मान्छे फूलगुच्छा र माला बोकेर उसको पछिपछि लाग्यो । नजिकै रहेको सालिकलाई त्यो माला पहि¥याइयो । फूलगुच्छा चढाइयो । त्यो मान्छेले सालिकतिर फर्केर दुई हात पनि जोडेर नमस्कार ग¥यो । अनि अलि तल आएर आएर उभियो । क्रमशः अरू लाममा बसेकाहरूले पनि उक्त सालिकमा फूल तथा मालाहरू चढाउँदै फर्किएर एकैठाउँमा भेला भएर उभिए । त्यो पहिलो मान्छे सालिक अगाडि उभिएर केहीबेर भाषण गरेर फर्कियो । अरू पनि बिस्तारै फर्किए ।

म उभिएको ठाउँसँगै उभिएको एउटा मान्छेलाई वरपरका मान्छेहरू आएर भने, ‘तपाईंलाई त खुबसँग सम्मान गरे नि ! त्यो त ठूलै मान्छे जस्तो छ ! ल बधाई छ ।’ अरू भिन्न भिन्न ठाउँहरूमा पनि यस्तै कार्यहरू भइरहेका दृश्य देखिए । त्यसैगरी अरू दुई÷चार जना मान्छेहरू पनि पनि बधाईका पात्र भए । सायद जुन मान्छेको सालिकमा माल्यार्पण गरियो उनीहरू नै होलान् । जब कार्यक्रम सकियो, कार्यक्रमका सहभागीहरू आ–आफ्नो बाटो लागे । केही क्षण निकै रौनकमय बनेको कार्यक्रमस्थल अब सामान्य देखियो । बधाईका पात्र बनेकाहरूलाई वरिपरि बसेकाहरूमध्ये एकजनाले भने, ‘कार्यक्रम त ठिकै गरे नि हैन हजुर ?’

आफ्नो सालिकमा माल्यार्पण हुँदा बधाई पाउनेले भने, “हामीले जीउ ज्यान अर्पेर ल्याइदिएको परिवर्तनबाट आज यिनीहरू शान र मानका साथ सुखभोग गरिरहेका छन् तर हामीलाई भने वर्षमा एक दिन शहीद दिवसको नाममा हाम्रो सालिकलाई पुछेर दुई÷चार वटा माला लगाई दिन्छन् । हाम्रो बारेमा प्रशंसा सूचक शब्द बोल्छन् । शहीदलाई सम्मान गर्नुपर्छ, शहीदको सपना साकार पार्नु पर्छ भन्छन् । यसो भन्दैमा दायित्व पूरा भएको मान्न सकिन्छ र ! के यति गरेर हामीप्रतिको उनीहरू जिम्मेवारी पूरा भयो त ! अरू बेलामा त हाम्रो कुनै वास्ता नै गर्दैनन् । अरू त के कुरा बाटो चौबाटोमा धुलो र धुवाँले ढाकेर हाम्रो सालिक चिन्नै नसकिने हुँदा धुलोसम्म पनि पुछ्दैनन् । यो त हाम्रो योगदानको ऋण नलागोस् भनेर औपचारिकता पूरा गरेजस्तो मात्र हो । के यति गर्दैमा हाम्रो योगदानको कदर गरेको मान्न सकिन्छ र ?’

बधाई पाउनेले थप भने, ‘अझ भन्ने हो भने त हामीसँग सम्बन्धित कुरा तथा सामग्रीहरू सङ्ग्रह गरी राखिएको कुनै छुट्टै सङ्ग्रहालय नै छैन । पर्याप्त दस्तावेजहरू सङ्कलन गरिएको पुस्तकालय पनि छैन । इतिहासमा समेत अरू नयाँनयाँ कुरालाई महìव दिएर हाम्रो योगदानलाई कटौती गरिँदै छ । यदि कनै स्वदेशी र विदेशीले हाम्राबारे अध्ययन र अनुसन्धान गर्न खोजे भने त पूर्ण सामग्री पाउन मुस्किल पर्छ ।

हामीमध्ये कसैकसैको नामबाट एक/दुई वटा अस्पताल, सडक तथा विद्यालयको नामकरण गरिएको भने देखिएको छ । खै के कुरा गर्नु हेर्दै जाऊँ । ठीकै छ हामी त शहीद भयौँ र त्यो संसारमा पनि छैनौँ । हाम्रा लागि त उनीहरूले गर्ने भनेको हाम्रो योगदानको कदर र हाम्रो सम्झना मात्र हो तर हामीसँगै परिवर्तनका लागि लडेकाहरू जो आन्दोलनका क्रममा घाइते र अङ्गभङ्गसमेत भए, तिनीहरूको न उपचारको व्यवस्था छ न उनीहरूको सन्तानले भोग्नुपरेको आर्थिक सङ्कटप्रति कुनै चासो नै छ । अरू त के कुरा आन्दोलनकै क्रममा ज्यानै गुमाएर शहीद भएकाहरूमध्येका कतिपयका सन्तानले कष्टकर जीवन भोगिरहेका छन् । तिनीहरूका लागि न कुनै सहयोग न कुनै व्यवस्था छ । हाम्रो संसार त उनीहरूको भन्दा पृथक छ । न हामी त्यहाँ गएर सहयोग गर्न सक्छौँ, न उनीहरू यहाँ आएर हामीलाई भेटेर पीडा व्यक्त गर्न सक्छन् । हामीले यत्रो त्याग गरेर परिवर्तन आएपछि त्यो परिवर्ततनको प्रतिफल भोग गर्नेहरूले ती पीडितहरूको जिम्मेवारी लिनु नैतिक दायित्व हैन र ? हामिहरूको त अब उनीहरूसँग न भेटघाट नै हुन्छ, न त कुराकानी नै । भो अब के कुरा गर्नु जाउँ ।”

यति भनेपछि सबैजना हराए । सुनसान भयो तर म कताबाट कहाँ जाने भनेर साच्दै थिएँ । एक्कासि तल झरेजस्तो लाग्यो । झसङ्ग भएर ब्युँभिएँ । आफू त आफ्नै कोठामा ! चारैतिर हेरेँ भित्ता र कोठाका सामानहरू जस्ताका तस्तै छन् । बिहानी छिप्पिसकेको रहेछ । जुरूक्क उठेँ । हात मुख धोएर एक हातमा चियाको कप समाउँदै टेलिभिजन खोलेँ । समाचार आउनै लागेको रहेछ । सुरुमै ‘आज बिहान शहीदहरूको सालिकमा माल्यार्पण गर्दै श्रद्धापूर्वक शहीद दिवस मनाइयो’ भन्दै केही दृश्य देखाइयो जुन दृश्य केही क्षणअघि मात्र मैले त्यो अज्ञात ठाउँबाट देखेकै दृश्यजस्तै थियो । फरक यति थियो कि यहाँ दृश्य मात्र देखियो । त्यहाँ मूल्याङ्कन पनि सुनियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?