logo
२०८१ मंसिर ८ शनिवार



नेपालको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा श्रीनिवास

क्रिकेट |
खेलकुद |


नेपालको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा श्रीनिवास


काठमाडौँ, माघ १७ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा रघुराम श्रीनिवास नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय प्रशिक्षक श्रीनिवासलाई आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलका लागि फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको हो । श्रीनिवास आइतबार नै नेपाल आएको क्यानले जनाएको छ ।

श्रीनीवासले नेपाली टोलीको मुख्य प्रशिक्षक पुबुदु दसानायकेसँग अमेरिकाको क्रिकेट टोलीमा पनि सँगै काम गर्नुभएको थियो । पुबुदुले श्रीनिवासको आगमनले नेपाली क्रिकेटको कमजोरी सुधार गर्न थप सहयोग पुग्ने बताउनुभएको छ । ‘श्रीनीवास फिल्डिङका लागि महत्वपूर्ण प्रशिक्षक हुनुहुन्छ । छोटो सूचनामा उहाँ नेपाली क्रिकेटसँग जोडिनुभएको छ । उहाँको आगमनले नेपाली टोलीको कमजोरीमा धेरै सुधार हुनेछ,’ पुबुदुले भन्नुभएको छ ।

नेपालको पहिलो खेल ओमानसँग

ओमानमा फेब्रुअरी १७ तारिखदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ । समूहमा आठ टोली छन् । आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि आठ टोली छन् ।

आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा क्यानडा, ओमान र फिलिपिन्स छन् । अर्को समूहमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । नेपालले उद्घाटन खेलमा आयोजक ओमानसँग खेल्नेछ । ग्लोबल छनोट खेलअघि नेपालले ओमानमा चार देश सम्मिलित सिरिज पनि खेल्नेछ । सिरिजमा नेपालसहित ओमान, युएई र आयरल्यान्ड रहेका छन् ।

यसैगरी ग्लोबल छनोटका लागि समूह ‘बी’ मा जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिङ्गापुर, युगान्डा र अमेरिका छन् । समूह ‘बी’ को छनोट खेल भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुनेछ । दुवै समूहमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

सिरिज र ग्लोबल छनोट खेलका लागि नेपालले कीर्तिपुर मैदानमा तयारी गरिरेहको छ । ओमान भ्रमणका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । नेपालले यसअघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमलसिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदीप ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र लोकेश बम ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?