logo
२०८१ मंसिर ८ शनिवार



नेपालको लक्ष्य विश्वकप छनोट र एसोसिएटको शीर्षटोली

क्रिकेट |
खेलकुद |


नेपालको लक्ष्य विश्वकप छनोट र एसोसिएटको शीर्षटोली


काठमाडौँ, माघ १७ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायके र कप्तान सन्दीप लामिछानेले नेपालको लक्ष्य आईसीसी टी–२० विश्वकप छनोट र नेपाललाई एसोसिएट देशको शीर्षटोली बनाउनु रहेको बताउनुभएको छ ।

सोमबार साँझ सञ्चारकर्मीसँगको जुम मिटिङमा बोल्दै प्रशिक्षक पुबुदुले नेपालको अहिलेको अहिलेको अवस्था आईसीसी टी–२० विश्वकपमा छनोट हुनु रहेको बताउनुभयो । ‘विश्वकपमा पुगे नेपाली क्रिकेटका लागि ठूलो अवसर प्राप्त हुनेछ । विश्वकपमा पुग्यौँ भने यसले नेपाली क्रिकेटलाई थप उचाईमा लैजाने सहयोग गर्छ । प्रतियोगिता र सहभागिताहरु बढ्नेछ । अहिलेको टोलीले विश्वकपमा राम्रो गर्नपनि सक्छ,’ पुबुदुले भन्नुभयो ।

उहाँले ओमानमा हुन लागेको आसन्न आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलको तयारी योजना अनुरुपनै राम्रो भईरहेको पनि बताउनुभयो । ‘छोटो समयमा पनि हामीले राम्रो मिहेनत गरेका र्छौँ । ६० प्रतिशत तयारी सकियो । अबको अन्तिम तयारी ओमानमै हुनेछ । टोलीका सबै खेलाडीमा आत्मविश्वास जागेको छ । कोरोना भएका खेलाडी पनि केही दिनमै प्रशिक्षणमा सामेल हुनेछन्,’ पुबुदुले भन्नुभयो ।

नेपाल हार्दा विश्व दुःखी बनोस् : सन्दीप

यसैगरी टोलीका कप्तान सन्दीपले नेपालको लक्ष्य टी–२० विश्वकपमा छनोटसँगै एसोसिएट देशको शीर्षटोली बनाउने रहेको बताउनुभयो । ‘हाम्रो लागि आगामी दिनहरु महत्वपूर्ण छ । हामी भोलीका दिनमा ठूलो देश र उच्च स्तरको क्रिकेट खेल्न चाहन्छौँ । जतिपनि खेलहरु छन्, त्यो जित्नुपर्ने आवश्यक छ, ‘उहाँले भन्नुभयो, टोलीमा सबै क्षमतावान् हुनुहुन्छ । हामी नेपाली क्रिकेटलाई त्यो स्तरमा लान चाहन्छौँ । जहाँ नेपालले हार्दा विश्वलाई दुःखी बनाओस् ।’

सन्दीपले कप्तानी भूमिकाले आफुलाई कुनै कठिन नहुने पनि बताउनुभयो । ‘टोलीमा सबै सँगै खेलेका साथी छौँ । मेरो लागि कप्तानी नयाँ अनुभव हो । हामी विश्वकपमा अवश्य पुग्नेछौँ । त्यो नै नेपाली क्रिकेटको लागि राम्रो संकेत हुनेछ,’ सन्दीपले भन्नुभयो । नेपाली टोली अहिले ओमानका फेब्रुअरी १७ तारिखदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलका लागि अन्तिम तयारीमा छ ।

छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । समूहमा आठ टोली छन् । आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि आठ टोली छन् ।

आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा क्यानडा, ओमान र फिलिपिन्स छन् । अर्को समूहमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । नेपालले उद्घाटन खेलमा आयोजक ओमानसँग खेल्नेछ । ग्लोबल छनोट खेलअघि नेपालले ओमानमा चार देश सम्मिलित सिरिज पनि खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?