काठमाडौँ, फाल्गुन ३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको खेल गुमाउनुहुने भएको छ । छनोट खेल्न ओमान पुग्नुभएका करणले ढाडको समस्याका करण छनोट खेल खेल्न नसक्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानले करणको स्थानमा छिट्टै भिषा प्रक्रिया पूरा गरी तीव्र गतिका बलर गुलसन झालाई ओमान पठाउने तयारी गरेको छ ।
करणले ढाडको चोटका कारण चार देशीय सिरिज समेत गुमाउनुभएको थियो । शुक्रबारदेखि ओमानमा सुरु हुने विश्वकप छनोट खेलअघि नेपालले तयारीका लागि आयोजक ओमान, यूएई र आयरल्यान्ड सम्मिलित सिरिज खेलेको थियो । सिरिजमा नेपालले ओमानलाई मात्र हराउन सकेको थियो ।
प्रशिक्षक पुबुदु दसानायकेले सिरिजका लागि ओमान पुगेका १७ खेलाडीबाट विश्वकप छनोटको अन्तिम खेलाडी टोलीको घोषणा गर्ने पनि क्यानले जनाएको छ । नेपालले शुक्रबार ओमानसँग खेल्दै विश्वक छनोटको यात्रा तय गर्नेछ ।