काठमाडौँ, फागुन १२ गते । विभागीय टोली त्रिभुवन आर्मी र नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मीले पुरुष तथा प्रहरीले महिलाको उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको पुरुष फाइनलमा आर्मीले टाइम्सलाई ९०–५८ ले सहजै हरायो । आर्मीको जितमा आयुश सिंहले सर्वाधिक २६ अंक योगदान गर्नुभयो । टाइम्सका सदीश प्रधानले १७ स्कोर गर्नुभयो ।
महिलाको रोमाञ्चक फाइनलमा अनुषा मल्लको १९ अंक सहयोगमा प्रहरीले रोयल बास्केटबल एकेडेमीलाई ५२–४९ ले हरायो । प्रहरीले उपाधिसँगै राउन्ड रोविन लिगमा रोयलसँग व्यहोरेको हारको बदला पनि लियो । राउन्ड रोविन लिगमा रोयल विजेता तथा प्रहरी उपविजेता बन्दै उपाधि भिडन्त पक्का गरेका थिए । रोयलकी रोशनी श्रेष्ठले १४ अंक जोड्नुभयो ।
पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार र उपविजेताले २५ हजार रुपियाँ पुरस्कार पाए । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका विनोद महर्जन तथा महिलामा प्रहरीकी अनुषा मल्ल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । दुवैले जनही १० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
पुरुषमा रोयलका सुदीप पौडेल क्षेत्री तथा महिलामा रुपन्देहीकी दीपिका गुरुङ उदीयमान खेलाडी चुनिनुभयो । दुवैलाई सात हजार रुपियाँ पुरस्कार प्रदान गरियो । प्रतियोगिातमा महिलातर्फ पाँच र पुरुषमा १३ टिमले प्रतिस्पर्धा गरेका थिए ।