logo
२०८१ मंसिर ७ शुक्रवार



एलपीएलमा सत्यवती एकेडेमी च्याम्पियन

क्रिकेट |
खेलकुद |


एलपीएलमा सत्यवती एकेडेमी च्याम्पियन


काठमाडौँ, फाल्गुन १४ गते । छैठौँ संस्करणको धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) यू–१९ विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सत्यवती एकेडेमी अत्तरियाले जितेको छ ।

धनगढी स्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा शनिबार भएको फाइनलमा सत्यवतीले विद्याभुषण पब्लिक स्कुल गेटा कैलालीलाई एक ६१ रनले हरायो । उपाधि सहित सत्यवती एकेडेमीले एक लाख ५० हजार रुपियाँ पुरस्कार पायो । उपविजेता विद्याभुषणले ७५ हजार रुपियाँमा चित्त बुझायो ।

सत्यवती एकेडेमीले दिएको दुई सय ५१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बिद्याभुषण १२.१ ओभरमा सवै विकेट गुमाएर ८९ रनमा समेटिएको थियो । विद्याभुषणका नुरेन बिस्टले सर्वाधिक ३१ तथा प्रशान्त थापाले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सक्नुभएन । बलिङमा सत्यवती एकेडेमीका युवराज खत्री र निरज भट्टले समान तीन तीन तथा सन्तोष कार्की र सुजन गौतमले दुई दुई विकेट लिनुभयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा चार विकेटको क्षतिमा दुई सय ५० रन बनाएको थियो । सत्यवतीका सन्तोष कार्कीले सर्वाधिक ९८ रन बनाउनुभयो । खगेन्द्र जोशीले ८३, आदील अन्सारीले ३५ र सुजन गौतमले १९ रन बनाउनुभयो । विद्याभुषणका बलर प्रदिप चन्दले तीन विकेट तथा बिरेन्द्र नाथले एक विकेट लिनुभयो । प्रतियोगिताकै उत्कृस्ट खेलाडी सत्यवती एकेडेमीका सन्तोष कार्की चुनिनुभयो । उहाँले २० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

उत्कृस्ट ब्याट्सम्यान विद्याभुषणका बिरेन्द्र नाथ तथा उत्कृस्ट बलर हिमालयन व्हाइट हाउसका दिपक बोहरा घोषित हुनुभयो । उदयमान खेलाडी सत्यवती एकेडेमीका युवराज खत्री चुनिनुभयो । तीनै जनाले जनही १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । फाल्गुन २ गते देखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?