उर्लाबारी, फाल्गुन २२ गते । प्रथम ‘इक्युवालिटि’ कप महिला क्रिकेट-२०२२ मा आइतबार सुनसरी र झापा विजयी भएका छन् । वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुनसरीले मधेश प्रदेशको सप्तरीलाई १० विकेटले पराजित गरेको छ ।
पराजित भएसँगै सप्तरी प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा १४.२ ओभरमा सबै विकेट गुमाई ४३ रन बनाएको थियो ।सप्तरीकी नविता चौधरीले सर्वाधिक ७ रनको योगदान दिनुभयो । सप्तरीका ७ जना ब्याटरले खाता नखोलि पवेलियम फर्केका थिए । सुनसरीकी वुमेन अफ म्याच सपना साह र प्रिया मलाहाले तीन तीन विकेट लिनुभयो ।
४४ रनको लक्ष पछ्याएको सुनसरीले ३.३ ओभरमा कुनै पनि विकेट नगुमाई विजयी लक्ष भेटेको थियो । दोस्रो खेलमा नेपालका अन्तर्राष्ट्रिय खेलाडीले भरिएको झापाले मोरङलाई १० विकेटले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा आठ विकेट गुमाई ४० रनको बनाएको थियो ।
मोरङकी कप्तान अन्सु जैसवालले सर्वाधिक ६ रन बनाउँदा ६ जना ब्याट्स वुमन खाता नखोलि पवेलियम फर्केका थिए । झापाकी हिरणमाई राँय र ज्योति दनुवारले दुई दुई विकेट लिनुभयो । ४१ को झिनो लक्ष पछ्याएको झापाले ४.१ ओभरमा नौ विकेटको क्षतिमा विजयी लक्ष भेटेको थियो । झापाका काजल श्रेष्ठले अविजित १७ रन र नग्मा तामाङले १३ रन बनाउनुभयो ।