logo
२०८१ जेष्ठ ६ आईतवार



यूएईसँग ब्याटिङमा सुधारको आशा 

क्रिकेट |
खेलकुद |


यूएईसँग ब्याटिङमा सुधारको आशा 


काठमाडौँ, चैत ३ गते । यूएईमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा शुक्रबार नेपालले घरेलु टोली यूएईको सामना गर्दैछ । पहिलो खेलमा तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी पपुवा न्युगिनी (पीएनजी) माथि संघर्षपूर्ण जित निकालेको नेपाललाई यूएईविरुद्ध ब्याटिङमा सुधार गर्नुपर्ने आवश्यकता छ ।

पीएनजीले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याउँदा नेपालको पहिलो क्रमको ब्याटिङ धरमराएको थियो । तर मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेल र आरिफ शेखले एक सय दुई रनको कीर्तिमानी साझेदारी र करण केसीले २९ रनको उत्कृष्ट फिनिसिङ गरेपछि नेपालले पीएनजीमाथि दुई विकेटको रोमाञ्चक जित निकालेको थियो ।

यूएई पीएनजीभन्दा बलियो टोली हो । घरेलु मैदानको साथ पनि उसका लाथि अर्को बलियो पक्ष रहनेछ । टी–२० फरम्याटमा जमिरहेको नेपालले ५० ओभरको खेल त्यति खेलिरहेको छैन । त्यसैले जितको लय कायम राख्न नेपालले ब्याटिङमा सुधार गर्ने आशा गरिएको छ । 

यूएई जानुअघि श्रीलंकामा त्यहाँको ए श्रेणीको क्लबसँग चार वटा अभ्यास खेल खेलेको थियो । जसमा नेपालले एउटा खेल मात्र पूरै ५० ओभर खेल्न सकेको थियो । चार खेलमा नेपालले तीन जित र एक हार खेपेको थियो । यस सिरिजमा यूएईले आफ्नो पहिलो खेलमा पीएनजीलाई सात विकेटले हराएको छ ।

नेपाल र यूएईबीच अहिलेसम्म चार वटा एक दिवसीय खेल भएका छन् । दुवै टोलीले दुई दुई खेल जितेका छन् । पछिल्लो पटक नेपालले यूएईसँग सन् २०१९ मा एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपाल विजयी भएको थियो ।

जारी लिग–२ मा १५ खेल सकेको यूएई १८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । नौ खेल सकेको नेपाल १० अंक सहित छैटौँ स्थानमा यथावत छ । १४ खेल सकेको पीएनजीले खाता खोल्न सकेको छैन । लिगमा २८ खेल खेलिसकेको ओमान ३६ अंक सहित शीर्षस्थानमा छ । तेस्रो स्थानमा रहेको स्कटल्यान्डको १६ अंक छ । चौथो र पाँचौँ स्थानमा रहेको नामिविया र अमेरिकाको समान १४ अंक छ ।

सिरिजमा नेपालले मार्च २१ मा पुनः यूएई र मार्च २२ मा पीएनजीसँग खेल्नेछ । सात टोली सहभागी लिग–२ मा सबै राष्ट्रले एकआपसमा ३६ वटा खेल खेल्नेछन् । ३६ खेलपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?